नेपाल भ्रमण वर्ष सफल हुन्छ, पर्यटनले देशको मुहार फेर्छः सुरज वैद्य

  २०७६ माघ २७ गते १९:४५     विकासन्युज

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाइरहेको छ । सरकारले जसरी भ्रमण वर्षको घोषणा गर्यो, त्यही अनुसारको व्यवस्थापन र भौतिक पूर्वाधार भने निमार्ण गर्न सकेको छैन । नेपाल सरकार र भ्रमण वर्षको सचिवालयले अघि सारेका धेरै रणनीति र योजनाहरुबाट पछाडि हट्नु पर्यो । यस्तो अवस्था किन आयो ? पर्यटकीय गन्तव्यसम्म पुग्न के कस्ता पूर्वाधारहरु निर्माण भएका छन् ? र, नेपाल भ्रमण वर्षका चुनौतिहरु केके हुन् भन्ने जस्ता विषयमा नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज बैधसँग विकासन्युजका लागि सन्तोष रोकायाले कुराकानी गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न के कस्ता रणनीतिहरु अपनाउँदै हुनुहुन्छ ?

नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ । भ्रमण वर्षका लागि यतिले मात्र पुग्दैन । अहिले हामीले गर्न खोजेको नयाँ गन्तव्यहरु, नयाँ लगानी र नयाँ रोजगारी हो । हामीले नेपाली युवालाई रोजगारी प्रदान गर्न पनि आवश्यक छ । अहिले नेपालको सन्दर्भमा तीन वटै सरकार निर्माण भएका छन् । सातै प्रदेशहरुमा पर्यटक भित्र्याउनका लागि प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु र निजी पर्यटन व्यवसायीहरुको समन्वयमा नयाँ गन्तब्यहरु पनि सुरुवात गर्नतर्फ हामी लागि रहेका छौं ।

तपाईलाई के लाग्छ, नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक आउलान् त ?

यो २० लाख एउटा नम्बर मात्र हो । यो नम्बर महत्वपूर्ण छ । हामीले सन् २०२० लाई फुटबल खेल जस्तो नठानौं, जहाँ मान्छे आएर रंगशाला भरियोस् । नेपालको लगानी वृद्धिमा हामी अगाडि बढौं । विदेशीलाई नेपाल चिनाउनु पर्यो भन्ने हिसावले अगाडि बढ्नुपर्छ । नोबेल कोरोेना भाइरसको असर नेपाल भ्रमण वर्षमा अवश्य नै पर्छ । तर, पनि हामी यो वर्ष २० लाख पर्यटक अवश्य नै भित्र्याउँछौं ।

यसअघिका भ्रमण वर्षको अनुभव त्यति सन्तोषजनक छैन, यो वर्ष चाहिँ २० लाख पर्यटक भित्रिन्छन् भन्ने आधार के हो ?

पछिल्लो समय नेपाल सरकारले भौतिक पूर्वाधार निर्माणमा धेरै ध्यान दिएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानु भयो भने धरै परिवर्तन भएको देख्न सक्नुहुन्छ । पाँच महिना अगाडिको विमानस्थल र आजको विमानस्थलमा धेरै फरक छ । सरकारको प्रयास जारी नै छ । पूरा भएकौ छैन । पूरा गर्न तर्फ हमी लागिरहेका छौं । यो अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए हामीलाई सजिलो हुन्थ्यो । यो छिटो निर्माण हुन्छ भन्ने हाम्रो आशा छ । अर्को एक वर्षपछि पोखरा विमानस्थल पनि निर्माण भइसक्नेछ । यस्ता पूर्वाधारले नेपालको पर्यटन क्षेत्रलाई फड्को मार्न धेरै ठूलो सहयोग पुग्ने देखिन्छ ।

