राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता–२०७६ सम्पन्न, पाठशाला नेपाल फाउण्डेशनकी नस्वा जोशी प्रथम

  २०७६ फागुन २ गते ११:०३     विकासन्युज

काठमाडौं । काठमाडौं मोडेल सेकेण्डरी स्कुल, बालकुमारी ललितपुरको आयोजनामा पाँचौं संस्करणको राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता २०७६ सम्पन्न भएको छ । यस विद्यालयले विगत २०७२ सालदेखि निरन्तर वार्षिक रूपमा प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ ।

विद्यालयतहका कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका ३० वटा विद्यालयका ८५ जना विद्यार्थीहरू प्रतियोगितामा सहभागी भएका थिए । उक्त प्रतियोगितामा पाठशाला नेपाल फाउण्डेशनकी नस्वा जोशी प्रथम भएकी छन् । उनले रु २० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेकी हुन् ।

सिद्धार्थ वनस्थली स्कुलका स्पन्दन बोहोरा द्वितीय हुन सफल भए । उनले रु १२ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे । यसैगरी ज्ञाननिकेतन स्कुलकी करिश्मा थापाले तृतीय स्थान प्राप्त गर्दै रु. ८ हजार नगद र प्रमाणपत्र प्राप्त गरिन् ।

सान्त्वना स्थान प्राप्त गर्नेमा केएमसी स्कुलकी ईराशु कार्की, बिडीएस. स्कुलकी एइभा आचार्य, अवयर्नेश इन्टरनेशनल एकेडेमीकी भावना अर्याल, ब्लु बर्ड सेकेण्डरी स्कुलका फिरोज आफ्रिन र काठमाडौं जेभिएर स्कुलका स्वच्छन्द अधिकारी रहेका छन् ।

यस्ता बौद्धिक कार्यक्रमहरूले विद्यार्थीका आन्तरिक प्रतिभा प्रष्फुटित गर्न मद्दत पुग्दछ भन्दै विद्यार्थीहरूले समयको महत्वपलाई बुझेर कार्यसम्पादन गर्न सके कहिल्यै असफल हुनु नपर्ने कुरा कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रीय समितिका सहअध्यक्ष डि.के ढुङ्गानाले बताए ।

कार्यक्रममा सहभागी प्रतियोगी तथा अतिथिहरूलाई केएमसी नेटवर्कका निर्देशक किशोर गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए । निबन्ध लेखनपूर्व त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रमेश भट्टराईले निबन्ध लेखनका बारे अभिमुखीकरण गरे ।

लेखिएका निबन्धहरूलाई प्रा.डा. अम्माराज जोशी र प्रा.डा. रमेश भट्टराईको नेतृत्वमा रहेको १५ सदस्यीय निर्णायक मण्डलले मूल्यांकन गरेको थियो । निबन्ध लेखनमा सहभागी विद्यार्थीहरूलाई उत्प्रेरक व्यक्तित्व डा. ताराजीले मोटिभेशन स्पिच दिएका थिए ।

सुखी नेपाली ः समृद्ध नेपाल, सामाजिक सञ्जालका र यसको प्रभाव, नेपाल भ्रमण वर्ष २०२० र राष्ट्रप्रति मेरो कर्तव्य शीर्षकमध्ये गोलाप्रथाद्वारा छानिएका शीर्षकमा प्रतियोगीहरूले निबन्ध लेखेका थिए । विद्यालयका प्राचार्य सुरेन्द्र सुवेदीको अध्यक्षतामा सञ्चालित कार्यक्रम उपप्राध्यापक प्रकाश तिवारीले सञ्चालन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.