गरिमा धानको कमसल बिउ बेच्ने १६ फर्मलाई ३१ लाख २० हजार जरिवाना

  २०७६ फागुन ५ गते १३:४६     विकासन्युज

काठमाडौं । उन्नत जातको गरिमा धानको कमसल विउ विक्री गर्ने १६ फर्मलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना तिराएको छ । कमसल बिउ बेच्ने फर्मलाई ३१ लाख २० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

विभागले दिएको जानकारी अनुसार १४ फर्मलाई २/२ लाख रुपैयाँका दरले र एक फर्मलाई २० हजार गरी विउ बिक्री कूल १५ वटा फर्मलाई २८ लाख २० हजार रूपैयाँ जरिवाना तिराएकाे छ । यस्तै, बिउ आयात गर्ने दाङको लमहीमा रहेको सनराईज एग्रीकल्चर रिसर्च प्रालिलाई ३ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

बिक्री गर्ने मध्ये एक फर्म बर्दियाकाे सुलु भेट सेन्टरलाई काराेबार स्थलमा खरिद बिल नराखेकाले २० हजार रूपैयाँ मात्रै जरिवाना लगाइएकाे विभागले जनाएकाे छ ।

विभागले उपभोक्ता संरक्षण ऐनको दफा ३८ खण्ड (ङ) को कसुर गरेकोले सोही ऐनको दफा ३९ (ख) बमोजिम जरिवाना तिराएको हो ।

‘गरिमा धानको बिउ भनी कमसल जातको धानको बिउ आयात गरी बिक्री वितरण गरी उपभोक्ता संरक्षण एने, २०७५ को दफा ३८ खण्ड (ङ) को कसुर गरेकोले सोही ऐनको दफा ३९ (१) को खण्ड (ख) बमोजिम जरिवाना तिराइएको हो,’ विभागले भनेको छ ।

यस्तै, बिक्री गर्ने फर्महरुमाथि पनि सोही दफा अनुसारको कसुर गरेकोले प्रतिफर्म २ लाख रुपैयाँको दरले जरिवाना तिराइएको विभागको भनाइ छ ।

सनराइज एग्रीकल्चर रिसर्च प्रालिले आयात गरेको गरिमा धानको विउ नै कमसल भएको र त्यस्तो बिउ बिक्री गर्ने फर्महरुलाई कारबाही गरिएको विभागको भनाइ छ । सो जातको विउ लगाएका किसानको धानमा दाना नलागेर किसान मर्कामा परेका छन् ।

विभागले उपभोक्ताको हित संरक्षण गर्ने ऐनको दफा अनुसार ती फर्मलाई कारबाही गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.