पहिलेको भ्रमण वर्षमा नम्बरलाई बढी प्राथमिकता लिएर काम गरिन्थ्यो । मैले भन्ने गर्छु, म एउटा व्यपारी हो । हल भर्ने काम म चाहन्नँ । किनकि हल आज भरिएर भोलि खाली भयो भने त्यसको औचित्य रहँदैन । हाम्रो लक्ष्य भनेको नेपालमा बढी नयाँ लगानी भित्र्याउने हो । रोजगारीका लागि नेपाली युुवा विदेशिरहेका छन् । नेपाली श्रमशक्तिले अन्य देशको होटल, अस्पताल बनिरहेको छ । अब नेपालीले नेपाल बनाउनु छ ।

त्यसैले नेपाल भ्रमण वर्षमा बढीभन्दा बढी युवालाई रोजगारी दिन र आफ्नै देशमा बसेर पर्यटन क्षेत्रमा लगाउनका लागि जोड दिन्छौं । पहिलेकोभन्दा भौतिक पूर्वाधारमा ध्यान दिएका छौं । त्यसले हाम्रो अपेक्षा अनुसारको पर्यटक आउँछन् भन्ने विश्वास हो ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्यो तर त्यसअनुसारको भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनमा ध्यान दिएन भन्ने पनि कुरा छ, तपाईले यसलाई कसरी लिनु भएको छ ?

हामीले गर्नु पर्ने धेरै नै छ । आशा गरौं कि यो स्थीर सरकारले नेपाल भ्रमण वर्ष २०२० मा मात्र होइन, आउने वर्षहरुमा पनि यसलाई निरन्तरता देओस् । तपाईले भन्नुभएको कुरा ठीक हो । नेपालका सडकहरु सुधार्न बाँकी नै छ । विकास भन्ने कुरा निरन्तर प्रक्रिया हो । सबै विषय २०२० मै हुन्छ भन्ने कुरा मलाई लाग्दैन । विभिन्न पर्यटकीय सम्पदाहरुमा जाने सडकहरुको विस्तार पनि भइरहेको छ । यसलाई निरन्तर अगाडि बढाउनु पर्छ । सरकारले विशेष पहल गर्नु पर्छ । प्रदेश सरकारको साथ पनि हामीलाई चाहिन्छ । उनीहरुबाट धेरै काम हुने सम्भावना म देख्छु ।

नेपालमा सबैभन्दा बढी पर्यटक आउने भनेको भारत र चीनबाट हो । कोरोना भाइरसको कारण चीनमा समस्या छ, केही समयअघि मात्रै मकवाननपुरको दामनमा ८ जना भारतीय पर्यटकको निसासिएर मृत्यु भयो, यसले पनि भारतमा नकारात्मक सन्देश प्रवाह भएको छ । यी दुई घटनाले नेपालको पर्यटनलाई कस्तो असर पार्छ ?

असर अवश्य नै पार्छ । पर्यटनका लागि नेपालको मात्र नभएर संसारकै लागि सबैभन्दा ठूलो मार्केट चीन नै हो । जतिबेला चीनको राष्ट्रपति नेपाल आउनु भएको थियो, उहाँले नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि चीन लाग्छ भन्नुभएको थियो । बुद्धिष्ट टुरिजमलाई बढाउँछु पनि भन्नु भएको थियो । त्यही आधारमा काम र लगानी पनि हामीले चीनमा गरेका थियौं । अहिले वार्षिक २ लाख चिनियाँ पर्यटक नेपाल आउँछन् । यो संख्या बढाएर ५ लाख बनाउनु छ । अहिलेको तीन महिना के हुन्छ भन्ने हामी हेरौं । कोरोना भाइरसले घटाउन त अवश्य नै घटाउँछ । संख्या घट्न नदिन हाम्रो प्रयास जारी नै छ । चीनलाई पर्यटनको एउटा मूख्य मार्केटका रुपमा हामी लिन्छौं ।

