क्लिन अप नेपालद्वारा देशव्यापी अभियान पुरस्कार वितरण

  २०७६ माघ २७ गते १२:५१     विकासन्युज

काठमाडौं । क्लिन अप नेपालले कमलपोखरीस्थित क्युएफएक्स कुमारीहलमा बिहीबार वार्षिक देशव्यापी अभियान अन्तर्गत पुरस्कार वितरण समारोह आयोजना गरेको छ । यस समारोह क्लिन अप नेपालका प्रत्येक वर्ष गर्ने देशव्यापी अभियान अन्तर्गत रहेको थियो ।

वर्ष २०७६ अन्तर्गतको देशव्यापी अभियानका लागि क्लिन अप नेपालले अन्तर विद्यालय पटकथा (नाटक) लेखन प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगिताको लागि नेपाल भरी रहेका ९ वटा विद्यालयले १७ वटा नाटक उपलब्ध गराएका थिए ।

उपलब्ध गराइएका १७ नाटक मध्य विजयी २ वटा नाटकको भिडियो निर्माण गरियो भने बाँकी रहेका १४ वटा नाटक महानगरीय ट्राफिक प्रहरी महाशाखामा रहेको मेट्रो एफएमले उपयोग गर्ने भएको छ । उक्त समारोह सोही नाटक लेखन प्रतियोगिताको विजेताताहरुलाई पुरस्कृत गर्न गरिएको थियो ।

समारोहमा क्लिन अप नेपालद्वारा आफूले संचालन गरिरहेको परियोजना नेपाल वेस्ट म्याप, जेरो वेस्ट इन स्कूल र प्रेसिअस प्लास्टिककोको बारेमा पनि प्रकाश पारिएको थियो । नाटक प्रतियोगिता अन्तर्गत भिडियो निर्माण गरिएको विजेता विद्यालयको नाटकलाई प्रिमियर गर्दै, तेश्रो विजयी नाटकलाई स्टेजमा बिमोचन पनि गरिएकाे थियो ।

सोही समारोहमा जेरो वेस्ट परियोजना अन्तर्गत आयोजना गरिएको वक्तृत्वकला र निबन्ध प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरिएको थियो । समारोहका प्रमुख अतिथि भू.पू. मन्त्री गणेश शाहले क्लिन अप नेपालले सबै वर्ग र समूहलाई समेटेर गरेको यस कार्यक्रममा आफू पनि सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै आउने दिनमा पनि यस्तै कार्यक्रम गर्न उपस्थित सबै माझ सुझाव दिनुका साथै आगामी दिनमा सहयोग चाहिएमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यस अभियानका सहयोगी दाता लक्ष्मी बैँक, वेस्ट कन्सर्न, टिम क्येस्ट, द एसिया फाउन्डेसन, महानगरीय ट्राफिक प्रहरी महाशाखा र अन्य संस्था तथा विद्यालय सहभागी थिए । लक्ष्मी बैँक र वेस्ट कन्सर्न यस वर्ष २०७६ देशव्यापी अभियानका मुख्य सहयोगी दाताहरु हून् ।

यस देशव्यापी अभियान, वर्ष २०६९ मा सरसफाई अभियानबाट सुरु गरिएको थियो र हाल सम्म यस अभियानको पहूँच अनुमानित १ लाख ६२ हजार सर्वसाधारण माझ पुगिसकेको छ ।साथसाथै यस अभियानबाट ४५ जिल्लाहरुमा रहेको १ हजार १ सय १ संकलन बिन्दुबाट करिब ६ लाख ५५ हजार किलो फोहोर संकलन गरिएको छ । यस अभियानका लागि क्लिन अप नेपालले करिब ३ सय सरोकारवालाहरुसँग साझेदारी र सहकार्य गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.