अनि महान् भइन् ‘अधिकृत साहेवकी श्रीमती’

  २०७६ माघ २४ गते १६:४१     सुनिता पुडासैनी

काठमाडौं । हातमा दुई चार पोका निम्की, खजुरी र फुरुनदाना लिएर पसल पसलमा जानु सुजिताको दैनिकी । पसलेवालाहरु कसैले किन्छन्, कसैले किन्दैनन् । यो क्रम चलि रहेको छ विगत १४ वर्षदेखि । काठमाडौंको चावहिल चोक नजिकै देखिन्छन् सुजिता पौडेल ।

२०६२ सालदेखि काठमाडौंको चावहिलमा बस्दै आएकी सुजिताको दैनिकी अलि पृथक छ । हुन त उनी अधिकृतकी श्रीमती । घरमा खान, लाउन र छोराछोरीलाई विद्यालय पढाउन पैसा पुग्छ ।

तर, उनलाई त्यतिले सन्तुष्टि मिलेन । उनले आफैले केही गर्ने योजनाका साथ काम गरिन् ।  त्यो काम थियो उनको निम्की, खजुरी र फुरुनदानाको व्यापार । सुरुमा उनका श्रीमानले पनि पत्याएनन् । सानो–सानो पाकेटहरु पसल–पसलमा लिएर विक्रि गर्नु सहज थिएन उनका लागि।

तर भन्छन् नी– ‘जहाँ इच्छा त्यहाँ उपाय’ सुजिताले पनि त्यही संकल्प लिएर अगाडि बढिन् र सुरु गरिन् निम्की, खजुरी र फुरुनदानाको व्यापार । अब सुरु भयो उनको पसल–पसलमा गएर अर्डर लिने काम ।

फुरुनदाना बनाउनका लागि उनले सुरुमा १५ हजारको सामग्री घरमा ल्याइन् । उनको दैनिकी दिनभर पसल–पसलमा गएर बित्थ्यो । कसैले किन्थे कसैले किन्थेन । कसैले किनेन भनेर पनि उनी निराश हन्थिनन् । किनकी उनको यात्रा लामो थियो ।

दिन महिना र वषौं बित्दै गए । उनको व्यापारले पनि काँचुली फेर्दै गयो । बजारमा उनी चिनन थालिन् । सबैले उनको व्यापार मन पराउन थाले । उनका श्रीमान अधिकृत थिए । उनका श्रीमान ृषि अनुसन्धान केन्द्र खुमलटारमा अधिकृतका रुपमा काम गर्थे ।

उनका श्रीमान अधिकृत भएकै कारण उनले धेरै कुरा पनि सुन्नु पर्यो । श्रीमान अधिकृत हुनुहुन्छ, यसरी पसल–पसलमा आएर सामान किन बेच्छौं ? भन्ने खालका प्रश्नहरु उनले जीवनमा धेरै खेप्नु पर्यो ।

‘छिमेकी र आफन्तहरुले अधिकृतको श्रीमती भएर पनि यस्तो काम गर्छौ भन्थे, म खिसिक्क हाँसेर प्रतिक्रिया दिन्थेँ, उनीहरुलाई मेरो केही जवाफ हुन्थेन,’ उनले भनिन् ।

आफुले कामलाई सानो ठूलो कहिल्यै नलिएको उनी बताउँछिन् । उनी बजारमा चिनिदै गइन् । उनका ग्राहक उनका प्रडक्ट मन पराउन थाले । माग पनि बढ्न थाल्यो । सुरु सुरुका दिनहरुमा मार्केटमा स्थापित हुन धेरै गाह्रो भएको उनले सुनाइन् । हाल उनको प्रडक्ट धेरैले मन पराउँछन् ।

हिजो अधिकृतको श्रीमती भएर पनि यस्तो काम गर्ने भन्नेहरु आजभोली उनलाई महान महिलाको ताज भिडाउँछन् ।
हाल सुजिताले स्तुती खाद्य प्रोडक्ट नाम गरेर एउटा घरेलु उद्योग खोलेकी छन् । करिब १० जना लाई पनि उनले आफ्नो उद्योगमा रोजगारी दिएकी छन् ।

हिजो अधिकृतकी श्रीमती भनेर गिज्याउनेहरु आजभोली सफल महिला उद्यमीको उपनाम दिने गरेको उनले बताइन् ।
सधैं कामप्रति झुकाव राखेर अगाडि बढे एकदिन अवश्य नै सफल भइने उनले बताइन् । वि.स २०३१ सालमा विरगञ्जमा जन्मिएकी सुजिता हाल सफल उद्यमीका नामले चिनिन्छिन् ।

उनी अहिले ४६ वर्ष भइन। तर, उनको काम प्रतिको जोश जाँगर भने उत्तिकै छ । फुरुनदाना, खजुरी, मिठेऔंठे, निम्कीलगायतका सामानको अर्डर लिन पसल–पसल जाने सुजिताको दैनिकी आज पनि निरन्तर छ । उनी समाजमा सबैको उदाहरण दिने पात्र बनेकी छन् ।

जनकपुरमै एसएलसी पास गरेकी उनले त्यस लगत्तै घरेलु तथा महिला उद्यमीले प्रदान गरेको तालिम लिइन् ।
एसएलसी पास भएसँगै उनले जनकपुरकै रारा बहुमुखी कलेजबाट कक्षा १२ पास गरिन् । बिबिएस पढ्दै उनको वि.स २०५३ सालमा सिन्धुलीका पुरुषोत्म खतिवडासँग विवाह भयो ।

जव विवाह भयो उनको अध्ययनले भने निरन्तरता पाउन सकेन । उनले काठमाडौंमै आएर हाल गरिरहेको व्यवसाय गर्न थालिन् । सुरुमा सबैले संकुचित नजरबाट हेरे पनि उनको काम निरन्तर अगाडि बढेकै कारण उनलाई सबैले अधिकृतकी महान श्रीमतीको संज्ञा दिन्छन् । हाल उनी सन्तुष्ट छिन् ।

१४ वर्ष अघिदेखि गरेको एउटा सानो व्यापारबाट एक उद्योगीको दर्जा पाएकी छिन् । विभिन्न महिला उद्यमी कार्यक्रममा जाँदा उनलाई एक पृथक तथा फरक नजरबाट हेर्ने गरेका छन् ।

नेपालको आर्थिक विकासका लागि घरेलु तथा महिला उद्यमीहरुको ठूलो योगदान छ । आफ्नो काममा निरन्तर नहड्बडाएर लागे सफलता हात पार्न सकिने उनी बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.