त्यसमा हामी अगाडि बढिरहेको छौं । भारतको सन्र्दभमा हामीले धेरै काम गरिसकेका छौं । भारतबाट पर्यटनको आगमन आवश्य नै बढ्छ । भारतबाट धार्मिक पर्यटकहरु ल्याउन फोकस गरिरहेका छौं । त्यसले गर्दा पर्यटक अवश्य नै बढ्छ । जुन अस्ति निसासिएर आठ जना पर्यटकको मृत्यु भएको थियो । त्यो अवश्य नै दुःखदायी छ ।

हामीले ‘क्वालिटी अफ सर्भिस’मा सुधार्नु पर्ने देखिन्छ । नेपाल सरकारले यसतर्फ ध्यान दिन जरुरी छ । हामीले पर्यटकलाई जुन किसिमको सुविधा दिनु पर्ने हो, त्यसमा पनि कमी भइरहेको छ भन्ने कुरा यो घटनाबाट पनि बुझ्न सकिन्छ । यसतर्फ सर्तक भएर काम गर्नुपर्छ भन्ने हामीले बुझिसकेका छौं । यो घटनाले पनि केही असर त पर्छ नै । तर, त्यस्तो खालको ठूलो असर पार्न सक्छ भन्ने मलाई लाग्दैन । दुर्घटना भन्ने विषय संसारमा हुने प्रक्रिया हो । तर, यो घटनाले नेपाललाई सुधार गर्नु पर्ने पाठ सिकाएको छ ।

यी दुई घटनाले नेपाली पर्यटन बजारलाई कतिसम्म घाटा गर्न सक्छ भन्ने केही पूर्वानुमान गर्नुभएको छ ?

अहिले नै कति असर गर्न सक्छ भन्न हामीलाई गाह्रो छ । जनवरी महिना चीनियाँहरुको छुट्टीको समय पनि हो । जब चिनियाँहरु विदेश जान्छन्, यसले केही न केही असर ल्याएको छ । त्यो असर नेपालमा पनि पर्छ । अब किटान गरेर यति नै असर र घाटा गर्न सक्छ भन्न गाह्रो छ । तीन महिनापछि के हुन्छ । हामीले भ्रमण वर्षका लागि जति नै काम गरेका छौं त्यो भन्दा दोव्बर चीनियाँ पर्यटक ल्याउन हामी अबको नौ महिनामा त्यसमा काम गर्छाैं।

नेपाल भ्रमण वर्ष सचिवालय जुन रणनीति र योजना लिएर अगाडि बढ्छ पुनः त्यसबाट पछि हट्नु परेको अवस्था छ, यस्तो किन भइरहेको छ, यो पूर्व–योजनाबिनै गरेको काम हो भन्न मिल्छ ?

हामी पछाडि हटेको छैनौं । विभिन्न ठाउँमा १ सय ८ यतीको मस्कट राख्ने हाम्रो चाहना हो । हामीले अहिलेसम्म २२ वटा बनाइसकेका छौं । कला बनाउन र सिर्जना गर्न धेरै समय लाग्छ । राम्रा–राम्रा कला भएका कलाकारहरुले यती बनाइरहेका छन् । यसलाई अगाडि नै बढाइरहेका छौं । निजी क्षेत्रले ओनरसीप गरेर लगानी गरिरहेको छ । भ्रमण वर्षले चाहेको अवस्थामा सहयोग पनि गरिरहेको छ ।

ठूलो रकम हामीले दिन सकेका छैनौं । तर, निजी क्षेत्रको यो प्रयास एकदम राम्रो छ । हरेक प्रदेशले एउटा यती माग गरिरहेको छ । हरेक कलेजले एउटा यती मागिरहेको छ । यसको माग बढ्दै गएको छ । हाम्रो एउटा यति भुटान गइसकेको छ । दोस्रो यती वासिन्टन डीसी जाने क्रममा छ । विदेशमा पठाउने काम पनि गरिरहेका छौं । यो आजको भोलि हुने होइन । तर, २०२० को अन्त्यसम्म १ सय ८ वटा यती बनाऔं भन्ने हाम्रो चाहना छ ।

तपाइले यती हटाइएको छैन भन्न खोज्नुभएको हो ?

