साढे २ लाख कम्पनीलाई नियमन गर्ने निकायमा न प्रमुख छन्, न दरबन्दी अनुसार कर्मचारी नै

  २०७६ माघ २३ गते १२:३२     राजाराम न्यौपाने

काठमाडौं । देशभरका कम्पनीहरुलाई नियमन गर्ने निकाय कम्पनी रजिष्ट्रार कार्यालय करिब १ महिनादेखि प्रमुख विहीन छ । निमित्त रजिष्ट्रार अजुनप्रसाद खनालले कम्पनी रजिष्ट्रार कार्यालय सञ्चालन गरिरहेका छन् ।

पुस २८ गते कम्पनी रजिष्ट्रार भुवनहरि अर्याल मन्त्रालयमा तानिए। कम्पनी रजिष्ट्रार कार्यालयमा अजुनप्रसाद खनालले नै कम्पनी रजिष्ट्रारको काम गरिरहेका छन् ।

नेपालमा २ लाख ३१ हजार कम्पनी दर्ता भएका छन् । जसमध्ये सबैभन्दा धेरै प्राइभेट कम्पनी दर्ता भएका छन् । प्राइभेट कम्पनी २ लाख ३१ हजार, पब्लिक १ हजार ८ सय, विदेशी ३ सय र नाफा वितरण नगर्ने २ हजार ८ सय कम्पनी दर्ता रहेको कम्पनी कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सन्तोस दाहालले बताए ।

कम्पनी रजिष्ट्रार कार्यलयमा ५६ जना कर्मचारीको दरबन्दी रहेकोमा ४० जना मात्रै कर्मचारी छन् । १४ जनाको अधिकृत दरबन्दीमा ७ जना र ३ जनाको दरबन्दी रहेको कम्प्युटर इन्जिनियरमा १ जना पनि छैनन् । ५ जना उप रजिष्ट्रारको दरबन्दीमा ३ जना मात्रै छन् ।

‘५ जना सहायक रजिष्ट्रारको सुरुवा भएर कम्पनी रजिष्ट्रारमा पत्र आएको १ महिना भइसक्यो तर ४ जना सहायक रजिष्ट्रार कार्यालयमा आएका छैनन् । ५ जनाको पत्र आएकोमा १ जना मात्रै कर्मचारी आएका छन्’, दाहालले भने ।

किन आउन मान्दैनन् कर्मचारी ?

‘सरकारी कार्यालयमा कुनै काम गराउन जानु पर्यो भने घुस बिना कामै हुँदैन’– सर्वसाधारण सेवाग्राहीबाट यस्तो गुनासो पटक पटक आउने गरेको छ ।

भन्सार, मालपोत जस्ता कार्यालय घुस अड्डाका रुपमा बदनाम छन् । यस्तै घुसखोरी हुने कार्यालयका रुपमा कम्पनी रजिष्ट्रार कार्यालय पनि थपिएको छ । भ्रष्टाचारको आरोपमा उक्त कार्यालयबाट महिनैपिच्छे कर्मचारी पक्राउ पर्न थालेका छन् ।

कार्तिक महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त कार्यालयका दुई जना सहायक रजिष्ट्रारलाई छलफलका लागि बोलायो । अख्तियारले उनीहरु माथि अनुसन्धान थालिएको पत्र कम्पनी रजिष्ट्रार कार्यालयलाई पठाएको छ ।

अनुसन्धानका लागि अख्तियारले कम्पनी रजिष्ट्रार कार्यालयमै कार्यरत सहायक रजिष्ट्रार सीताराम खड्का र हाल उद्योग मन्त्रालयमा कार्यरत अर्का सहायक रजिष्ट्रार टंक भट्टराईलाई  कार्यालयमा बोलाएको थियो ।

सहायक रजिष्ट्रार खड्काले आर्थिक चलखेल गर्दै १ महिनामा नै करिब १ हजार फाइलको काम गरेको स्रोतले बतायो ।

पछिल्लो समय कार्यालयमा मौलाएको घुस प्रकरणले कम्पनी रजिष्ट्रार कार्यालयमा काम गर्छु भन्न पनि लाज लाग्ने अवस्था आएको सोही कार्यालयमा कार्यरत एक कर्मचारीले बताए ।

‘मैले उद्योग मन्त्रालयमा काम गर्छु भन्ने गरेको छु,’ उनले भने ।

तर, दाहालले भने कामको चाप धेरै भएकोले कर्मचारी आउन नमानेको बताए ।

यस्तो छ घुस काण्डको श्रृंखला 

गत माघ १ गते रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थी घुससहित पक्राउ परेकी थिइन् । उनले दर्ता रहेको स्कुलको कर तिर्न जाने सेवाग्राहीसँग राजस्व रकम कम गरिदिने भन्दै एक लाख रुपैयाँ घुस लिएकी थिइन् ।

यसअघि गत २८ मंसिरमा सोही कार्यालयमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई अख्तियारले पक्राउ गरेको थियो । उनले सेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिएका थिए ।

यसैगरी, गत ११ असोजमा अख्तियारले कार्यालयकै उप रजिष्ट्रारद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । शंकर इलेक्ट्रिकल इन्डष्ट्रिज प्रालिका सञ्चालक निरञ्जन जटियालाई कार्यालयमा उपस्थित नगराई स्वामित्व हस्तान्तरण गरेको आरोपमा उनीहरूलाई अख्तियारले पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.