राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब २० करोड, स्प्रेडदर बढ्दा पनि नाफा घट्यो

  २०७६ माघ २९ गते १०:२०     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष (आव) को ६ महिनामा २ अर्ब २० करोड ९४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४० करोड ९९ लाख रुपैयाँ गरेको थियो ।

बैंकले प्रकाशित गरेको चालु आवको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा करिब २० करोड रुपैयाँले घटेको छ । खराब कर्जा जति छ, त्यति रकम नोक्सानी व्यवस्थाको लागि पनि नराख्दा र व्याज अन्तर (स्प्रेड) दर बढाउँदा पनि बैंकको नाफा कम घटेको छ ।

पुस मसान्तसम्ममा बैंकले सर्वसाधारणमा १ खर्ब ४७ अर्ब ८९ करोड ७९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले १ खर्ब ४२ अर्ब २ करोड २८ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।

चालु आवको पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको १ खर्ब ९४ अर्ब ९० करोड १९ लाख रुपैयाँ निक्षेप छ । गत आवको साृेही अवधिमा बैंकका सर्वसाधारणको १ खर्ब ८९ अर्ब २५ करोड ५३ लाख रुपैयाँ निक्षेप थियो । बैंकले सर्वसाधारणको निक्षेप करिब ६ अर्ब रुपैयाँ बढाउँदा कर्जा तथा लगानी करिब करिब ५ अर्ब रुपैयाँ बढाएको छ ।

बैंकको खुद व्याज आम्दानी बढेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकले ४ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो भने चालु आवको सोही अवधिमा ५ अर्ब ६ करोड ६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

बैंकले गत आवको ६ महिनामा ७ अर्ब २३ करोड ४३ लाख रुपैयाँ व्याज आम्दानी गरी २ अर्ब २८ करोड ६ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । चालु आवको सोही अवधिसम्ममा बैंकले ८ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ व्याज आम्दानी गरी ३ अर्ब ६६ करोड ५८ लाख रुपैयाँ व्याज खर्च गरेको छ ।

बैंकको खराब कर्जा अनुपात बढेको छ । गत आवको पुस मसान्तसम्ममा ३.४० प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आवको सोही अवधिसम्ममा ४.७७ प्रतिशत पुगेको छ । बैंकले खराब कर्जाको लागि सम्भावित नोक्सानी व्यवस्थामा ९५.४५ प्रतिशत मात्रै रकम राखेको छ । गत वर्षको सोही अवधिमा सम्भावित नोक्सानी व्यवस्थाको लागि ९९.७९ प्रतिशत रकम राखेको थियो । बैंकले दिएको कर्जाको सावा व्याज किस्ता नियमित उठेन भने सम्भावित नोक्सानी व्यवस्थाको लागि राखिएको रकमबाट बैंकको पुँजी कोष प्रभावित हुनबाट जोगाउने गरिन्छ । रकम थोरै राख्दा कुनै कर्जा खराब भयो भने बैंकको पुँजी कोष घट्न सक्छ ।

बैंकको कष्ट अफ फण्ड ४.७७ प्रतिशत छ । गत वर्ष कष्ट अफ फण्ड ३.४० प्रतिशत थियो । बैंकको कर्जा निक्षेप अनुपात ७२.६६ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा यस्तो अनुपात ६९.२४ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ । यस्तो अनुपात कम हुँदा बैंकको बैंकले विवेशील ढंगले स्रोतको परिचालन गर्न नसकेको अर्थ लाग्छ ।

बैंकको आधार दर ६.६ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो अनुपात ५.६ प्रतिशत थियो । आधार दर बढ्दा कर्जाको व्याजदर बढ्न सक्छ । यस्तै गत वर्ष ४.७८ प्रतिशत रहेको व्याज अन्तर (स्प्रेड) दर यो वर्षको पुस मसान्तसम्म आइपुग्दा ५.५३ प्रतिशत छ । आगामी असार मसान्तसम्ममा बैंकहरुको व्याज अन्तरदर ४.४ प्रतिशतमा ल्याइसक्न नेपाल राष्ट्र बैंकले निर्देशन दिइसकेको छ ।

बैंकमा सरकारको करिब शतप्रतिशत लगानी रहेकोले बैंकमा परिसुचक जे जस्ता भएपनि प्रत्येक्ष रुपमा सर्वसाधारण लगानीकर्तालाई भने प्रभाव पार्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.