हो, हामीले यती हटाएका छैनौं । हामीले स्थानीय व्यक्तिहरुको सेन्टीमेन्ट नबुझेको हुन सक्छ । मलाई लाग्दैन कि कलाकारहरुले जानी–जानी अथवा अरुको चित्त दुख्ने गरी यस्तो आर्ट गरेका हुन् । तर, केही गुनासो आए । हामीले कलाकारहरुसँग छलफल गरेर त्यसको समाधान पनि गर्यौं । अब आउने दिनमा यस्ता खालका कुराहरुलाई ध्यान दिएर काम गर्छौं । हामी पछि हटेका छैनौं । अहिले केही दिनका लागि पछाडि मात्र ल्याइएको हो । केही दिन पछि दरवार स्क्वायरमा हामी यती राख्दैछौं ।

यतीको विषयमा धेरैमा उत्सुकता छ, यती के हो ?

मलाई पनि थाहा छैन । हामीले यती कस्तो हुन्छ, आँखाले देखेका छैनौं । तर, यती भन्ने शब्द नेपालबाट सुरु भएको हो । हलिउड जस्ता सिनेमामा पनि यतीको प्रयोग भएको देखिन्छ । त्यसैले पनि हामी यसको महत्व बुझन् सक्छौं । तर, हामी नेपालीले यती बिर्सिसक्यौं । यो दु.ख लाग्दो कुरा हो । यतीमा सबैको इन्ट्रेस्ट छ । यती नेपालको हो । यती छ वा छैन भन्ने त्यो भोलिको कुरा हो । हामीले बनाएको यो एउटा आर्टिष्टको अवधारणा हो । यतिलाई एउटा जंगली जनावरका रुपमा हामीले देखेका छौं । हामीले बुझेको यती एउटा धार्मिक, शान्तिको प्रतिक हो जस्तो मलाई लाग्छ । हामीले एउटा स्प्रिच्युअल यती देखाउन खोजेका हौं । नेपालको पहिचान दिन र यो नेपालको हो भनेर चिनाउनका लागि प्रयोग गरिएको हो ।

धेरैले नेपाल भ्रमण वर्ष हतारमा घोषणा गरियो भनेर पनि भन्न थालेका छन्, तपाईलाई के लाग्छ , नेपाल भ्रमण वर्ष योजनाबद्ध रुपमा घोषणा भएको हो ?

यो सरकारको कार्यक्रम हो । नेपाल सरकारले देशको अर्थतन्त्रका लागि पर्यटन महत्वपूर्ण हो भन्ने ठान्छ । युवालाई रोजगार दिलाउने पर्यटन हो भनेर सरकारले बुझेको छ । जहाँसम्म समयको सन्र्दभमा छिटो होला तर यो राम्रो सुरुवात हो । हामीले सबै गर्न नसकौंला तर यसलाई निरन्तरता दिएको अवस्थामा नेपालको विकास गर्न सक्छ । म गाउँ–गाउँमा जान्छु, सबैको मुखबाट नेपाल भ्रमण वर्षको नाम सुन्छु । यो राम्रो पक्ष हो ।

नेपाल सरकारले भ्रमण वर्षलाई लक्षित गर्दै एक सय पर्यटकीय गन्तव्यहरु पनि सार्वजनिक गरेको छ, ती पर्यटकीय गन्तव्यसम्म पुग्नका लागि भौतिक पूर्वाधारको अवस्था चाहिँ कस्तो छ ?

