किन यति स्थीर छ सिद्धार्थ बैंकको सेयर ? (समग्र विश्लेषण)

  २०७६ माघ २६ गते ११:०५     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकको सेयर मूल्य बैंकिङ क्षेत्रको समग्र परिसूचकभन्दा पनि स्थीर छ । बैंकको मूल्यको आधारमा गणना गरिएको बैंकको १ सय २७ दिनको स्ट्याण्डर्ड डेभिएसन १७.६२ छ । समग्र बैंकिङ सूचकको यही अवधिका स्ट्याण्डर्ड डेभिएसन ४३.२५ छ ।

सूचकको तुलनामा यस बैंकको सेयर मूल्य स्थिर देखिन्छ । बिगत १ वर्षमासमेत बैंकको सेयर मूल्यमा ८४ रुपैयाँ घटबढ छ । केडिया, अग्रवाल र तोदी समुहको प्रमुख लगानी रहेको सिद्धार्थ बैंकले सिद्धार्थ र रिलायन्स इन्स्यारेन्स कम्पनीको संस्थापक सेयरमा पनि लगानी गरेको छ । यस्तै परिवेशमा बैंकको समग्र अवस्था, सेयरको प्राविधिक लगायतको विश्लेषण प्रस्तुत गरिएको छ ।

सिद्धार्थ बैंक १८औं वाणिज्य बैंकको रुपमा मंसिर २०५९ बाट सञ्चालनमा आएको हो । बैंकले हालै १८ औं वर्ष पार गरेर १९ औं वर्षमा प्रवेश गरेको छ । बैंकले यसअघि विजनेश युनिभर्सल डेभलपमेन्ट बैंकलाई समेत मर्ज गरेको थियो ।

बीरगन्जमा आफ्नै भवनमा कार्यालय रहेर सञ्चालन भइरहेको यस बैंकले काठमाडौंमा प्रधान कार्यालयको लागिसमेत आफ्नै भवन बनाउन लागि परेको छ । बैंकको हाल १ सय ६७ शाखा, १ सय १ शाखा रहित बैंकिङ सेवम, १ सय ८२ वटा एटिएम र २ हजार ३० पस मेसिनमार्फत् वित्तीय सेवा दिइरहेको छ ।

– जनशक्ति खर्चमा उच्चवृद्धिले नाफामा प्रभाव

– बैंकमा केडिया, अग्रवाल र तोदी समूहको पकड

-अधिक बिक्री क्षेत्रमा बैंकको सेयर मूल्य

बैंकले सिद्धार्थ प्लाटिनम बचत खाता, सरल बचत खाता, सुपर स्यालरी खाता लगायतका निक्षेप खाता सञ्चालनमा छ । बैंकले निक्षेपमा ५.५ देखि ९.२५ प्रतिशतसम्म व्याजदर दिइरहेको छ । केही निक्षेप खातामा स्वास्थ्य, दुर्घटना बीमा जस्ता सुविधा दिएको छ । १०.०४ प्रतिशत बेस रेट रहेको बैंकले बिभिन्न कर्जामा थप १ प्रतिशतदेखि ६ प्रतिशत जोडेर व्याज लिने गरेको छ ।

लगानी समूह

बैंकमा केडिया समूह, अग्रवाल समूह र तोदी समूहको बाहुल्यता छ । गत वर्ष केडिया समूहले सेयर स्वामित्व केही बढाएको देखिन्छ । केडिया समूहको १४ प्रतिशतभन्दा केही बढी सेयर छ । बैंकको अध्यक्षमा केडिया समूहबाट मनोज कुमार केडियाले प्रतिनिधित्व गरिरहेका छन् । प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनीको प्रतिनिधत्व गर्दै केडिया समूह अध्यक्ष छन् ।

हाल बैंकमा २ सय ६० जना संस्थापक सेयरधनी र ६१ हजार २ सय ८० जना सर्वसाधारणको लगानी छ । सर्वसाधारणको बैंकमा ४९ प्रतिशत लगानी छ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा शम्भुनाथ गौतम छन् । उनले बार्षिक १ करोड ५१ लाख रुपैयाँ बुझ्छन् ।

अन्य लगानी

संस्थापक सेयरधनीको रुपमा बैंकले सिद्धार्थ इन्स्योरेन्समा ७ करोड ९४ लाख र रिलायन्स इन्स्योरेन्समा २६ करोड ४० लाख लगानी गरेको छ । सहायक कम्पनीको रुपमा सिद्धार्थ क्यापिटल रहेको छ ।

लाभांश

५ वर्षमा औसत २२.४९ प्रतिशतको लाभांश बाडेको यस बैंकले गत आवमा नाफा पछि २६.२६ प्रतिशत लाभांश बढेको छ । बैंकले १२ करोड २० लाख रुपैयाँ सेयर प्रिमियम लाभांश दिन खर्चिएको छ ।

