सामाजिक सुरक्षा कोषको निक्षेपमा भेदभाव

  २०७६ माघ २८ गते १९:०४     सुनिता पुडासैनी

काठमाडौं । सामाजिक सुरक्षा कोषमा सहभागी नहुने बैंकले कोषबाट निक्षेप नपाउने भएका छन् । सामाजिक सुरक्षा कोषले यस कोषमा सहभागी नहुने बैंकको मुद्धती निक्षेपमा रोक लगाएसँगै काेषकाे रकम निक्षेप गर्न नपाउने भएका हुन् ।

सामाजिक सुरक्षा कोषले बैंकलाई पटक-पटक कोषमा आवद्ध हुन आग्रह गरे पनि कोषमा बैंकको सहभागिता न्यून देखिएपछि कोषले यो प्रक्रिया अपनाएको हाे ।

सामाजिक सुरक्षा कोषका अनुसार कोषमा संलग्न नहुने बैंकको मुद्धती निक्षेप कारोबार बन्द गरिएको छ । कोषमा संलग्न नहुने बैंकहरुलाई यसमा आवद्ध गराउने उद्धेश्यले सामाजिक सुरक्षा कोषले यसको कारोबारमा रोक लगाएको हो ।

रोजगारदाता र श्रमिकमा आधारित सामाजिक सुरक्षा कोषले ल्याएको योजनाप्रति बैंकको आकर्षण न्यून देखिएसँगै कोषमा आवद्ध हुने मनासायले मुद्धती निक्षेप कारोबारमा रोक लगाइएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए ।

कोषमा सहभागी भएका बैंकलाई मात्र निक्षेप रकम दिन सुरु गरिने उनको भनाइ छ ।

‘कोषको विषयमा बाहिर नै बसेर कुरा गर्नुभन्दा बैंकका सञ्चालक तथा कर्मचारीले कोषमा आएर चित्त नबुझेको कुरा राख्नु पर्छ, हामीले साे गुनासोलाई समाधान गर्ने प्रयास गर्छौं,’ उनले भने ।

बैंकको कार्यविधि परिवर्तन भएसँगै कोषमा संलग्न नभएका बैंकले निक्षेप रकम नपाउने ऐन जारी गरेको थियो । उक्त ऐन अनुसार सामाजिक सुरक्षा कोषले सो नियम लागु गरेको उनको भनाइ छ । कोषले रोजगारदाता र श्रमिकको सहभागिता बढाउने उद्देश्यले सबै प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पटक-पटक निर्देशन दिँदै आएको छ ।

वित्तीय संस्थालाई दवाव दिएर कोषमा आवद्ध गराउनु उचित नभएको बैंकरहरुले धारणा राखेका छन् । कोषमा सहभागी नभएका वित्तीय संस्थामा निक्षेप जम्मा नगर्नु काेषकाे विभेदकारी नियम भएको उनीहरु बताउँछन् ।

एक महिना भित्र सबै होटल व्यवसायी कोषमा आउने

होटल एसोसिएसन नेपालले एक महिना भित्र सबै होटललाई कोषमा सहभागी हुन निर्देशन दिएको छ । लगानीकर्ता र कर्मचारीलाई कोषमा आवद्ध हुनका लागि निर्देशन दिइसकेको होटल एसोसिएन नेपालकी अध्यक्ष सृजना राणाले बताइन् ।

एक महिनाभित्र श्रमिकहरु कोषमा आवद्ध नभएमा त्यो होटल व्यवसायीको समस्या नभई कोषप्रति श्रमिकको असन्तुष्टि भन्ने कुरा बुझ्नु पर्ने उनको भनाइ छ । पछिल्लो समय लगानीकर्ता सामाजिक सुरक्षा कोषमा जान सहमत भएको उनले बताइन् ।

सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम रोजगारदाताले होटलमा कार्यरत श्रमिकहरुलाई सूचिकरण गराउने जिम्मा सम्बन्धित रोजगारदाताकै हो भन्ने उल्लेख छ । सो ऐन बमोजिम कोषमा सूचिकृत नहुनेलाई कसुरको रुपमा परिभाषित गरिएको छ ।

हालसम्म ७ प्रदेशमा १२ हजार १ सय ४६ रोजगारदाता आवद्ध भएका छन् । १ लाख ४५ हजार ३ सय ५७ जना योगदानकर्ता कोषमा संलग्न छन् । कोषले ७४ जिल्लालाई सूचीकरणमा समेटेको छ भने सुरक्षा बीमा रकम दावी गर्ने ६ जना आश्रित परिवारलाई सहायता रकमसमेत प्रदान गरेको छ ।

हाल सम्म कोषमा ५९ करोड ५ लाख ८५ हजार ८ सय ९८ रुपैयाँ जम्मा भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.