नेपालमै तयार भयो बजाजको ‘डोमिनार ४००’, पहिले भन्दा ६० हजार सस्तो पर्ने

  २०७६ माघ २४ गते १९:२३     विकासन्युज

काठमाडाैं । नेपालका सडकमा गुड्ने अधिकांश मोटरसाइकलहरु भारतमा निर्माण भएका हुन्छन् भने बाँकी चाहिँ जापान, इटाली, अमेरिका लगायतका देशमा निर्माण भएका हुन्छन् । तर पछिल्ला समयमा विभिन्न ब्राण्डहरुले नेपालमै मोटरसाइकल एसेम्बल गर्ने प्लान्ट स्थापना गर्ने क्रम पनि बढ्दो छ । यसैमध्येको एउटा ब्राण्ड बजाजले आफ्नो पावरफुल र स्पोर्टी मोडेल ‘डोमिनार ४००’ लाई हालसालै मात्र नेपालमै एसेम्बल गरेर बिक्रीको लागि टेकुस्थित शोरुममा पनि पठाइसकेको छ ।

नेपालमै बनेको भएर नै यस बाइकको मूल्य भारतीय डोमिनार भन्दा सस्तो पर्न गएको छ । नेपालमा यसको मुल्य ५ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ जुन भारतीय डोमिनारको मूल्यभन्दा ६० हजार रुपैयाँले सस्तो हो ।

डोमिनार आफ्नो पावरफुल इञ्जिन, एग्रेशिभ लुक्स र टुरिङ्ग विशेषताहरुका लागि प्रख्यात रहेको छ । बजाजको नेपालका लागि आधिकारीक बिक्रेता एचएच बजाजले जनाए अनुसार डोमिनारमा पाइने उपरोक्त विशेषताहरु नेपालमा निर्मित डोमिनारमा पनि यथावत्नै रहेको छ । अझ भन्ने हो भने नेपाली डोमिनार र भारतीय डोमिनारमा केहि फरक नै नरहेको कुरा कम्पनीले जनाएको छ ।

डोमिनार एउटा नेकेड मोटरसाइकल हो जसमा ३७३.३ सीसीको इञ्जिन समावेस गरिएको छ भने सो इञ्जिनले ३४.५ बीएचपीको पावर र ३५ एनएमको टर्क उत्पादन गर्दछ । १३ लिटरको ट्याङ्क क्यापासिटी रहेको सो मोटरसाइकलमा डुअल च्यानल एबीएस पनि जडान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.