प्रतिबोरा १ सय ९१ रुपैयाँ सिमेन्टको मूल्य घटाउँदै सिमेन्ट उत्पादक संघ

  २०७६ फागुन १ गते १२:१३     राजाराम न्यौपाने

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले सिमेन्टमा प्रतिबाेरा १ सय ९१ रुपैयाँ मूल्य घटाउने भएको छ । नेपालमा सडक निमार्ण गर्दा सिमेन्टको प्रयोगका लागि संघले २५ प्रतिशत घटाउने भएका हो ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवकुमार थापाले सडक निर्माण गर्न सरकारले सिमेन्ट प्रयोग गर्ने हो भने सिमेन्ट उद्योगहरु उद्योगको उत्पादित मूल्यमा नै सिमेन्ट दिने बताए ।

‘हामीले सरकारलाई तिर्ने १३ प्रतिशत भ्याट छुट हुने र बाँकी १२ प्रतिशत उद्योगीले मूल्य घटाएर सिमेन्ट उद्योगले सिमेन्ट सडक निमार्ण गर्न दिन सक्ने छ,’ थापाले भने ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पनि सिमेन्ट उत्पादकहरुले उद्योगको उत्पादित मूल्यमा नै सिमेन्ट दिने प्रतिबद्धता गरेको छ । उनले विटुमिन प्रयोग गरेको सडकभन्दा कंक्रिट प्रयोग गरेको सडक नै बलियो हुने बताए ।

‘विटुमिन प्रयोग भएको सडक बनाउँदा बनाउँदै वा बनेको केही समयमा नै भत्किने भएकोले सडकको आयुलाई हेरेर कंक्रिट सडक नै राम्रो हुने छ,’ शर्माले भने ।
विटुमिन प्रयोग गरेर सडक निर्माण गर्दा भन्दा सिमेन्ट प्रयोग गरेर कंक्रिट सडक निर्माण गर्दा मूल्य भने दोब्बर लाग्ने छ । मूल्य दोब्बर भए पनि कंक्रिट सडक कम्तीमा पनि ३० वर्ष टिक्ने सडक विभागले जानकारी दिएको छ ।

घुम्ती, उकालो, ओरालो र पानी जम्ने र चिसो भैरहने ठाँउमा कंक्रिट नै प्रयोग राम्रो हुने छ । यसभन्दा पहिले पनि सडक विभागले कालोपत्रे नखप्ने त्यस्ता सडकको पहिचान गरेर कंक्रिट सडक निर्माण गरिरहेको थियो ।

कंक्रिट नमूना सडक बनाएर त्यसको टिकाउ हेर्ने काम विभागले अगाडि बढाएको छ । निर्माण भएका सडकहरुको दिगोपन तथा गुणस्तर सुनिश्चित गर्न सके मात्र अपेक्षा गरे अनुसार सवै सेवाग्राहीले उचित फाइदा लिई देशको चौतर्फी विकासमा योगदान दिन सक्नेछन् ।

सडक निमार्ण र मर्मतका लागि हाल प्रयोग गरिने विटुमिन लगायतका कच्चा पदार्थ विदेशवाट आयात गर्दा नेपाली पैसा विदेशमा जाने गरेको छ ।

उद्योग विभागमा १ सय ३० वटा सिमेन्ट उद्योग दर्ता छन् । तर अहिले ६१ उद्योग मात्रै संचालनमा छन् । दर्ता भएका सबै सिमेन्ट उद्योगहरु सञ्चालन हुने हो भने अझै सिमेन्टको मूल्य घटने उद्योगीहरु बताउँछन् ।

नेपालमा पहिलो सिमेन्ट उद्योगको रुपमा २०३१ सालमा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । अहिले हिमाल सिमेन्ट उद्योग बन्द छ । २०३२ सालमा हेटौंडा सिमेन्ट र २०४४ सालमा उदयपुर सिमेन्ट स्थापना भए । यी दुबै उद्योग अहिले पनि संचालनमा छन् । सरकारले सिमेन्ट उद्योगमा लगानी गर्न थालेको १९ वर्ष पछि मात्रै निजी क्षेत्रले सिमेन्ट उद्योगमा लगानी गर्न सुरु गरेका हुन ।

नेपालमा स्वदेशी र विदेशी गरि ४ सय अर्ब लगानी रहेको थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.