देशभरका ५४ विमानस्थलः कुन विमानस्थल कस्तो अवस्थामा ?

  २०७६ माघ २२ गते १८:३८     सन्ताेष राेकाया

काठमाडौं । सरकारले पर्यटन प्रवद्र्धनका लागि विमानस्थलको स्तरोन्नतीमा तिव्रता दिएको छ । पछिल्लो समय सरकारले देशभरका ५४ विमानस्थलको विस्तार तथा स्तरोन्नतीमा तिव्रता दिएको हो ।

देशभर रहेका ५४ विमानस्थलहरुमध्ये कुनै निर्माणको प्रक्रियामा छन् भने कुनै निर्माण भइसकेका छन् । निर्माण भइसकेका कतिपय विमानस्थलहरु भौगलिक कठिनाई, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा नियमित रुपमा सञ्चालनमा आउन सकेका छैनन्।

अहिले देशका सातवटै प्रदेशमा हवाई सुविधा  छ । मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भएपनि यसका चुनौती भने यथावथ छन् । अधिकाशं जिल्लामा विमानस्थल निर्माण भएका छन् तर ति विमानस्थलहरु प्रभावकारी रुपमा सञ्चालनमा आउन नसक्नु समस्याका रुपमा रहदैं आएको छ ।

विमानस्थल निर्माण भएका ठाउँहरुको भौगलिक कठिनाई, जनसंख्याको चापको कमि, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी र नियमित बन्न नसेको नियामक निकाय बताउँछन् ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले बुधबार देशभरका विमानस्थलहरुको बारेमा जानकारी गराउँदै सरकारले विमानस्थल स्तरोन्नतीमा बढी प्राथमिकता दिएको बताएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले प्राधिकरणले पछिल्लो साढे दुई वर्षमा हवाई पूर्वाधारमा मात्र ८९ अर्ब रुपैयाँ र जग्गा प्राप्तीमा ३३ अर्ब रुपैयाँ खर्च भएको बताए ।

अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणमा भने ४९ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।
आन्तरिक विमानस्थलतर्फ साढे दुई वर्षमा जग्गा प्राप्तीमा १ अर्ब र पूर्वाधार निर्माणमा ६ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।

५ वर्षमा ३ खर्ब ३५ अर्ब लगानी गर्ने

सरकारले आगामी ५ वर्षभित्र विमानस्थलको स्तरोन्नतीका लागि ३ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गर्ने बताएको छ । नेपाल उड्डयन प्राधिकरणले देशको देशको हवाई पूर्वाधार र त्यसको निर्माणका लागि सो रकम खर्च हुने बताएको हो ।

प्राधिकरणले गर्दै आएको काम र आगामी गर्ने कामको बारेमा जानकारी गराउँदै प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले आगामी ५ वर्षभित्र अन्तराष्ट्रिय हवाई पूर्वाधारतर्फ २ खर्ब ५० अर्ब रुपैयाँ खर्च गर्ने योजना भएको बताए ।
। त्यसमा १ खर्ब ५० अर्ब रुपैयाँ निजगढ विमानस्थलको पहिलो चरणको काम सम्पन्न गर्नमा हुनेछ ।

यस्तै, आन्तरिकतर्फ हवाई पूर्वाधार निर्माणमा ४६ अर्ब रुपैयाँ खर्च हुने भएको छ । जग्गा अधिग्रहणका लागि भने आगामी ५ वर्षभित्र आन्तरिक विमानस्थलका लागि ३४ अर्ब ६० करोड रुपैयाँ लागत लाग्ने भएको छ ।

यो रकम विराटनगर, नेपालगन्ज, धनगढी र महेन्द्रनगर विमानस्थललाई क्षेत्रिय अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमा रुपान्तरण गर्न खर्च हुने प्राधिकरणले जनाएको छ । यस्तै अन्तर्राष्ट्रियतर्फ जग्गा प्राप्तीमा ५ अर्ब रुपैयाँ खर्च हुने अधिकारीले बताए ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले तराईका विमानस्थल विस्तार, दुर्गमका विमानस्थलमा रनवेलाई नियमित मर्मत गर्ने गरी काम भइरहेको बताए । विभिन्न विमानस्थलमा टर्मिनल बिल्डिङ निर्माण गर्ने काम पनि भइरहेको उनले बताए ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार हाल देशभर ५४ विमानस्थल मध्ये ३३ वटा सञ्चालनमा छन् भने १६ वटा विमानस्थल बन्द अवस्थामा छन् । हाल देशमा एक अन्तराष्ट्रिय विमानस्थल, चार डोमेस्टिक हब विमानस्थल र ४४ घरेलु विमानस्थलहरु रहेका छन् । जसमा ६ वटा डोमेस्टिक र तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माणाधीन अवस्थामा छन् ।

तीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन

सरकारले तीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाे छ । सरकारले अहिले  त्रिभुवन, नीजगढ र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाे छ । यस सँगै पोखरा क्षेत्रिय विमानस्थल पनि निर्माण भइरहेकाे छ ।

हाल गौतमबुद्धकाे भाैतिक प्रगति ८५ प्रतिशत र ५५ प्रतिशत वित्तीय प्रगति भएकाे जनाइएकाे छ । यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तराेन्नती गर्ने विभिन्न कार्य सकिएकाे  छ भने केही काम गर्न बाँकी रहेकाे बताइएकाे  छ । नीजगढ विमानस्थलकाे भने जग्गा अधिग्रहणको र मुआब्जा दिने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

यस्तै, पाेखरा क्षेत्रिय विमानस्थलकाे पनि निर्माण कार्य भइरहेकाे छ । याे विमानस्थल पनि समायावधि भित्रै सकिने बताइएकाे छ ।

देशभरका विमानस्थलहरु मध्ये ३३ विमानस्थल मात्र कालोपत्रे भएका छन् । हाल बैतडी, बझाङ, डोल्पा, मसिनेचौर, डोटी, कलिकोट र लामिडाँडा विमानस्थल कालोपत्रे भइरहेका छन् । यस्तै,  रात्री उडान सुविधा रहेका विमानस्थलहरु मध्ये त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, बिराटनगर, चन्द्रगढी, धनगढी, गौतमबुद्ध भैरहवा, नेपालगञ्ज र सिमरा रहेका छन् भने अन्यमा रात्री उडान गर्न सक्ने प्रविधी छैन ।

१६ विमानस्थल बन्द अवस्थामा

हाल देशभर १६ वटा विमानस्थलहरु बन्द अवस्थामा छन् । बन्द अवस्थामा रहेका विमानस्थलहरुमा बैतडी विमानस्थल, बझाङको चैनपुर विमानस्थल, दार्चुला विमानस्थल, ढोरपाटन विमानस्थल, डोल्पा मासिनेचौर विमानस्थल र डोटी विमानस्थल रहेका छन् ।

यस्तै जीरी विमानस्थल,कंगेलडाँडाँ, लाङटाङ विमानस्थल, मनाङ विमानस्थल, मेघौली विमानस्थल, कञ्चनपुरको महेन्द्रनगर विमानस्थल र पालुङटार विमानस्थल बन्द अवस्थामा रहेका छन् । रोल्पा विमानस्थल, स्याङबोचे विमानस्थल र टीकापुर विमानस्थल पनि हाल बन्द अवस्थामा छन् ।

जुन विमानस्थलहरुमा हवाई सुविधा नियमित भए पर्यटकहरु बढ्नेसँगै त्यहाँको आर्थिक तथा भौतिक अवस्थामा सुधार हुने अवस्था छ । महानिर्देशक पाेखरेलले  अब तिनीहरुको निर्माण प्रक्रिया सकेर छिट्टै नै सञ्चालनमा ल्याउने बताए । बन्द भएका कतिपय विमानस्थलमा परिक्षण उडान गरेर पनि निर्माणको कार्य सुरु भइसकेको उनले बताए ।

कुन प्रदेशमा कति विमानस्थल ?
हाल देशका सबै प्रदेशमा विमानस्थलको पहुँच छ । विमानस्थलहरु हुँदाहुँदै पनि नियमित हवाई सुविधा नहुँदा स्थानिय नागरिकहरुलेसँगै पर्यटकहरुले पनि सास्ती खेप्नु पर्ने अवस्था छ ।

प्रदेश एकमा १२ विमानस्थल, प्रदेश दुईमा तीन विमानस्थल , प्रदेश तीनमा ६ विमानस्थल, गण्डकी प्रदेशमा पाँच विमानस्थल, प्रदेश पाँचमा पाँच विमानस्थल, कर्णाली प्रदेशमा नौ विमानस्थल र सुदूरपश्चिम प्रदेशमा नौ वटा विमानस्थलहरु रहेका छन् ।

भौगलिक र अतिरिक्त सुविधाका रुपले विकट मानिने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि जिल्लापिच्छे विमानस्थल भएपनि तिनीहरु सञ्चालनमा भने आउन सकेका छैनन् । कर्णाली प्रदेशका सबै जिल्लाहरुमा मोटरबाटो पुग्न सकेको छैन ।

