लक्जरी कारमा छालाको प्रयोग बन्द गरिँदै, कार उत्पादकहरू विकल्पको खोजिमा

  २०७६ फागुन २ गते १७:०८     विकासन्युज

काठमाडौं । पछिल्लो समयमा भिगन हुने चलन बढ्दो छ । भिगन भन्नाले पश्चिमी अभ्यास हो जुन हाम्रो साकाहारी सिद्धान्तभन्दा फरक छ । यो केवल साकाहारी खाना खाने वारेमा मात्र होइन कि, पूर्ण रुपमै दुध, दहि, मह, छाला, ऊन लगायत जनावरका कुनैपनि उत्पादनको प्रयोग नगर्नुमा आधारित रहेको छ ।

पशु कल्याण, स्वास्थ्य र वातावरणीय सरोकार जस्ता कुराले गर्दा यो परम्परा बढ्दो अवस्थामा छ । यहाँसम्म कि कार उत्पादकहरुले यो अभ्यास कारहरुमा पनि गर्न थालेका छन् । कार उत्पादकहरु कारका सिट लगायतमा जनावरको छालाको प्रयोग बन्द गर्ने तर्फ केन्द्रित हुँदै गएका छन् ।

जनावरको छालालाई लामो समयदेखि कारको इन्टेरिअरको लागि लक्जरी सामाग्रीको रुपमा प्रयोग गरिँदै आइएको छ र यो अझै पनि लोकप्रिय नै रहेको छ । यद्यपी, विगत केहि वर्षयता प्रिमियम कार उत्पादकहरुले जनावरका छालाको विकल्पहरु विकास गर्न विशेष मिहिनेत खर्चिन थालेका छन् ।

पछिल्ला दिनहरुमा कम्पनीहरुको त्यस्तो निर्णयलाई समर्थन गर्ने खालका सार्वजनिक रायहरु पनि आउन थालेका छन् । ६ पटक सम्म फर्मुला-१ को विश्व विजेता वन्न सफल लुइस ह्यामिल्टनले हालसालै मर्सिडिज बेञ्जलाई उसका कारहरुमा जनावरको छालाको प्रयोग पूर्ण रुपमै बन्द गर्न सल्लाह पनि दिएका छन् ।

यो नयाँ अवधारणा चाहिँ होइन । उदाहरणका लागि, मर्सिडिज बेञ्जले आफ्ना केहि कारहरुमा सन् २००३ देखि आर्टिको नामको सिन्थेटिक मेटेरियल जडान गर्न थालेको छ । त्यसैगरी टोयोटाले सोफटेक्स भन्ने सामाग्री प्रस्तुत गर्दछ भने फरारीले चाहिँ माइक्रो प्रेस्टिजलाई केहि मोडेलहरुमा छालाको विकल्पको रुपमा प्रस्तुत गरेको छ ।

टेस्लाले भने पूर्ण रुपमा छालाको सीट कभरको प्रयोग बन्द गरिसक्यो । टेस्लाले क्यालिफोर्नियाको एउटा फर्ममा सेयर किनेपछि पेटा अमेरिकाले यसलाई छालाको प्रयोग बन्द गर्न दबाब दिएको थियो । पेटा पशु अधिकारलाई लिएर लड्ने एक संस्था हो ।

भोल्भोको इलेक्ट्रिक ब्राण्ड पोलेस्टारले आफ्ना आउँदै गरेका उत्पादनहरुको इन्टेरियरमा केवल गैर-छालाको प्रयोग गर्नेछ । पोलेस्टारको प्रमुख थोमस इन्जेलाथ भन्छन् कि यसले हाम्रो वातावरणको हेरचाह केवल इलेक्ट्रिक वाहन लिएर आउनुमा सिमित छैन भन्ने देखाउँछ ।

कार्वन उत्सर्जन बढाउन पनि पशु काटमार उद्योगले बढावा दिएको हुनाले छालाको प्रयोगलाई पूर्ण रुपमै बन्द गर्दा फाइदा हुने कार उत्पादकहरु बताउँछन् यद्यपी उनीहरुका लागि यस्तो निर्णय चुनौतीको रुपमा खडा भने हुन सक्छ ।

कार उत्पादकहरुले हाल सामना गरिरहेको चुनौती भनेको जनावरको छाला समान अनुभव प्रदान गर्ने प्रिमियम सामाग्रीहरु फेला पार्नु हो जुन धेरै मात्रामा उत्पादन गर्न सकियोस् र लामो समय सम्म छाला जत्तिकै टिकाऊ पनि होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.