अन्तर्राष्ट्रिय व्यापार मेलाहरु भटाभट रद्द, आयोजकलाई करोडाैं डलर नोक्सान

  २०७६ फागुन ३ गते ११:२०     विकासन्युज

काठमाडौं । हरेक वर्ष स्पेनको बार्सिलोनामा संचालन हुने मोबाइल वर्ल्ड कँग्रेसको स्थगन भएको छ । फेब्रुअरी महिनाको अन्त्यमा हुन लागेको यस मेलाको क्रममा संसारकै ठूला मोबाइल फोन तथा अन्य विद्युतीय समाग्री तथा प्रविधि निर्माता कम्पनीहरु बिटी, एरिक्सन, फेसबुक, एलजी, नोकिया, सोनी, सामसुङ र भोडाफोन लगायतले आ-आफ्ना नविन उत्पादन तथा अवधारणालाई सार्वजनिक गर्दै असंख्या उपभोक्ताहरुलाई लोभ्याउने योजनामा थिए ।

आधुनिक प्रविधि सम्बन्धी करिब २८ सय अन्तर्राष्ट्रिय कम्पनीहरुले आफ्नो पृथक उत्पादनलाई प्रर्दशनी गर्ने यस महामेलामा हरेक वर्ष करिब छ हजार चीनिँयासहित विश्वभरीका एक लाखभन्दा बढी मानिसहरुले सहभागिता जनाउँदै आएका थिए ।

फेब्रुअरी २४ देखि २७ सम्म चल्ने मोबाइल संचारसँग मुख्य रुपमा सम्बन्धीत यस चार दिने प्रदर्शनीको स्थगनको कारण करिब चार करोड २९ लाख यूरोको क्षति हुने तथा लगभग १४ हजार एक सय अल्पकालीन रोजगारी गुम्न सक्ने एक अन्तर्राष्ट्रिय वेबसाइटले अनुमान गरेको छ ।

सोनी, एलजी, अमेजन, फेसबुक, नोकिया, एलजी, भोडाफोन र एचएमडीजस्ता ठूला कम्पनीहरुले कोरोना भाइरसको कारण यस वर्ष प्रदर्शनीमा सहभागीता जनाउनबाट अस्वीकार गरेपछि मेला आयोजक जीएसएम एसोसियसनले मेला आयोजना गर्न ‘असम्भव’ भएको बताएको हो ।

मेला स्थगित भएको घोषण गर्दै एसोसियसनका प्रमुख कार्याकारी अधिकृत जन हफम्यानले, “बार्सिलोनाको सुरक्षित तथा स्वस्थ वातावरणलाई ध्यानमा राख्दै तथा कोरोना भाइरसको प्रकोपपश्चात यात्रा सम्बन्धी सरोकार तथा अन्य परिदृष्यलाई विचार गर्दै यस वर्षको मोबाइल वल्र्ड कँग्रेसलाई स्थागित गरेको” बताए ।

मेला आयोजनाको स्थगन हुँदा विश्वका ठूला कम्पनीहरुलाई अप्ठेरो पर्न सक्ने विश्लेषण आइरहँदा कति कम्पनीहरुले भने बजारमा ल्याउनका लागि तैयारी अवस्थामा राखेका उत्पादनहरुलाई ‘आफ्नै तरिका’ले सार्वजनिक गर्ने जानकारी दिएका छन् । उदाहरणको लागि सोनीले उसको ल्यागसिप मोबाइलको नयाँ संस्करण एक्सपेरिया–२ लाई यूट्युब भिडियोमार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नेछ ।

कोरोना भाइसरको कारण स्थगित भएको अर्को ब्यापार जमघट सिस्को लाइभ पनि हो ।

“कोरोना भाइरससम्बन्धी हाल कायम विश्वब्यापी सरोकारका कारण मार्च महिनाको ३ देखि ६ तारिकसम्मका लागि तोकिएको सिस्को लाइभलाई हालका लागि स्थगित गर्ने कठिन निर्णय गरिएको छ,” सिस्को लाइभको आधिकारी वेबसाइटमा लेखिएको छ ।

