विरोध गर्ने कर्मचारीप्रति मन्त्री बास्कोटाको आक्रोश: बेलुका भोज खान त आउनुहुन्छ हाेला नि ! उतै हेरौंला

  २०७६ माघ २२ गते १५:२०     विकासन्युज

काठमाडौं । सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमका कर्मचारीप्रति आक्रोश पोखेका छन् । नेपाल टेलिकमको १६औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले टेलिकमको फोरजी विस्तार गर्ने समयमा कर्मचारीहरुले यो असम्भव भएको र हावा गफ भएको भन्दै विरोध जनाएका कारण उनी कर्मचारीप्रति आक्रोशित बनेका हुन् ।

‘मैले फोरजीको कुरा गर्दा मन्त्रीले फोस्रो कुरा गर्यो भन्थे, तर अहिले करिब फोरजीको काम सकिएको छ, सबै दंग छन,’उनले भने ।

उनले विरोध गरिरहेका कर्मचारीलाई व्यङ्य गर्दै बेलुकामा भोजमा आउनु हुन्छ, उतै हेरौंला भन्ने कटाक्ष गरे । विरोध प्रदर्शन गर्ने कर्मचारीप्रति कडा शैलीमा प्रस्तुत हुँदै उनले रचनात्मक सुझावहरु ग्रहण गरिने तर राजनीतिका लागि राजनीति सह्य हुन नसक्ने सुनाए ।

कर्मचारीप्रति आक्रोशित हुँदै उनले सबैलाई अनुशासित हुन सुझाव दिए । अनुशासन र नियममा रहनुस्, अन्यथा यसको हिसाब किताब राखिनेछ, चुनौती सम्झिए चुनौती सम्झिनुस् म पराजित गर्छु’, उनले भने ।

असन्तुष्ट कर्मचारीलाई उनले के देशभरि फोरजी सेवा जानु हुँदैनथ्यो भन्ने प्रश्न गरे । कर्मचारी युनियनको प्रदर्शन कम्पनीमा क्रियाशील नेपाल टेलिकम वकर्स युनियनले कम्पनी व्यवस्थाले पर्याप्त नाफा वृद्धि गर्न नसकेको र कर्मचारीको वृद्धि विकासलाई प्राथमिकता नदिएको भन्दै कार्यक्रमस्थलमै आफ्ना मागसहितको प्ले कार्ड देखाएर विरोध जनाएका छन् ।

यस्तै कार्यक्रममा उनले टेलिकमलाई गोरखकाली टायर र टिम्बर कर्पाेरेसन जस्तो घाटामा जान नदिने बताएका छन् ।
‘सरकारले हात हालेको सबै क्षेत्र घाटामा नै जान्छ भन्ने हुँदैन, सरकारले टेलिकमलाई कान्छो छोराछोरी सरह माया गरेको छ, यतिखेर यसको नाफा हुन्छ,’ उनले भने ।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका ७७ वटै जिल्लामा हालै फोरजी सेवा सञ्चालन गरेको बताए । कार्यक्रममा विभिन्न सेवा र विधामा उत्कृष्ट सेवा प्रदायक र कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.