अहिले हामी अझ नयाँ गन्तव्यहरु खोज्ने प्रक्रियामा नै छौं । विभिन्न विकट तथा दुर–दराज वस्ती तथा ठाउँहरुका भौतिक पूर्वाधार निर्माणको प्रक्रियामा छन् । नयाँ प्रडक्ड दिन खोजेका छौं । भ्रमण वर्षले एकै वर्षमा सबै पुर्याउँछ भन्ने मलाई लाग्दैन । तर, सुरुवात र छलफल गरी सम्भावना खोज्न सक्छौं । एउटा जोश अहिले अगाडि बढिरहेको छ । यो जोसलाई अगाडि बढाएर यसलाई ठाउँमा पुर्याइयो भने हाम्रो लक्ष्य पूरा हुन्छ ।

नेपाल भ्रमण वर्षको एक महिना बितिसकेको छ, यो अवधिमा अघिल्लो महिनाको तुलनामा पर्यटक आगमन घटेको देखिन्छन् , यसलाई भ्रमण वर्ष सचिवालयले कसरी लिएको छ ?

अवश्य नै घटेको छ । जनवरी महिना पर्यटकका लागि अफ सिजन नै हो । हामी यसप्रति त्यति चिन्तित छैनौं । हाम्रो सिजन मार्चबाट सुरु हुन्छ । मार्चमा अर्को अध्ययन गर्छौं । चीनमा फैलिएको कोरोना भाइरसका कारण पनि पर्यटक घटेका हुन् । तर, हामी चिन्तित छैनौं । हामी हाम्रो लक्ष्यलाई जसरी पनि सफल पार्छौं ।

भ्रमण वर्षको अवधिमा यो–यो काम गर्न सक्छु भनेर केही सोच्नु भएको छ ?

अब छिट्टै नै केही नयाँ पर्यटकीय गन्तव्यहरु स्थापना गर्ने सोचमा छौं । नयाँ लगानी भित्र्याएर युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने हाम्रो चाहना हो । नेपालीका छोराछोरी दैनिक विदेशिरहेका छन् । अहिले हामी रेमिट्यान्समा रमाइरहेका छौं । तर, दु.खको कुरा, दिनको तीन वटा नेपालीका लासहरु फर्किन्छन् । यसलाई घटाएर शुन्यमा पार्न सकियो भने त्यसमा सफलता हासिल गरेको मानिन्छ । नेपाली युवाले नेपाल छोड्न नपरोस् । नेपालमै काम गर्ने वातावरण होस् र पर्यटनमा नयाँ लगानी बढ्न सक्छ भन्ने आशा हामीले गरेका छौं । हाम्रा लागि सबैभन्दा बढी महत्वपूर्ण विषय यही हो ।

नेपाल भ्रमण वर्ष २०२० का चुनौतिहरु के–के छन् ?

संसारमा के हुन सक्छ हामी यतिकै भन्न सक्दैनौं । अनिश्चि रुपमा जे पनि हुन सक्छ । जस्तै, चीनको कारोना भाइरसको संक्रमणलाई लिऊँं । यो हामी कन्ट्रोल गर्न सक्दैनौं । तर, नेपालको सन्र्दभमा कुरा गर्दा हाम्रो देश सुन्दर छ । नेपालमा भएको स्रोत साधन प्रयोग गरेर पनि उल्लेख्य काम गर्न सक्छौं । यी कुराहरुलाई अगाडि लिएर काम गर्ने हो भने भ्रमण वर्ष सफल हुन्छ । तर, नभएका र नकारात्मक कुरालाई मात्र औंल्याउने हो भने हरेक क्षेत्रमा गाह्रो हुन्छ । लक्ष्य भेटाउन समय लाग्छ । चुनौति धेरै छन् । तर चुनौति छन् भन्दैमा पछि हट्दैनौं । हामी त्यो ठाउँमा पुग्छौं र नेपाललाई विकास गर्छांै भन्ने मनासायले अगाडि बढिरहेका छौं । हामी गर्न सक्छौं । अरुभन्दा हामी कम छैनौं । गरिब छैनौं । यही हिसाबले अगाडि बढ्यो भने सबै चिज ठीक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.