मेलबर्नमा हुन लागेको यस कार्यक्रममा करिब आठ हजार पाँच सयजति सहभागीहरु भेला हुने अपेक्षा गरिएको थियो । अमेरिकी नेटवर्किङ कम्पनीहरुको यस वार्षिक जमघटमा आयोजकले आफ्ना ग्राहक तथा सहभागीहरुलाई इञ्जिनियर तथा एग्जुक्युटिभ्सहरुसँग अन्तरक्रिया गराउने र तालिम तथा मनोरञ्जनात्मक शत्रहरु संचालन गर्ने गर्दछन् ।

त्यसैगरी यस वर्षको मार्चमा स्विटजरल्याण्डको बसेलमा आयोजना हुन लागेको बसेल फेस्टिबल पनि रद्द भएको छ । खाना, मनोरञ्जन, साइट सिईन, संस्कृति एवं गीत तथा संगीतको मिश्रणको रुपमा रहने यस कार्यक्रममा विश्वभरीका हजाराै पर्यटकहरुको सहभागीता रहने गर्दछ ।

“टाइम टू मुभ” शिर्षक दिइएको फेब्रुअरी अन्त्यका लागि जूरिचमा आयोजना हुने तय भएको वाच फेयर (घडीसम्बन्धी ब्यापार प्रदर्शनी) पनि कारोना भाइरसको कारण प्रभावित भएको छ । नविन, लग्जरी तथा महंगा घडीहरुको प्रदर्शनी तथा किनबेच हुने यस मेलालाई ओमेगा, टिसोट र लन्जिन्स जस्ता प्रख्यात ब्राण्डका घडी उत्पादक स्वाच गु्रपले वार्षिकरुपमा संचालन गर्दै आइरहेको छ ।

हरेक दुई वर्षमा आयोजना हुने एसियाकै सबैभन्दा ठूलो हवाइ मेला सिंगापुर एयरसो पनि यस वर्षका लागि स्थगित भएको छ । विश्वभरीका सैयाैं हवाइसम्बन्धी कम्पनीहरु सहभागी भएर हवाइ प्रविधिमा आएको पछिल्लो विकासलाई प्रदर्शनी गरिने यस मेलामा करोडाैं अमेरिकी डलर बराबरको ब्यापार सम्झौता समेत हुने गर्दथ्यो ।

कम्तिमा ७० भन्दा बढी हवाइ कम्पनीहरुले कोरोना भाइरसलाई जनाउँदै आफ्नो सहभागीता रद्द गरेपछि हवाइ मेलालाई हालका लागि आयोजना नगरिने बिबिसीको एक रिपोर्टले उल्लेख गरेको छ ।

मार्च महिनाको ५ देखि १५ तारिकसम्म संचालन हुन लागेको विश्वको सबैभन्दा ठूलो र महत्वपूर्णमध्येको एक जेनेभा इन्टरनेशनल मोटर सोको आयोजना पनि स्थगित भएको छ । यस सोका क्रमका विभिन्न ठूला मोटर उत्पादकहरुले आफ्नो उत्पादन सार्वजनिक गर्दै बृहत रकम बराबरको सम्झौता हात पार्दथे ।

कोरोना भाइरसको संक्रमणसँगै विश्वब्यापी अर्थतन्त्रमा परेको नकारात्मक असर तथा ठूला बहुराष्ट्रिय कम्पनीहरुले सामना गरेका चुनौती बारेका समाचार आइरहेका बेला पछिल्लो समय बस्तु तथा सेवा बजारको अवस्था, उपभोक्ताको किनमेलको अभ्यास तथा विभिन्न क्षेत्र तथा कम्पनीहरुको कमाइको गतिलाई नै खलबल्याउने गरी कैयाैं निर्धारित ठूल्ठूला ब्यापार प्रदर्शनी तथा मेलाहरु रद्द भइरहेका छन् ।

मानिसहरु बीच कोरोना भाइरसको संक्रमण हुने डरले गर्दा स्थगित गरिएका यस्ता मेलाहरुको कारण बस्तु तथा सेवाहरु बजारमा आउनबाट बञ्चित हुने मात्र नभइ ब्यापारिक प्रयोजनका लागि लाखाैंको संख्यामा हुने पर्यटन क्रियाकलापहरु समेत प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.