२०७६ माघ २२ गते ११:५५ विकासन्युज
ललितपुर । ललितपुर महानगरपालिका–३ बाट मेट्रिक ठेगाना प्रणालीअनुसार घर नम्बर राख्ने काम अघि बढेको छ । महानरपालिका प्रमुख चिरिबाबु महर्जनले मङ्गलबार तीनवटा नम्बरप्लेट ‘१८७३ सत्यमोहन जोशी मार्ग’ महानगरपालिकाको कार्यालयमा, ‘२९१ पुल्चोक झम्सीखेल मार्ग’ वडा नं ३ को कार्यालयमा र ‘३५ भनीमण्डल मार्ग’ लिखित प्लेट सेन्टमेरिज विद्यालयको गेटमा टाँसेर उक्त कामको शुभारम्भ गरेका छन् ।
ग्वार्काेबाट महानगरपालिकाको पछाडि उत्तरी गेटसम्म मापन गरिएको १८७३ नम्बरप्लेटको दूरी हो । यसैगरी २९१ नम्बरप्लेट झम्सीखेल चोकबाट वडा नं ३ को वडा कार्यालयसम्म र ३५ नम्बरप्लेट भनीमण्डल चोकदेखि सेन्टमेरिज विद्यालयको गेटसम्मको दूरी रहेको महर्जनले जानकारी दिए । महानरपालिकाका घरघरमा नम्बरप्लेट राखेपछि एक स्थानबाट अर्काे स्थानमा सजिलै पुग्न सकिन्छ सकिने उनले बताए ।
वडा नं ३ मा पाँच हजार घरधुरी रहेका हुँदा हाललाई परियोजनाका रूपमा हामीले पहिला यहाँका एक हजार घरमा नम्बरप्लेट राखेकाे बताएका छन् । परियोजना अघि बढाउँदै जाँदा काम गर्न समस्या भएन भने यसैअनुरूप दोस्रो चरणको काम अघि बढाइने उनको भनाइ थियो ।
घर नम्बर प्रणालीको विकासले घर पत्ता लगाउने समस्याको अन्त्य भई स्मार्टसिटीको परिकल्पना सकारात्मक बनाउन सहयोग गर्ने महर्जनको बुझाइ छ । महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर तथा नक्सा शाखा प्रमुख श्रीकुमार महर्जनले महानगरपालिकाले उक्त कामलाई दुई चरणमा अघि बढाउने जानकारी दिए ।
उनले भने, ‘हामीले जियो–नेष्ट–इन्डेको जेभी नामक तीन संस्थासँग सहकार्य गरेर पहिलो चरणमा घरको सङ्ख्या गणना गर्ने, तथ्याङ्क सङ्कलन गर्ने, हरेक वडा, टोल, सडक र गल्लीमा नाम दिएका छाैं ।’ नगरपालिकामा रहेका अन्य ८७ घरलाई दोस्रो चरणको योजना बनाएर नम्बरप्लेट राखिने महर्जनले बताए ।
महानगरपालिकाका परामशर्दाता ईश्वरमान जोशीले महानगरपालिकामा रहेको हिलो र धुलोका कारण घर गन्ती गर्न निकै समस्या परेको उल्लेख गरे । उनले भने, ‘महानगरपालिकाभित्र कूल ८८ हजार घर छन् । यी घरमध्ये ५८ हजार ४२३ आवासीय घर र बाँकी अन्य करिब ३० हजार घर व्यापारिक महल आदि छन् ।’ नम्बरप्लेट राख्न इच्छुक व्यक्तिले घरजग्गाको कर तिरिसकेको हुनुपर्ने र प्रतिनम्बरप्लेट जडान गरेवापत एउटा घरले रु एक हजार तिर्नुपर्ने जनाइएको छ ।
कार्यक्रममा महानगरपालिकाभित्र वार्षिक दुई हजार घर थपिँदै गएको, पहिलो चरणको परियोजनामा रु चार करोड २१ लाख ३० हजार खर्च भइसकेको र दोस्रो चरणको काम अघि बढाउन बोलपत्र आह्वान गरिने र यसमा रु नौदेखि १० करोड खर्च लाग्ने जानकारी दिइयो ।रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.