२ वर्षपछि नेपालीले नेपालको खानीबाट उत्खनन् गरेको पेट्रोलियम पदार्थ प्रयोग गर्न पाउने

  २०७६ माघ २९ गते ११:२०     राजाराम न्यौपाने

काठमाडौं । पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । यही गतिमा काम हुदै जाने हो भने अबको २ वर्षपछि सवारीसाधन प्रयोगकर्ता नेपालीले नेपालकै खानीबाट उत्खन्न भएको पेट्रोलियम पदार्थको प्रयोग गर्न पाउने छन् ।

कात्तिक महिनाबाट दैलेखको पश्चिम भूभागमा गरिएको सेस्मिक सर्भेका लागि दुल्लु नगरपालिकामा क्याप निर्माण गरेर विज्ञहरुको समूह बसेर काम सुरु गरेको थियो । काम सुरुभएको करिब ३ महिनामा सर्भेको ८० प्रतिशत काम सम्पन्न भएको छ । अब २ महिनामा सर्भेको काम सकिने छ ।

सर्भेको काम सकिएपछि खानी विभागले ड्रिलिङको काम सुरु गर्नेछ । ड्रिलिङको काम १ वर्षपछि नेपालमा भएको पेट्रोलको उत्खन्नका लागि कम्पनीलाई सरकारले जिम्मा दिनेछ । उत्खननका लागि कम्पनीले जिम्मा लिएपछि नेपाली बजारमा नेपालमा नै उत्खन्न भएको पेट्रोल प्रयोग गर्न पाउने छन् ।

खानी विभागकाे पेट्रोलियम पदार्थ अन्वेषण परियोजना प्रमुख सुधीर रजाैरेले अहिले कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन स्थानमा बढी भण्डारणको सम्भावना छ भनेर जमिनभित्रको अवस्था पत्ता लगाउने काम भइरहेको जानकारी दिए ।

‘सर्भेको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ, सर्भेपछि डिलीङको काम हुन्छ, २ वर्षपछि नेपालमा नै भएको पेट्रोलियम पदार्थको उत्खनन् हुनेछ’, रजाैरेले भने ।

चाइना जियोलोजीकल सर्भेका विज्ञहरुले पेट्रोलियम पदार्थ रहेको र त्यसको उत्खनन तथा उपयोग गर्न सकिने प्रारम्भिक रिपोर्ट नेपाललाई बुझाएको थियो ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपालमा रहेका पेट्रोलियम खानीहरुको उत्खननका लागि चीनले सघाउने सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा चीनियाँ टोलीले सर्भे गरिरहेकाे छ ।

यहाँको पूर्वपश्चिम र उत्तरदक्षिणका विभिन्न भू–भागमा करिब २ सय किलोमिटर क्षेत्र समेटेर १० स्थानमा शुरु गरिएको सर्भेका सात स्थानको काम सम्पन्न भइसकेको छ ।

करिब ४५ फिट मुनिसम्म खनिएको होलमा विस्फोटक पदार्थ राखेर कृत्रिम भूकम्पीय तरङ्ग उत्पन्न गरिएको र सोबाट प्राप्त भएको सबै सूचना सङ्कलन गर्ने कार्य सेस्मिक मिटरमा भइसकेको खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ ।

भण्डारणको क्षेत्रमा पुनः करिब ५ किलोमिटर जमिनमुनिको भू–भागमा मुख्य ड्रिलिङ गरिने र त्यसपछि कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने कुरा पत्ता लाग्ने छ । एउटा लाइनमा ४ सय वर्गकिमी भूभाग समेटेर सर्भेको काम भइरहेको छ ।

दैलेखको पश्चिम भूभागमा गरिएको सेस्मिक सर्भेका लागि दुल्लु नगरपालिकामा क्याप निर्माण गरेर विज्ञहरुको समूह बसेका छन् ।

अन्वेषणको प्रक्रिया शुरु हुँदै गर्दा चिनियाँ प्राविधिक टोलीले सङ्कलन गरेका स्रोत र चट्टानको नमूना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएकाले दैलेखको भूभागमा ग्याँस र पेट्रोलियम पदार्थ दुवै हुनसक्ने सम्भावना बढ्दै गएको छ ।

विदेशका अन्य भूभागमा गरिएका सर्भेलाई आधार मान्ने हो भने छिद्र देखिएका स्थान र ग्याँस निस्किएका स्थानकै आसपासमा भण्डारण भेटिएकाले दैलेखको भूभागमा पनि भण्डारणको सम्भावना भएको रजैरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.