आजदेखि किनमेलको विद्युतीय भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ता, सबै उपभोक्ताले यसरी लिन सक्छन् फाइदा

  २०७६ माघ २८ गते ११:४२     विकासन्युज

काठमाडौं । उपभोक्ताले दैनिक उपभोग्य बस्तु खरीद गर्दा पनि १० प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) फिर्ता पाइने भएको छ । भ्याट रकम फिर्ता पाउनको लागि भ्याटमा दर्ता भएकै हुनुपर्ने भने छैन । तर, भुक्तानी रकम भने विद्युतीय माध्यमबाट गर्नुपर्नेछ ।

आन्तरिक राजस्व विभागले १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्ने व्यवस्था मंगलबारबाट औपचारिक रूपमा सुरु गरेको छ । उपभोक्ताले मूल्य अभिबृद्धि कर लाग्ने वस्तु वा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य विद्युतीय उपकरणका माध्यमबाट भुक्तानी गरेमा फिर्ता हुनेछ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आजबाट सुरु गरेका हुन । चालु आर्थिक वर्षको बजेट बक्तव्य मार्फत घोषणा भएको भ्याट फिर्ता गर्ने कार्यक्रम बजेट आएको सात महिनाछि सुरु भएको हो ।

अर्थमन्त्री डा खतिवडाले विभागबाट तयार गरिएको प्रणालीमा उक्त सेवा उपलब्ध गराउन इच्छुक भई सूचीकृत भएका नेपाल इन्भेष्टमेण्ट बैंकको विद्युतीय भुक्तानी कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्कट एण्ड डिपार्टमेण्टलकाे त्रिपुरेश्वर शाखा तथा केकेएफसी न्यूराेड शाखाबाट कर लाग्ने वस्तु वा सेवा खरिद गर्ने उपभोक्ताहरुमा शुरु गरेका हुन् ।

विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताको खाताबाट बिक्रेताको बैंक खातामा र बिक्रेताको खाताबाट पुन: उपभोक्ताको बैंक खातामा रकम जम्मा हुने गरी प्रणालीमा सुधार गर्नु पर्ने भएकोले यो प्रणालीका मुख्य सरोकारवाला पक्ष जस्तै: विद्युतीय बीजक जारी गर्ने मूल्य अभिबृद्धि करमा दर्ता भएका बिक्रेता, भुक्तानी प्रणाली संचालक, भुक्तानी सेवा प्रदायक संस्थाहरुको सक्रिय सहयोग प्राप्त हुने विश्वास राखिएको छ ।

उक्त सेवा उपलब्ध गराउन इच्छुक भई सूचीकृत भएका फाेन पे, इसेवा, खल्ती, सेल पे, कनेक्ट आईपीएस जस्ता भुक्तानी प्रणाली संचालक तथा भुक्तानी सेवा प्रदायक संस्थासंग आवद्ध बिक्रेता तथा उपभोक्ताहरुमा पनि लागू गरिएको छ विभागले जानकारी दिएकाे छ ।

यस्तो प्रणालीगत सुधार गरेका बिक्रेताहरुबाट एक पटकमा १ हजार रूपैयाँदेखि १ लाख रूपैयाँसम्मकाे भ्याट लाग्ने वस्तु वा सेवाको खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरुले यो सुविधा उपभोग गर्न सक्नेछन्।यो व्यवस्थाले वस्तु वा सेवा खरिद बिक्री गर्दा बिल बीजक लिने दिने बानीमा थप सुधार हुने अपेक्षा विभागकाे छ ।

डेविट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा पाइदैन फिर्ता

आन्तरिक राजस्व विभागले तयार पारेको संरचना अनुसार भ्याट फिर्ता दिइनेछ । यसको लागि विभागले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा भ्याट फिर्ता दिने सम्बन्धी कार्यप्रक्रिया नै तयार पारेको छ ।

