एमसीसी विवादकाे असर टीफामा, अमेरिकासँगको व्यापार तथा लगानी अनिश्चित हुदै

  २०७६ माघ २२ गते १७:००     राजाराम न्यौपाने

काठमाडौं । नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे विवाद बढ्दै गएपछि अमेरिकासँगको ट्रेड एन्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टीफा) वार्ता अनिश्चित बनेको छ ।

नेपालमा हुने टीफा वार्ताको लागि अमेरिकाले चासो राख्न छाडेको हो । नेपालमा हुने द्विपक्षीय वार्तामा अमेरिकाले चासो नदिएपछि वार्ता नै अनिश्चित बन्दै गएको छ ।

सन् २०१९ मा नै हुनुपर्ने टीफा वार्ता नेपालमा एमसीसीबारेको विवाद चर्कंदै गएपछि अनिश्चित बनेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरू बताउँन थालेका छन् ।

‘सन् २०१९ को नाभेम्बरमा सम्पन्न गर्ने भनिएको बैठक सरेर डिसेम्बरमा पुग्याे तर, भनेको समयमा वार्ता भएन र फेरि सारेर फेब्रुअरीमा पुगेको बैठक अब अनिश्चित बनेको छ,’ मन्त्रालयका एक अधिकारीले भने ।

व्यापार विस्तार गर्ने र लगानी प्रबद्र्धन गर्ने लक्ष्यसहित अमेरिकासँग भएको सहमतिबाट नेपालले खासै लाभ लिन नसकेको उनकाे भनाइ छ ।

एमसीसीको विवाद चर्कनुभन्दा अघि अमेरिका टीफा वार्ता समयमै सम्पन्न गर्न तयार थियो । अमेरिकी प्रतिनिधिहरुले मन्त्रालयमै आएर अमेरिका वार्ताका लागि तयार रहेको बताउने गरेका थिए । अमेरिकाबाट ट्रेड एन्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्टमा आउने प्रतिनिधिले नेपालका मुख्य सहरहरु समेत घुम्ने योजनासमेत सुनाएका थिए । वार्ताको मिति सरेपछि बैठक गर्ने विषयमा अमेरिकी प्रतिनिधिहरुले कुनै चासो देखाएका छैन्न ।

मन्त्रालयका अधिकारीहरू अमेरिकाले केही नभने पनि एमसीसी विवाद बढ्दै जाँदा वार्ताको प्रभाव घट्दै गएको बताउन थालेका छन् ।

सन् २०१९ को नाभेम्बरमा गर्ने भनिएको टीफाको पाँचौ बैठक २०२० को फेब्रुअरीमा आएर पनि अनिश्चित बनेको हो । सन् २०१८ मा अमेरिकाको वासिङटनमा सम्पन्न भएको चौथो बैठकपछि २०१९ मा पाँचौ बैठक नेपालमा गर्न अमेरिका र नेपाल सहमत भएका थिए । नेपाल र अमेरिकाबीच पहिलो वार्तामा व्यापार विस्तार र लगानी प्रबर्द्धन गर्ने लक्ष्यसहित टीफामा हस्ताक्षर भएको थियो ।

हरेक वर्ष पालैपालो यसको टीफा बैठक आयोजना गर्न दुवै देशबीच सहमति भएको थियो । पहिलो बैठकपछि दोस्रो बैठक सन् २०१५ मा बसेको थियो । तेस्रो बैठक २०१७ र चौथो बैठक २०१८ मा सम्पन्न भएको थियो ।

टीफाबाट नेपालले अमेरिकासँग खासै लाभ लिन सकेको छैन । भूकम्पपछि अमेरिकाले नेपालका ७७ वस्तुलाई शून्य भन्सार दरको सुविधा दिएको थियो । यो सुविधा नेपालले २०२५ सम्म उपयोग गर्न पाउँछ । तर, अमेरिकाले दिएको उक्त सुविधा नेपालले सदुपयोग गर्न सकेको छैन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव नवराज ढकालले अमेरिकासँग निकट भविष्यमै वार्ता हुने बताए ।

‘मन्त्रालयले अमेरिकासँगको टीफा वार्ताका लागि आवश्यक तयारी तथा पहल गरिरहेको छ,’ ढकालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.