बीमा क्षेत्रमा अर्काे तरंग ल्याउँदै नियामक, जोखिममा आधारित पुँजी लागू गरिँदै

  २०७६ माघ २३ गते १६:४०     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बजारमा ठूलो तरंग ल्याउन लागेको छ । अहिलेसम्म बीमा कम्पनीहरुको लागि गरिएको पुँजीको व्यवस्थामा व्यापक परिवर्तन हुन लागेको छ ।

समितिले तोकेअनुसारको पुँजी पुर्याए हुने अहिलेको व्यवस्था परिवर्तन गर्दै जोखिममा आधारित पुँजीको अवधारणा ल्याउन लागिएको हो । यसका लागि आवश्यक गृहकार्य भइरहेको समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले जानकारी दिए ।

‘अहिलेसम्म नियामकीय प्रावधान अनुसारको पुँजी तोक्ने गरिएको थियो, अहिले संसारभर जोखिममा आधारित पुँजीको अवधारणा कार्यान्वयनमा छ, त्यसैले अब हामी पनि जोखिममा आधारित पुँजीको व्यवस्था गर्न लागेका हौं,’ अध्यक्ष चापागाईंले भने ।

के हो जोखिममा आधारित पुँजी ?

अहिलेसम्म जीवन बीमा कम्पनीको लागि २ अर्ब र निर्जीवन बीमा कम्पनीको लागि १ अर्ब रुपैयाँ पुँजी भए हुन्थ्यो । यति पुँजीको आधारमा बीमा कम्पनीहरुले भेटेजति बीमा गर्थे ।

यस्तो व्यवस्था परिवर्तन गर्न लागिएको छ । बीमा समितिले कार्यान्वयन गर्न लागेको जोखिममा आधारित पुँजी व्यवस्थामा विशेष गरेर ५ प्रकारका जोखिम पहिचान गरिएको छ ।

यस्तो जाेखिममा बीमा जोखिम, कर्जा जोखिम, तरलता जोखिम, संचालन जोखिम र बजार जोखिम छन् । यस्ता जोखिमको लागि पुँजीको मात्रा तोकिने छ ।

यसमध्ये बीमा जोखिमलाई सल्भेन्सी मार्जिन अनुसार १ः१.५ तय भइसकेको छ । यो व्यवस्था अनुसार कुनै बीमा कम्पनीले १ अर्ब रुपैयाँको बीमा जोखिम लिने हो भने सो कम्पनीसँग १ अर्ब ५० करोड रुपैयाँ सम्पत्ति हुनुपर्नेछ ।

अन्य ४ प्रकारका जोखिममा पुँजीको आधार बीमा समितिले तोक्नेछ । कम्पनीले आफ्ना कर्मचारी वा अभिकर्तालाई दिएको ऋणको कारण उत्पन्न हुन सक्ने जोखिमलाई कर्जा जोखिम अन्तरगत राखिएको छ ।

यस्तै, तरलता अभावको कारण उत्पन्न हुन सक्ने जोखिमलाई तरलता जोखिम अन्तरगत राखिएको छ । कम्पनीको सुशासनको अवस्था कस्तो छ, व्यवस्थापन चुस्त ढंगले चलेको छ वा छैन भन्ने जस्ता विषयको अध्ययन गरेर समितिले संचालन जोखिम तय गर्नेछ ।

समितिले पहिचान गरेको अर्काे जोखिम बजार जोखिम हो । बजारमा उत्पन्न हुन सक्ने जोखिमको लागि थप पुँजीको व्यवस्था गर्न लागिएको छ ।

जोखिममा आधारित पुँजीको व्यवस्थापछि कम्पनीहरु थप बलियो हुने र बीमा क्षेत्रप्रति सर्वसाधारणको विश्वास बढेर बीमाको दायरा बृद्धि हुने समितिको भनाइ छ । याे व्यवस्था जीवन र निर्जीवन दुबै प्रकारकाे व्यवसाय गर्ने कम्पनीमा लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.