हिमालयन बैंकको २२ प्रतिशत लाभांश पारित, सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित

  २०७६ माघ २९ गते १४:५६     विकासन्युज

काठमाडौं । हिमालयन बैंकको प्रस्तावित २२ प्रतिशत लाभांश पारित भएको छ । माघ २९ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस र कर सहित १२ प्रतिशत नगद लाभांश पाउने छन् । त्यस्तै, ८ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको १० प्रतिशत बोेनस सेयर पछि ९ अर्ब ३७ करोड रुपैयाँ नाघेको छ ।

बैंकले आ.व. २०७५/७६ अन्त्यसम्म १ खर्ब १३ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन र ९८ अर्ब २० करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १३.३८ र १३.०८ प्रतिशतले बढी हो ।

बुधबार सम्पन्न सभाले संस्थापक सेयरधनीको तर्फबाट ५ जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । सभाले आगामी कार्यकालको लागि आशिष शर्मा, प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, फैजल एन ललानी र तुलसी प्रसाद गौतमलाई संस्थापक सञ्चालकमा चयन गरेको हो । सञ्चालक पदमा निर्वाचनको लागि यी ५ जनाको मात्रै उमेदवारी परेकाले सभाले निर्विरोध निर्वाचित गरेको हो ।

नवनिर्वाचित सञ्चालक मध्ये शर्मा पूर्वराजदुत दीपकुमार उपाध्यायका छोरा हुन् । शर्मा यसअघि नविल बैंकको संचालक समिति सदस्य भइसकेका छन् भने युनाइटेड इन्स्योरेन्स कम्पनीको संचालक समिति अध्यक्ष पनि भइसकेका हुन् । श्रेष्ठ यसअघि पनि बैंक संचालक समिति सदस्य थिए । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादर थापाका छोरा तथा पूर्वमन्त्री हुन् । हिमालयन शमशेर जवराका ज्वाइँ थापा पृथ्बीबहादुर पाँडेसमूहको प्रतिनिधित्व गर्दै आएका हुन् ।

त्यस्तै, ललानी पाकिस्तानको हबिव बैंकको प्रतिनिधित्व गर्दै संचालक समितिमा आएका हुन् । गौतम कर्मचारी संचय कोषको तर्फबाट संचालक बनेका हुन् । शर्मा पूर्वराजदुत दीपकुमार उपाध्यायका छोरा हुन् ।

नवनिर्वाचित संचालकहरुलाई बधाई दिंदै बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले चालु आर्थिक वर्षमा कम्तीमा १२ स्थानमा नयाँ शाखाहरुको स्थापना गर्ने जानकारी दिएका छन् । साथै अध्यक्ष श्रेष्ठले बैंकको सेवा तथा सुविधाहरुलाई समयानुरुप आकर्षक एवं गुणस्तरीय बनाउने तर्फ बैंक निरन्तर प्रयासरत रहने पनि बताए ।

साथै, सभाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरिक्षकमा वर्तमान लेखापरिक्षक बि आर एस न्यौपाने एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ । निजको लागि २० लाख रुपैयाँ पारिश्रमिक तोकिएको सभाले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.