ती विमानस्थलहरु विमानस्थलमा मात्रै सिमित छन् । कर्णालीका ९ वटा विमानस्थलहरुमा अहिले पनि नियमित उडान नहुँदा त्यहाँका स्थानियहरु समस्यामा छन् । सर्वसाधरणका लागि सहुलियत दरमा हवाई भाडा र भरपर्दो सेवा भने अझै पुगिसकेको छैन ।

कर्णाली प्रदेशका विमानस्थलहरु हुम्लाको सिमिकोट,जुम्ला विमानस्थल,सुर्खेत विमानस्थल, रुकुमको सल्ले विमानस्थल, रुकुमको चौरजहारी विमानस्थल, डोल्पा विमानस्थल, मुगुको रारा विमानस्थल अहिले सञ्चालनमा भएपनि नियमित उडान भने भर्न सकेको छैनन् ।

यस्तै, सुदूरपञ्चिमका विमानस्थलको हालत पनि त्यस्तै छ । सुदूरपश्चिमका विमानस्थलहरु मध्ये कैलालीको धनगढी, अछामको साँफेबगर र बाजुराको कोल्टी विमानस्थल सञ्चालनमा छन् । जसमा धनगढी विमानस्थल नियमित रुपमा उडान भर्दै आएको छ भने साँफेबगर र बाजुरको कोल्टी विमानस्थलले नियमित रुपमा उडान भर्न सकेका छैनन् ।

दार्चुलाको गोकुलेश्वर, डोटीको दिपायल,अछामको कमल बजार, बझाङको चैनपुर, बैतडीको पाटन, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टिकापुर विमानस्थल बन्द अवस्थामा छन् । सुदूरपश्चिमा नेपालकै सुन्दर ठाउँ खप्तड, बडिमालिका, अपि, साइपाल, मानसरोवर लगायतका पर्यटकिय स्थलहरु भएपनि त्यहाँ पुग्न हवाई सुविधा नहुँदा विदेशी पर्यटकहरुलाई गन्तव्यमा पुग्न समस्या हुने गरेको छ ।

वार्षिक एक करोड विदेशी पर्यटक ल्याउने गरी पूर्वाधार निर्माण भइरहेको छ: मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वार्षिक एक करोड विदेशी पर्यटक ल्याउने गरी सरकारले पूर्वाधार निर्माणमा काम गरिरहेको बताएका छन्। प्राधिकरणकाे उक्त कार्यक्रममा बाेल्दै  उनले सरकारले विमानस्थलाई प्राथमिकताका साथ हरेर पूर्वाधारमा काम गरिरहेको बताएका हुन्।

आउने पाँच वर्षमा नागरिक उड्यनमा ठूलो क्रान्ति गर्छौं,अहिले हामी चीनको उदाहरण दिन्छौँ, हामीले पनि १८ महिनामा गर्ने काम ५ महिनामा गरेका छौँ,’ उनले भने ।

मन्त्री भट्टराईले अबको पाँच वर्षभित्र निजगढ विमानस्थल सञ्चालनमा ल्याउने गरी काम गर्ने बताए । निजगढ विमानस्थल अबको पाँच वर्षभित्र सञ्चालन गर्ने योजना छ। यो गेमचेन्जर आयोजना होु, उनले भने ।

हवाई सुविधाको कमिले पनि आन्तरिक र बाह्य पर्यटकहरुको आगमन को संख्या न्युन छ । देशभर ५४ वटा विमानस्थलहरु भएपनि तिनीहरु सञ्चालनमा नआउँदा देशको भौतिक पक्षमा प्रभाव परेको छ । देशका सुन्दर पर्यटकीय स्थलहरुसम्म हवाई सुविधा नपुग्दा पर्यटन क्षेत्रमा धेरै प्रभाव परेको छ ।

विदेशी पर्यटकहरुको आगमन तथा यात्रा गर्ने महत्वपूर्ण साधन हवाई भएपनि देशका सुन्दर तथा पर्यटकीय स्थलहरुमा हवाई सेवा नहुँदा पर्यटकहरुलाई समेत समस्या हुने गरेको छ । नेपाल सरकारले यतखेर भ्रमण वर्ष २०२० काे सुरुवात गरेकाे छ ।

मुलुका सुन्दर पर्यटकीय स्थलहरुसम्म हवाई सेवा नपुगेकाेले पनि भ्रमण वर्षलाई नकरात्मक प्रभाव पार्न सक्ने अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.