नेपाल लाइफ इन्स्योरेन्सको ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ सम्पन्न

  २०७६ माघ २७ गते १७:११     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ सम्पन्न गरेको छ । अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले कम्पनीले सो कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रमको उद्घाटन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले गरेका हुन् । कार्यक्रममा सीईओ झाले नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर भनेकै देशका कुनाकुनामा पुगेर जीवन बीमाका बारेमा सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको बताए । त्यसैले कम्पनीले सक्रिय अभिकर्ताहरु अझ बढाएर चालू आवमा दोब्बर गर्ने लक्ष्य राखेको उनले जानकारी दिए ।

बीमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने उनले बताए ।

सो अवसरमा सीईओ झाले बीमा गराउनुभन्दा पहिले बीमा गर्ने व्यक्तिको आर्थिक स्थिति बुझेर, जीवन बीमाको आवश्यकता महसुस गराएर मात्र बीमा गराउन सुझाव दिए । उनले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालिन लाभमा नेपाल लाइफले ध्यान दिने बताए ।

सीईओ झाले भने, ‘बीमा विश्वासमा हुन्छ, अभिकर्ताको बोलीमा हुन्छ, त्यसैले सबै अभिकर्ताले बीमा के हो र किन आवश्यक छ भन्ने चेतना आम नागरिकमा जगाउनुपर्छ । साथै बीमितको विश्वासमा आँच आउने काम गर्नु हुँदैन । त्यसपछि मात्र आम नागरिकमा बीमा गर्नुपर्छ भन्ने चेतनाको विकास हुन्छ, हरेक व्यक्ति बीमामा आवद्ध हुन चाहन्छन् र आफैं अभिकर्ताको खोजी गर्दै आउँनेछन् ।’

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले कम्पनीलाई यो अवस्थासम्म ल्याइ पुर्याउने श्रेय सम्पूर्ण अभिकर्ताहरुको रहेको बताए । सम्पूर्ण अभिकर्ताहरुले आम नागरिकलाई बीमाका बारेमा बुझाएर मात्र बीमा गराउन उनको सुझाव थियो ।

पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय समितिका अध्यक्ष नन्दप्रसाद तिवारीले अभिकर्ताहरु र कम्पनी दुवै पक्षको सहकार्यले नै कम्पनीले यो सफलता हात पारेको उनको दावी छ ।

कार्यक्रममा सगरमाथाको आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरिएको छ । । मिसन २०२० अन्तर्गत अन्नपूर्ण–१ चढ्ने तयारीमा रहेकी श्रेष्ठले आमादाब्लम, मनास्लु हिमालको सफल आरोहण गरिसकेकी छिन् ।

हाल कम्पनीको चुक्तापुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने लगानी ८२ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र सेयरधनी कोष ८ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

कम्पनीले यस आर्थिक वर्षको मध्य सम्ममा जम्मा १४ अर्ब ७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हालसम्म कम्पनीले २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.