जलविद्युतमा बैंकको लगानी निराशाजनक, १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्न चुनाैती

  २०७६ फागुन २ गते ११:२१     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले जलविद्युतमा गर्ने लगानी निराशाजनक देखिएको छ । सरकारले जलविद्युत क्षेत्रलाई प्राथमिकताका साथ लिएको भनिए पनि बैक तथा वित्तीय संस्थाहरुले भने लगानी घटाउँदै गएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको जलविद्युतमा लगानी गर्न उत्सुक देखिएका छैनन् । नेपाल राष्ट्र बैंकको पछिलो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले जलविद्युतमा साढे एक खर्ब लगानी गरेका छन् ।

सो रकम गत आर्थिक वर्षको भन्दा झण्डै १५ अर्ब रुपैयाँ बढी भएपनि सरकारले लिएको लक्ष्प्य अनुसारको होइन । लक्ष्य भेटाउन भने चुनौती देखिएको छ । सरकारले लक्ष्य ठूलो लिने तर लगानी कम गर्ने प्रवृतिले पनि १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्नु ठूलो चुनौती हो ।

सम्भावनाका दृष्टिकोणले नेपालमा धेरै विद्युत उत्पादन गर्न सकिन्छ । तर, बैंक तथा वित्तीय संस्थाहरुको लगानी हेर्दा निराशाजनक देखिन्छ। नेपाल राष्ट्र बैंकले कूल लगानीको १२ प्रतिशत ऊर्जा र कृषि क्षेत्रमा अनिवार्य लगानी गर्न निर्देशन दिए पनि वित्तीय संस्था लक्ष्यको एक तिहाइभन्दा कममा सीमित छन् ।

राष्ट्र बैंकको फितलो अनुगमन र वित्तीय संस्थाले ऊर्जा तथा जलविद्युत क्षेत्रमा लगानी गर्दा हुने जोखिम व्यवस्थापन गर्न नसक्दा लगानी बढ्न नसकेको हो । राष्ट्र बैंकले नै ऊर्जा तथा जलविद्युतको लगानी सीमा घटाइदिएकाले यस क्षेत्रमा बैंकको आकर्षण पनि कम हुन थालेको प्रबर्धकहरूले गुनासो गर्न थालेका छन् ।

आन्तरिक लगानीमा नै १० मेगावाटभन्दा ठूला आयोजना निर्माण हुने अवस्था देखिएकाले साना आयोजनामा बैंक तथा वित्तीय संस्थाको आकर्षण घटेको हो । अहिले देशमा २७ वाणिज्य बैंक, २५ विकास बैंक, २२ वित्त कम्पनी, ९० लघुवित्त संस्था र एउटा पूर्वाधार विकास बैंक छ ।

बैंक तथा वित्तीय संस्थाको मात्रै नभई साना आयोजनाको साधारण सेयरमा समेत लगानीकर्ता लगानीका लागि हच्किएका छन् । साना आयोजनामा लगानी गर्ने भए ५० प्रतिशत स्वपूँजी र ५० प्रतिशत मात्रै ऋण लगानी गर्न सकिने केही बैंकले प्रबर्धककलाई बताएका छन् ।

पछिल्लो पटक ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी गर्नुपर्ने अवस्था थियो । नेपाल राष्ट्र बैंकले ऊर्जामा अनिवार्य रुपमा १५ प्रतिशत लगानी गर्नैपर्ने कानूनी व्यवस्था गरेपनि अधिकांश बैंकले सो सीमा पुगेको बताउन थालेका छन् । जसका कारण ऊर्जा क्षेत्र आकर्षकबाट विकर्षण क्षेत्रमा परिणत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.