चाइल्डसेफनेटद्वारा सुरक्षित सूचना प्रविधिसम्बन्धी चेतनामूलक कार्यक्रम

  २०७६ फागुन २ गते १०:३९     विकासन्युज

काठमाडौं । बालबालिका तथा युवा वर्गका लागि सुरक्षित सूचना प्रविधिको क्षेत्रमा कार्य गर्दै आएको संस्था चाइल्डसेफनेटले मंगलबार पाटन दरवार क्षेत्रमा सुरक्षित सूचना प्रविधिसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

राम्रो इण्टरनेटका लागि हातेमालो नाराका साथ ‘सुरक्षित इण्टरनेट दिवस – २०२०’ का अवसरमा चाइल्डसेफनेटले  उक्त कार्यक्रम गरेकाे हाे । यसले सन् २०१९ देखि नेपालमा सुरक्षित इण्टरनेट दिवसको समन्वय र प्रवर्धन गर्दै आएको छ ।

स्थानीय खुला डबलीमा सार्वजकि रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा चाइल्डसेफनेटका अध्यक्ष अनिल रघुवंशीले आजको डिजिटल युगमा तीव्रताका साथ अगाडि बढिरहेको सूचना तथा सञ्चार प्रविधिले सकारात्मकका साथै नकारात्मक तथा डरलाग्दा प्रभावहरूलाई पनि ल्याइरहेको चर्चा गरेका छन् ।

उनले बालबालिका तथा युवा वर्गलाई यसका नकारात्मक प्रभावबाट बचाउन सरकारी तथा निजी क्षेत्रले बेलैमा सजगता तथा सक्रियता अपनाउनु नितान्त आवश्यक भएको बताएका छन् ।

इण्टरनेट बालबालिकाको अश्लील चित्र र भिडियो देखिएमा रिपोर्ट गर्न चाइल्डसेफनेटले इण्टरनेट वाच फाउण्डेसनसँग हालै सहकार्य सुरु गरेको जानकारी दिँदै रघुवंशीले ।।।।। मा नेपाली भाषामा बेनामी रिपोर्ट गर्न सकिने बताए ।

कार्यक्रममा प्रहरी निरीक्षक उमेश साहले सूचना प्रविधिको दुरुपयोगका कारण साइबर अपराध बढ्दै गएकोले यसको नियन्त्रणका लागि नेपाल प्रहरीको केन्द्रिय साइबर ब्यूरो कार्यरत रहेको जानकारी दिएका छन् । त्यसैगरी सिविन नेपालका माधव लोहनीले बाल हेल्पलाइन १०९८ मा निःशुल्क फोन गरी अनलाइन यौन दुव्र्यवहार एवं शोषण, साइबर बुलिङ्ग, छलकपट (फिसिङ्ग) तथा सेक्स्टोर्सन जस्ता घटनाको रिपोर्ट गर्न सकिने जानकारीे दिए ।

कार्यक्रममा बाल वातावरण केन्द्र नेपालबाट साइबर सुरक्षासम्बन्धी तथा ब्लूबर्ड स्कुलबाट साइबर बुलिङसम्बन्धी सडक नाटकहरु प्रदर्शन गरिएको उक्त कार्यक्रममा रेड सर्कल क्रियटिभ सोलुसन्सका सुशान्त घिमिरेले साङ्गीतिक तथा एपेक्स लाइफ स्कूलका सजल पौड्यालले अनलाइन कुलतबारे हास्य प्रस्तुति दिएका थिए ।

यसैगरी लभग्रीन नेपालले चाइल्डसेफनेटसँगको सहकार्यमा पाँचखालको बालुवास्थित आजाद माध्यमकि विद्यालयमा साइबर सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेर सुरक्षित इण्टरनेट दिवस मनाएको छ । साथै, नवलपरासीको सुनवलमा वेदः सिर्जनशील संस्थाले चाइल्डसेफनेटको सहकार्यमा ‘इण्टरनेटको महत्व र चुनौति’ विषयक अन्तरक्रिया गरी सुरक्षित इण्टरनेट दिवस मनाइयो ।

त्यसैगरी ललितपुर छम्पीको होली टेम्पल माध्यामिक विद्यालय र जनजागृति माध्यामिक विद्यालय, बुढानीलकण्ठमा साइबर सुरक्षासम्बन्धी तालिम संचालन गरेर सुरक्षित इण्टरनेट दिवस मनाइएको थियो । यस अघि, सुरक्षित इण्टरनेट दिवसको तयारीको लागि गत माघ ९ देखि १२ गते चाइल्डसेफनेटले ललितपुरमा २० जना युवालाई चारदिने साइबर सुरक्षा प्रशिक्षक प्रशिक्षण दिएको थियो ।

साइबर सुरक्षासम्बन्धमा चेतना अभिवृद्धि गर्ने, बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने तथा बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका लागि जिम्मेवार व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सुरक्षित इन्टरनेट दिवस प्रत्येक वर्ष विश्वका एक सय पचासभन्दा बढी देशमा आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.