भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्न साढे ३ अर्ब आवश्यक

  २०७६ माघ २६ गते १४:३२     सन्ताेष राेकाया

काठमाडौं । भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाको पुन: निर्माण तथा संरक्षण गर्न ३ अर्ब ६३ करोड ६० हजार रुपैयाँ आवश्यक रहेको बताइएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागले भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनः निर्माण गर्न सो रकम आवश्यक रहेको बताएको हो ।

वि.स २०७२ को विनाशकारी भूकम्पबाट उपत्यकाका विश्व सम्पदा स्थललगायत भूकम्पबाट प्रभावित ३१ जिल्लाका  कुल ९ सय २० सम्पदाहरु पुन: निर्माण गर्न साे रकम आवश्यक रहेकाे हाे । क्षति भएका सम्पदाहरुमध्ये  हालसम्म ४ सय सम्पन्न भइसका छन् भने अन्यको काम तीव्र गतिमा भइरहेको विभागले जनाएको छ ।

विभागले चालु आर्थिक वर्षभित्र १ सय ५० वटा सम्पदाहरु संरक्षण तथा पुनः निर्माण गर्ने लक्ष्य लिएकोे विभागका निमित्त महानिर्देशक दामोदर गौतमले बताए । चालु आर्थिक वर्षसम्ममा ६० प्रतिशत कार्य सम्पन्न गर्ने र बाँकी ३ सय ७० वटा सम्पदाहरु (४० प्रतिशत) आगामी दुई आर्थिक वर्षसम्ममा पुनः निर्माण सम्पन्न गरिने गौतमले बताए ।

पुरातत्व विभागबाट निर्माण गरिने करिब ७ सय ३७ सम्पदाहरुको पुनः निर्माणका लागि ९ अर्ब १८ करोड ८७ लाख ७१ हजार रुपैयाँ आवश्यक रहेको थियो । आर्थिक वर्ष २०७५/०७६ सम्म विभागले २ अर्ब ३९ करोड ८२ लाख ४६ हजार खर्च गरेको जनाएको छ ।

चालु आर्थिक वर्षको बजेटमा नेपाल सरकारबाट ९६ करोड ७९ लाख, भारतीय अनुदान १ अर्ब ८३ करोड ९५ लाख, भारतीय एक्जिम बैंक १ अर्ब ९१ करोड २३ लाख र जापान सरकारबाट १३ करोड रुपैयाँ सहयोग भएको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षमा नेपाल सरकारको तर्फकाट सम्पदा पुनः निर्माणका लागि ९६ करोड ७९ लाख रुपैयाँ खर्च भएको बताएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा क्षति भएका सम्पदाहरुमा काठमाडौंमा क्षति भएका ३ सय १९ मध्ये ९९ सम्पदा सम्पन्न भइसकेका छन् भने १ सय ६८ चालु र ६० पुनः निर्माण गर्न बाँकी रहेका छन् ।

यस्तै , ललितपुरमा क्षति भएका १ सय २३ सम्पदाहरुमा ३० सम्पन्न भइसकेका छन् भने ५० चालु र ४३ पुनः निर्माण गर्न बाँकी रहेका छन् । भक्तपुरमा पनि ५ सय ४० सम्पदाहरु क्षति भएका थिए । तिनीहरुमा १ सय ६९ सम्पन्न भइसकेका छन् भने २ सय ५६ चालु र १ सय २३ पुनः निर्माण गर्न बाँकी रहेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्राईले क्षति भएका ती सम्पदाहरुको मौलिक स्वरुपलाई यथावत कायम राखी पुनःनिर्माण तथा संरक्षण गर्ने बताए । उनले पुनः निर्माणमा पहिलेकै सामग्री प्रयोग गर्ने बताए ।

पहिलेका सामग्रीहरु प्रयोग गर्न नसकिने अवस्थामा नयाँ सामग्री प्रयोग गरी पुरानै शैली र स्वरुपमा सम्पदालाई कायम गर्न सकिने उनकाे भनाइ छ ।

विश्व सम्पदालाई जोड्न साईकल लेन निमार्ण गरिने

मन्त्री भट्राईले विश्व सम्पदासूचिमा सूचिकृत भएका सम्पदाहरुलाई एक आपसमा जोड्न साईकल लेन निर्माण गर्ने बताएका छन् । उनले काठमाडौं उपत्यकाका सम्पदाहरुलाई एक आपसमा जोडी पर्यटकहरुका लागि सजिलो बनाउन साईकल लेन निर्माणको प्रक्रिया थालेको बताए ।

साईकल लेन निर्माणका लागि मन्त्रालयले योजना बनाइरहेको उनले बताए । विश्व सम्पदासूचिामा सूचिकृत भएका काठमाडौं उपत्यकाका सात सम्पदाहरुलाई एक आपसमा जोड्न यो काम गर्न थालिएको उनले बताए । हाल विश्व सम्पदा सूचिमा परेका काठमाडौं उपत्यकाका सम्पदाहरुमा हनुमान ढोका, पाटन दरवार स्क्वायर, स्वयम्भु, पशुपति, भक्तपुर, चाँगुनारायण, बौद्ध रहेका छन् ।

काठमाडौंमा ‘भ्याली बाई नाईट’को सुभारम्भ

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी काठमाडौंमा भ्याली बाई नाईट’को सुभारम्भ गरेको बताए । उनले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई लक्षित गरी काठमाडौंका सम्पदा स्थलहरुमा राति पनि बत्तीको सुविधा सुरु गरेको बताए ।

उनले काठमाडौंका विभिन्न दरवार तथा सम्पदाहरुमा राति पनि भ्रमण गर्न सकिने गरी व्यवस्थापन भइरहेको बताए । ‘भक्तपुर, पाटन, वसन्पुर लगायतका सम्पदाहरुमा राति पनि भ्रमण गर्न सकिने छ, हाल लाइटिङको प्रक्रिया भइरहेको छ त्यसपछि पर्यटकले राति पनि घुम्न सक्छन्,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.