बैंकले नाफाको आधारमा लगानीकर्तालाई दोस्रो त्रैमाशसम्ममा ५७ करोड ४९ लाख रुपैयाँ वितरण गर्न सक्ने उल्लेख गरेको छ । हालसम्म ५.८७ प्रतिशत लाभांश क्षमता छ । वर्षअन्त्यमा यो दरमा पक्कै बढ्ने छ । बैंकका बिभिन्न सेयर लगानीकर्ताले १ करोड ६३ लाख रुपैयाँ बुझेका छैनन् ।

गैरबैंकिङ सम्पत्तीको बिक्री

गत वर्ष ऋणी पशुपति प्रसाद बरालको नामको सकारेको गैरबैंकिङ सम्पत्ति बिक्री गरेको बैंकमा गत आव अन्त्यसम्ममा ९ व्यक्ति तथा संस्थाको १२ करोड ३३ लाख बिक्री गर्न बाँकी छ ।

दोस्रो त्रैमाशिक प्रगति

बैंकको कर्मचारी खर्चमा वृद्धि हुँदा चालु आवको दोस्रो त्रैमाशमा नाफा रकम ४ प्रतिशतले घटेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।

कुल कर्मचारी संख्या १ हजार ७ सय ६० जना रहेको बैंकको कर्मचारी खर्च ४५ प्रतिशतले बढेर १ अर्ब नाघेको छ । अन्य सञ्चालन खर्च, प्रशासनिक खर्च लगायत समेत बढेको छ । गैर सञ्चालन खर्च समेत बढेको छ ।

बैंकको व्याज आम्दानी भने २३ दशमलव ९२ प्रतिशतले बढेर ७ अर्ब ५४ करोड पुगेको छ । व्याज खर्चपनि २५ प्रतिशतले बढेको छ । तर, पनि बैंक २ अर्ब ७७ करोड खुद व्याज आम्दानी गर्न सफल भएको छ । यसमा २१ प्रतिशतको वृद्धि कायम छ ।

बैंकको पुँजी कोष पर्याप्तता अनुपात १२.८६ प्रतिशत रहेकोले नियामकीय प्रावधान (११ प्रतिशत) हाराहारी आइसकेको छ । बैंकको निक्षेप र प्राथमिक पुँजीको आधारमा जारी भएको कर्जाको अनुपात ७८.४१ प्रतिशत छ । बैंकले थप कर्जा लागनी गर्न सक्ने अवस्था कम हुँदै गएको छ ।

बैंकको जगेडा तथा सञ्चित कोष १७ प्रतिशतले घटेर ४ अर्ब ९६ करोड रुपैयाँमा सिमित भएको छ । बैंक पुँजी कोष लागत सामान्य घटेर ७.२७ मा सिमित भएको छ । बैंकले खराब कर्जाको आधारमा सो कर्जाको १ सय ५ प्रतिशत रकम राखेको छ । बैकले प्रावधान रकम ५२ करोड छ । यसमा ५६ प्रतिशतले वृद्धि भएको हो । खराब कर्जामा सामान्य सुधारभएर १ दशमलव ५५ मा सिमित भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी केही घटेर २१.५७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४.६५ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ५० रुपैयाँ छ ।

प्रावधिक विश्लेषण

परिसूचकभन्दा स्थीर

समग्र बैंकिङ परिसूचकको तुलनामा यस बैंकको मूल्य स्थीर रहने गरेको छ । मूल्यको आधारमा गणना गरिएको बैंकको १ सय २७ दिनको स्ट्याण्डर्ड डेभिएसन १७.६२ छ । समग्र बैंकिङ सूचकको यही अवधिका स्ट्याण्डर्ड डेभिएसन ४३.२५ छ । सूचकको तुलनामा यस बैंकको सेयर मूल्य स्थिर देखिन्छ ।

बिगत १ वर्षमा समेत बैंकको सेयर मूल्यमा ८४ रुपैयाँ घटबढ छ ।

मुभिङ एभरेजमा क्रस ओभर सम्भावना

सम्पिल मुभिङ एभरेज रेखामा हालै मात्र क्रमओभर हुन लागेको देखिन्छ । ७ दिने रेखाले २१ दिनेलाई काटेर माथि जान लागेको देखिन्छ । यसो भएमा मूल्य बुलिश प्रवृत्तिमा आएको संकेत गर्छ । यद्यपी सिद्धार्थ बैंकको हकमा यसको मूल्यमा चाँडोचाँडो क्रस ओभर भइरहेकोले यी दुई रेखालाई निगरानी गर्नुपर्ने देखिएको छ ।

पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा रहे एक महिनामा ३ सय ३५ मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे २ सय ९५ मा पहिलो टेवा पाउने देखाउँछ ।

अधिक बिक्री क्षेत्रमा

बैंकको सेयर अधिक बिक्री क्षेत्रमा आएको छ । १४ दिने आरएसआई स्केलको २६ मा आएको छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ ।

केही दिनदेखि लगातार घट्न थालेको बैंकको सेयर मूल्यले अन्तिम दुई दिनमा इनगल्फिङ बुलिश आकृति बनाएको छ । साना साना डोजी आकृति बनाएको छ । यसले लगानीकर्ताहरु मूल्यलाई लिएर अन्योलमा देखिएका छन् । लगानीको लागि केही समय कुर्नु सही हुने यसले देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.