२०७६ माघ २८ गते ११:५१ विकासन्युज
चितवन । नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा रु १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ । अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन् । उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन् । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले कुखुराजन्य उत्पादनमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेको बताए ।
उनका अनुसार गएको एक वर्षमा रु ५५ लागत पर्ने चल्ला सरदर प्रतिगोटा रु २५ मा बिक्री भएको छ । देशभरमा सातामा उत्पादन हुने ३५ लाख ब्रोइलर चल्लाबाट प्रतिगोटा रु ३० घाटा सहनुपरेको छ । गएको एक वर्षमध्ये छ हप्ता लागत मूल्यमा बिक्री भए पनि बाँकी समय घाटामा बिक्री गर्नुपरेको थियो । यसरी हेर्दा एक वर्षमा रु चार अर्ब ७२ करोड ५० लाख हाराहारी घाटा कृषकले व्यहोरेको उनले जानकारी दिएका छन् ।
यसैगरी सातामा एक लाख ५० हजार बिक्री हुने लेयर्स चल्लाबाट गत एक वर्षमा रु ३० करोड हाराहारी नोक्सान भएको पोखरेलले जानकारी दिए । यस्तै मासुमा दैनिक नौ लाख ५० हजार किलो बिक्री गर्दा सरदर प्रतिकिलो रु ३० घाटा व्यहोर्नुपरेको उनको भनाइ छ । यसबाट एक वर्षमा रु नौ अर्ब ७२ करोड नोक्सान भएको उनले बताए । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरणभुषाल ओली नेपालमा दैनिक ५० लाख अण्डामा प्रतिगोटा रु तीन हाराहारी नोक्सान भएको बताउँछन् ।
अण्डाबाट एक वर्षमा रु तीन अर्ब चार करोड ५० लाख नोक्सान भएको उनले जानकारी दिए । देशभरमा ठूलो सङ्ख्यामा कृषक विस्थापित भएको ओलीको भनाइ छ । यसरी कुखुराजन्य उत्पादनमा एक वर्षमा रु १७ अर्ब ७९ करोड हाराहारी नोक्सान भएको देखिन्छ । पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराई नोक्सान धान्न नसकेर ३० प्रतिशत व्यवसायी विस्थापित भएको बताए ।
अन्यले बैंकको ऋण सार्ने वा सोही बैंकमा ऋण थपेर टिकेको उनको भनाइ छ । उनले भने, ‘सबै धरापमा छन् ।’ बर्डफ्लु आउँदासमेत तीनचार महिना नोक्सान व्यहोरे पनि गएको एक वर्ष व्यवसाय पूरै नोक्सानमा गएको उनको भनाइ छ । उत्पादित कुखुराजन्य पदार्थको एकातर्फ मूल्य नहुने अर्काेतर्फ दानाको कच्चा पदार्थको मूल्य बढ्दा थप समस्या उत्पन्न भएको बताए ।
एक वर्षअघि प्रतिकिलो रु २९ को मकै अहिले रु ३८ पुगेको छ भने रु ५६ को भटमास रु ७२ सम्म पुगेको डा. भट्टराई बताउँछन् । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका डा. भट्टराई ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा रु ५५, लेयर्स चल्लाको प्रतिगोटा रु ९०, अण्डा प्रतिगोटाको रु १० र मासु प्रतिकिलो रु ३३० पर्ने बताउँछन् । अहिले बजारमा दानाको मूल्य रु ५३ देखि रु ६४ सम्म पर्ने गर्दछ ।
नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्षसमेत रहेका टीकाराम पोखरेल नेपालमा ३०८ ह्याचरी, एक हजारभन्दा बढी ठूला फार्म र ब्रोइलर कुखुरा पाल्ने साना फार्म १० हजारभन्दा बढी रहेको बताउँछन् । यस क्षेत्रमा रु एक खर्ब १५ अर्ब लगानी भएको उनको भनाइ छ । यसमध्ये आधाभन्दा बढी बैंकिङ लगानी रहेको छ । लगातारको मूल्य गिरावटपछि पछिल्लो समय लागत मूल्य धान्ने गरी व्यवसायीले मूल्य तोकेर बिक्री वितरण शुरु गरेका छन् ।
हाल अण्डाको फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु ३०५, मासु प्रतिकिलो रु ३८० र ब्रोइलर चल्ला रु ६५ एवं लेयर्स चल्ला रु ६० देखि ७० सम्म बिक्री गर्न शुरु गरिएको छ । यद्यपि ब्रोइलर पालक किसानले जिउँदो कुखुराको मूल्य रु २ सय देखि २ सय २० सम्म मात्रै पाउँदै आएका छन् । मासुको मूल्य उच्च भएपछि किसानले जिउँदो कुखुराको उचित मूल्य पाउन सकेका छैनन् । बजारमा अन्य मासुको मूल्य उच्च भए पनि अण्डा र कुखुराको मासुको मूल्य कम भएको व्यवसायीको गुनासो छ ।रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.