तत्कालका लागि भुक्तानी सेवा प्रदायक संस्था र केही बैंकको मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा मात्रै १० प्रतिशत भ्याट फिर्ता दिइने आन्तरिक राजस्व विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले जानकारी दिए । अहिलेसम्म सबैं यो सेवामा आवद्ध भइनसकेकोले सबैं बैंकको मोबाइल बैंकिङ भुक्तानीमा पनि भ्याट फिर्ताको व्यवस्था कार्यान्वयन हुन सकेको छैन ।

‘बैंकबाट सोझै भुक्तानीको व्यवस्था मिलाउन अन्तराष्ट्रिय भुक्तानी सेवा प्रदायक पनि जोडिनु पर्ने अवस्था आउने रहेछ, त्यसैले मोबाइल बैंकिङ र अन्य भुक्तानी सेवा प्रदायकबाट हुने भुक्तानीमा छुटको व्यवस्था कार्यान्वयन भइसकेको छ,’ उपमानिर्देशक पाण्डेले भने ।

बैंकको डेविट र क्रेडिट कार्डमार्फत हुने भुक्तानीमा भिसा, युनियन पे जस्ता अन्तराष्ट्रिय भुक्तानी सेवा प्रदायक सहभागी हुन्छन् । यसैकारण केही समस्या भएको विभागले जानकारी दिएको छ । तर, सामान बेच्ने विक्रेताले प्रयोग गरेको बैंक र ग्राहकले भुक्तानी गर्न प्रयोग गर्ने बैंकको कार्ड एउटै भएमा १० प्रतिशत भ्याट फिर्ता सुविधा भने पाइनेछ ।

तत्कालका लागि राष्ट्र बैंकबाट मान्यता प्राप्त वालेट र मोबाइल बैंकिङबाट हुने भुक्तानीमा भ्याट फिर्ता हुनेछ । सरकारले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न भ्याट फिर्ता सुविधा दिन सुरु गरेको हो । भ्याट फिर्ताका लागि बिक्रेताले विद्युतीय बिलको प्रयोग अनिवार्य गर्नुपर्नेछ । यस्तै बिक्रेता र उपभोक्ता पनि सेवा प्रदायकसँग जोडिनु पर्नेछ ।

भ्याट लाग्ने सामाग्री खरिदमा उपभोक्ताले बिल भुक्तानी गर्ने बित्तिकै क्यूआर कोडमा आधारमा खातामा रकम फिर्ता पाउनेछन् । विभागले बनाएको सफ्टवेयरले विद्युतीय बिलसँगै क्यूआर कोड आउने छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार देशभर मोबाइल बैंकिङ सेवा प्रयोग गर्नेहरू ९० लाख ९९ हजार ७ सय ३२ जना छन् भने इन्टरनेट बैंकिङको पहुँचमा ९ लाख २८ हजार ७ सय ९ जना छन् ।

साथै आजैदेखि करदाताहरुको बायोमेट्रिक सूचना दर्ता गर्ने कार्यको समेत शुभारम्भ गरिएको छ । जसमा प्राकृतिक व्यक्तिलाई स्थायी लेखा नम्बर जारी गर्दा, एकल स्वामित्वको फर्मलाई मूल्य अभिबृद्धि करमा दर्ता गर्दा व्यक्तिको बायोमेट्रिक सूचनाहरु लिई अभिलेखको रुपमा राखिनेछ ।

कुनै साझेदारी फर्म वा कम्पनीलाई मूल्य अभिबृद्धि करमा दर्ता गर्दा सो निकायको व्यवसायिक सूचनाका अतिरिक्त सो निकायको प्रमुख कार्यकारी व्यक्तिको बायोमेट्रिक सूचनाहरु लिई बायोमेट्रिक दर्ता प्रणालीमा अभिलेख रहने प्रणालीको विकास गरिएको छ ।

यो प्रणालीले करदाता दर्ता प्रणालीमा सुधार गरी गुणस्तरीयता कायम गर्ने र हाल मूल्य अभिबृद्धि करमा दर्ता रहेका करदाताहरुको विवरण क्रमश: नयाँ दर्ता प्रणालीमा अद्यावधिक हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.