बजार घट्दा तीन कम्पनीको मूल्यमा लाग्याे सर्किट ब्रेक

  २०७६ माघ २३ गते १५:३५     विकासन्युज

काठमाडौं । बिहीबारको सेयर बजार ८.६७ अंकले घटेर १३३३.६९ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६५ प्रतिशतले घटेको हो । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.८७ अंकले घटेर २८४.०५ अंकमा झरेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार एक अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार एक अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार दिनभरको बजारमा १७५ कम्पनीको २८ लाख एक हजार ८०३ कित्ता सेयर किनबेच भएको छ ।

बजारमा बढी कारोबार गर्नेको अग्रस्थानमा अधिकांश बीमा कम्पनीहरु रहेका छन् । सबैभन्दा बढी गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

बिहीबार जीवन बीमा र उत्पादनमूलक दुई समूहबाहेक बाँकी समूह राताम्मे देखिएका छन् । निर्जीवन बीमा समूह ८८, होटल २५, माइक्रोफाइनान्स १७, विकास बैंक ११ र बाँकी समूह सामान्य अंकले घटेका छन् । जीवन बीमा र उत्पादनमूलक समूह क्रमशः २३.८७ र १.६७ अंकले उकालो लागेका छन् ।

परिसूचक र कारोबार रकम दुबै घटेको बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट ब्रेक लागेको छ । ग्रीन डेभलपमेन्ट बैंकका र सम्वृद्धि फाइनान्स दुबै संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले करिब १० प्रतिशत अर्थात ९.९७ प्रतिशत कमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.