३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलन शुरु, अर्थमन्त्रीद्वारा उद्घाटन

  २०७६ माघ २४ गते १२:३६     विकासन्युज

काठमाडौं । नेपाल व्यवस्थापन संघले ३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलन आजदेखि शुरू गरेको छ । उक्त सम्मेलन अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका हुन् । नेपाल व्यवस्थापन संघले आफ्नो वार्षिक साधारण सभाको अवसरमा एक मुख्य विषयमा केन्द्रित रही राष्ट्रिय व्यवस्थापन सम्मेलनको आयोजना गर्दै आएको छ ।

यस वर्षको राष्ट्रिय व्यवस्थापन सम्मेलनको मुख्य बिषय तथ्यांक परिचालित निर्णय प्रक्रिया रहेको छ । व्यवसायिक शत्रको रुपमा रहने यस सम्मेलनमा चारवटा कार्यपत्रहरु प्रस्तुत भैरहेका छन् ।

व्यवसायिक शत्रमा तथ्यांक विद् डा. आशुतोषमणि दीक्षित र भारतको आदित्य विरला समूह द ग्रुप अफ एक्जुकेटिभ प्रेसिडेन्ट कर्पोरेट स्ट्राटेजी एण्ड विजनेसका डी शिवकुमारले अतिथि वक्ताको रुपमा र प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार असगर अलीले इन्टरनेट अफ थिङ्स, डिजिटल डाटा एण्ड बिजनेसः हाउ बिजनेस आर टकिङ एडभान्टेज अफ डाटा ड्राइभन डिसिजन मेकिङ विषयमा प्रस्तुति दिएका थिए ।

त्यसैगरी, विश्व बैक समूह(टीबीसी)का नेपाल म्यानेजर फ्रेन्च ब्रेस्टले एक्सपेरियन्स सेयरिङ अन डाटा ड्राइभन इकोनोमी, पब्लिक फाइनान्सियल म्यानेजमेन्ट एण्ड द वे फरवार्ड फर नेपाल विषयमा आफ्ना प्रस्तुति दिए ।

कार्यक्रममा नेपाल पर्यटन बोडको तर्फबाट पर्यटन प्रबर्धनमा व्यवस्थापकहरुको भूमिका र नेपाल भ्रमण वर्ष २०२० रोल अफ म्यानेजर इन टुरिजम प्रोमोशन एण्ड भिजिट नेपाल इयर २०२० का विषयमा प्रस्तुतीकरण दिइएको थियो ।

सम्मेलनको उद्घाटन गर्दैै प्रमुख अतिथि अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल व्यवस्थापन जर्नलको विमोचन पनि गरेका थिए । नेपाल व्यवस्थापन संघका सभापति तथा राष्ट्रिय योजना आयोगका सदस्य माननीय सुशील भट्टको सभापतित्वमा सञ्चालन भैरहेको राष्ट्रिय व्यवस्थापन सम्मेलन समारोहलाई प्रथम उपसभापति बमबहादुर मिश्रले स्वागत गरेका थिए उनले नेपाल व्यवस्थापन संघको संक्षिप्त परिचयसहित ब्यवस्थापन सम्मेलनको उद्देश्यमाथि प्रकाश पारे ।

उद्घाटन सम्मेलनको अवसरमा विश्व र नेपालको व्यवस्थापन विकासको परिदृष्य २०१९ नामक एक अनुसन्धानात्मक कृतिको पनि विमोचन हुनेछ । यसका विविध पक्षहरुको सम्बन्धमा व्यवस्थापन विज्ञ नरोत्तम अर्याल र प्रशन्न पोखरेलले प्रस्तुति दिनेछन् ।

सम्मेलनको समापनको अवसरमा प्रमुख अतिथि डा. युवराज खतिवडा र नेपाल व्यवस्थापन संघका सभापति तथा राष्ट्रिय योजना आयोगका माननीय सदस्य ई.सुशील भट्टले संबोधन गर्नुहुने कार्यक्रम छ ।

नेपाल व्यवस्थापन संघद्वारा आयोजित राष्ट्रिय व्यवस्थापन सम्मेलनको समापन पछि आजै, वार्षिक साधारण सभा र राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान कार्यक्रम, १९ औं कार्यसमितिको निर्वाचन र एशियाका राष्ट्रिय व्यवस्थापन संघहरुको छाता संगठनको रुपमा रहेको एशियाली व्यवस्थापन संघले एशियाली नेतृत्व पुरस्कार साँझको आयोजना गर्दैछ ।

नेपालका व्यवस्थापकहरुलाई संगठित गर्ने, उनीहरुको सामूहिक हित रक्षाको लागि आवश्यक नीति र नियमहरु बनाउने, व्यवस्थापकहरुको वृत्ति विकासका अवसरहरु सिर्जना गर्ने, विश्वमा प्रतिपादित व्यववस्थापनका नवीन सिद्धान्त, ज्ञान, सीप र अभ्यासहरुलाई अबलम्बन गर्दै संस्थाहरुमा सुव्यवस्थापनका माध्यमबाट सुशासन कायम गर्दै देशको आर्थिक तथा सामाजिक विकासलाई सघाउने उद्देश्यले २०३७ सालमा नेपाल व्यवस्थापन संघको स्थापना भएको हो ।

स्थापनाको ३९ वर्षको अवधिमा यस संघले राष्ट्रिय स्तरमा सरकारको नीति निर्माणका विभिन्न तहमा सल्लाहकारको भूमिका पनि प्राप्त गरेको छ भने अन्तर्राष्ट्रिय स्तरमा यसले विभिन्न ११ राष्ट्रका राष्ट्रिय व्यवस्थापन संघ तथा विभिन्न क्षेत्रीय व्यवस्थापन संघको सदस्यता प्राप्त गरी कार्यगत सम्बन्ध स्थापित गरेको छ ।

संघले आफ्नो भगिनी संस्थाको रुपमा व्यवस्थापन विकास केन्द्रको स्थापना गरेको छ ।
यसले अध्ययन,अनुसन्धान र परामर्शदाताको समेत काम गरेर संस्थाहरुको सुधार र आर्थिक सामाजिक विकासका प्रयासहरुलाई उपलब्धिमूलक बनाउन सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । त्यस्तै व्यवस्थापनको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले संघले व्यवस्थापन विकास क्याम्पस पनि सञ्चालन गर्दै आएको छ ।

इएमबीए स्तरको अध्यापनमार्फत दक्ष जनशक्ति उत्पादन गरेर नेपालको सार्वजनिक र निजी क्षेत्रलाई योग्य व्यवस्थापकहरु आपूर्ति गर्न यसले सघाइरहेको छ । यसबाहेक संघले आवश्यकता र मागमा आधारित भएर विभिन्न किसिमका अल्पकालीन र मध्यकालीन तालिमहरु पनि सञ्चालन गर्दै आइरहेको छ ।

संघले नीति निर्माण र कार्यान्वयनमा सघाउने अभिप्रायले स्थापना कालदेखि नै वार्षिक नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आम जनता र सरोकारवाला निकायका बीचमा संवाद गरी उपयुक्त सुझाव दिने उद्देश्यले पूर्व बजेट गोष्ठी र बजेट समीक्षा गोष्ठी गर्दै आएको छ । त्यसैगरी निजी क्षेत्र र आम नागरिकको जीवनमा असर गर्ने मौद्रिक नीतिका सम्बन्धमा पनि गोष्ठीहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.