सीमान्तकृत जनताको खाद्यान्नमा पहुँच पुगेको छ प्रदेश प्रमुख ‘प्यासी’

  २०७६ फागुन ३ गते १२:४६     विकासन्युज

काठमाडौं । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित प्रदेश नंं १ को सरकारको दोस्रो वार्षिकोत्सव समारोहमा सरकारले हासिल गरेको प्रगतिको संक्षिप्त किताब विमोचन गर्दै उनले सरकारले मुख्यमन्त्री युवा उद्यमशीलता तथा सीमान्तकृत जनताको खाद्यान्नमा पहुँच पुयाउनु सरकारको ठूलो उपलब्धि  रहेकाे  जानकारी दिएकाे छ ।

प्रदेश प्रमुख अधिकारीले शान्ति सुरक्षा र शिक्षामा सूचना प्रणालीले सरकारको काममा पारदर्शिता बढेको चर्चा गर्दै लोकतन्त्रिक मूल्यमान्यातामा आधारित समाजवादोन्मुख सरकारको नीति तथा कार्यक्रमले प्रदेशका जनता सुखी एवं समुन्नत बन्ने विश्वास व्यक्त गरे । नेपाल भ्रमण वर्ष २०२० मा प्रदेश सरकारले लिएको अपेक्षा पूरा हुने विश्वास व्यक्त गर्दै प्रमुख अधिकारीले जनताको आवश्यकता, समानता र समतामूलक समाज निर्माण गर्न प्रदेश सरकार अघि बढिरहेको आफूले पाएको बताए ।

मुख्यमन्त्री शेरधन राईले संरचनाविहीन अवस्थामा खडा भएको प्रदेश सरकारले विभिन्न चुनौती, अप्ठ्यारालाई पार गर्दै अवसरको रुपमा प्रयोग गरेको भन्दै केन्द्रित शासन स्थानीय तहमा पुगेको चर्चा गर्दै प्रदेश संरचना व्यवस्थित हुनु पर्ने बताए । सरकार सुदूरभविष्यका लागि दीर्घकालीन योजना र कार्यक्रमका साथ अघि बढिरहेको बताउँदै ७३० दिनमा सरकारले ठूलो उपलब्धि हासिल गरेको धारणा राखे ।

जनताका असीमित चाहनालाई पूरा गर्न पर्याप्त समय भए पनि जनताका न्यूनतम आवश्यकता प्रदेश सरकारले सम्बोधन गरेको छ भन्दै मुख्यमन्त्री राईले सङ्घीयता कार्यान्वयनका लागि प्रदेश सरकारले ३९ वटा कानून बनाइसकेको जानकारी दिए । उनले प्रदेश राजधानी तोक्नु, स्वीस सरकारको एक अर्ब रुपैयाँ अनुदान सहयोग प्राप्त गर्नु, आयोजना बैंक स्थापना गरी २६ परियोजना समावेश हुनु सरकारको ठूलो उपलब्धि भएको जनाएका छन् ।

मुख्यमन्त्री राईले सहमति र सहकार्यको अनुपम नमूना प्रदेश सरकारले देखाएको चर्चा गर्दै आगामी वैशाखमा लगानी सम्मेलन गर्नलाई सरकारले तयारी गरिरहेको जानकारी दिए । उनले सरकारले सन्तुलित विकास नीतिलाई अपनाएको प्रसङ्ग उल्लेख गर्दै २७ किमी बाटो कालोपत्र भएको, १२९ किमी ग्राभेल बाटो बनेको र १० मोटरेबल पुल निर्माण हुनु खुशीको कुरा हो भने ।

जनता आवास कार्यक्रमअन्तर्गत १७१ घर निर्माण भएको र विकासमा २५ प्रतिशत खर्च हुनु सकारात्मक हो भन्दै मुख्यमन्त्री राईले विकास र सुशासनमा जनताको भरोसा बढाउने धारणा राखे। उनले स्वस्थ एवं वस्तुनिष्ठ आलोचनालाई प्रदेश सरकारले स्वागत गर्ने भन्दै विकास र समृद्धिको यात्रामा सबैले सहयोग गर्नुपर्ने अपिल गरे । मुख्यसचिव दिनेश भट्टराईले प्रदेश सरकारले दुई वर्षको अवधिमा रचनात्मक काम गरेको र यसबाट प्रदेश सरकारप्रति जनताको विश्वास बढेको जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.