जन्मदिनमा संकलित रकमबाट पाँच स्कुललाई पुस्तक हस्तान्तरण

  २०७६ फागुन २ गते १२:३७     विकासन्युज

काठमाडौं । स्कुलका ससाना विद्यार्थीले जम्मा पारेको जन्मदिनको रकमबाट देशका विभिन्न जिल्लाका पाँंच वटा स्कुलहरुलाई पुस्तक सहयोग हस्तान्तरण गरिएको छ । भक्तपुरको मिवाछें व्यासीस्थित एभरेष्ट इगलिश स्कुलका विद्यार्थीले आआफनो जन्मदिनको दिन संकलित रकमबाट ती स्कुलहरुलाई एक कार्यक्रमवीच पुस्तक सहयोग हस्तान्तरण गरिएका हुन् ।

स्कुलको ३७ औ वार्षिक समारोह एवं पुरस्कार वितरण कार्यक्रममा दार्चुलास्थित श्री मालिकार्जुन मावि, मकवानपुरस्थित सिद्धार्थ मावि, धनकुटास्थित पुन्य मावि, काभ्रेलान्चोकस्थित कालिका मावि र काभ्रेपलान्चोकस्थित नै अर्काे नैमिषारण्य संस्कृत गुरुकुल स्कुललाई ती पुस्तकहरु हस्तान्तरण गरिएका हुन् ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य र स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले संयुक्त रुपमा ती स्कुलका प्रतिनिधिहरुलाई किताव हस्तान्तरण गरेका हुन् ।

चारवटा माविहरुलाई प्रति स्कुल दुई लाख ३३ हजार आठ सय ५९ रुपैयाँं बराबर र काभे्रपलान्चोकस्थित नै अर्काे नैमिषारण्य संस्कृत गुरुकुल स्कुललाई एक लाख ६७ हजार एक सय ११ रुपैयाँं बराबरको पुस्तक हस्तान्तरण गरिएका छन् । साथै चार वटा स्कुलहरुलाई प्रति स्कुल एक हजार ६ सय सात थान र संस्कृत स्कुललाई एक हजार एक सय थान बराबरको पुस्तक हस्तान्तरण गरिएका हुन् ।

यसैगरी, चार वटा स्कुलहरुलाई प्रतिस्कुल औसत १६ हजार बराबरको शैक्षिक सामाग्री र संस्कृत स्कुललाई तीन हजार पाँंच सय १० रैपैयाँं बराबरको शैक्षिक सामाग्री पनि हस्तान्तरण गरिएको थियो । संस्कृत स्कुल भएकोले त्यस स्कुललाई छुटै रकम बराबरको पुस्तक र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको स्कुलले जनाएको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले जन्मदिनमा चकलेटलगायतका खाद्यबस्तु किनेर साथीहरुलाई नबाडी रकम कोषमा राखेर संकलित रकमबाट ती स्कुलहरुलाई पुस्तक सहयोगस्वरुप हस्तान्तरण गरेको बताए ।

उनका अनुसार जन्मदिनको दिन स्कुलका विद्यार्थीले चकलेट किनेर ल्याई सहपाठीहरुलाई बाँंडदैनन् बरु चकलेट किन्ने त्यो पैसा जन्मदिन फण्डमा जम्मा पार्छन् । यही फण्डबाट प्रत्येक वर्ष दुर्गम क्षेत्रका विभिन्न विद्यालयहरुलाई पुस्तक सहयोग गर्दै आएको उनले स्मरण गरे ।

ससाना नानीहरुमा नयाँं संस्कारको सुरुवात गर्ने उद्देश्यका साथ एभरेष्ट टिएन वर्ड डे फण्ड स्थापना गरेको स्कुलले जनायो । यही फण्डमा २०७५ सालमा संकलित रकमबाट दुर्गम क्षेत्रका विद्यालयका विद्यार्थीलाई पुस्तक सहयोग गर्ने योजना अनुसार पुस्तक हस्तान्तरण गरिएकोे जनाइएको छ ।

आवश्यकता हेरेर कुनै स्कुललाई कोर्ष बुक अनुसारको त कुनै स्कुललाई रिफरेन्स बुक हस्तान्तरण गर्दै आएको बताइयो । जन्मदिनमा विद्यार्थीले सकेको आर्थिक सहयोग फण्डमा जम्मा गराउने व्यवस्था स्कुलले मिलाएको छ । यो रकम जन्मदिनको दिन सवै विद्यार्थीसामु उद्घोष गरी फण्डमा राख्ने कार्यक्रममा बताइयो ।

चकलेटको विकृति रोकेर स्कुलले २०६६ सालदेखि बर्ड डे फण्ड स्थापना गरेको स्कुलले जनाएको छ । विद्यार्थीबाट संकलित रकमबाट पहिलो पटक २०६६ सालमा भक्तपुर अस्पतालका विरामीलाई व्ल्यांकेट वितरण गरेको र त्यसपछिका वर्षहरुमा निरन्तर प्रत्येक वर्ष विभिन्न दुर्गम स्कुलका विद्यार्थीलाई पाठ्यपुस्तक सहयोग गर्दै आएको स्कुलले जनाएको छ । हालसम्म देशका २१ जिल्लाका २२ वटा स्कुलहरुलाई पुस्तक हस्तान्तरण भएको स्कुलले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्कुलले गरेको यो कार्यक्रम देशकै लागि उदाहरणीय रहेको भन्दै प्रशंशा गरे । कार्यक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, भक्तपुरका पूर्व जिल्ला शिक्षा अधिकारी नयनसिंह धामी, संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, सहायक प्रिन्सिपल कमलादेवी राजभण्डारी अमात्यलगायतले बोलेका थिए ।

कार्यक्रममा एभरेष्ट स्कुलका वेष्ट स्टुडेण्ट्सको रुपमा छात्रातर्फ आर्य प्रसाई र छात्रतर्फ आयुष गेलाल घोषित गरी पुरस्कार वितरण गरिएको थियो । साथै स्कुलले यसअघि गरेको वेष्ट फ्रम वेष्टका विजयी विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको थियो । त्यस क्रममा विद्यार्थीहरुले गीत, नृत्य, जिम्याष्टिक पनि देखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.