परिसंघका पदाधिकारी र स्वीजरल्याण्डका राजदूतबीच भेटवार्ता

  २०७६ माघ २२ गते १०:२१     विकासन्युज

काठमाडौं । नेपालका लागि स्वीजरल्याण्डका राजदूत महामहिम एलिजाबेथ भोन क्यापेलर ओस्वाल्ड र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच मंगलबार भेटवार्ता भएको छ ।

परिसंघको सचिवालयमा भएको भेतवार्तामा परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल स्वीजरल्याण्ड बीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउदै आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नु पर्ने समय आएको बताए ।

स्वीजरल्याण्डले नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका साथै विशेषतः नेपालको गलैँचाको उत्पादन र विकासका साथै प्राविधिक शिक्षामा गरिरहेको योगदानको चर्चा गर्दै अध्यक्ष मोरले यसलाई थप विस्तार गर्न सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको उल्लेख गरे । उत्पादनमुलक क्षेत्र, पूर्वाधार तथा पर्यटनका क्षेत्रमा लगानीका सम्भावनाहरु रहेको तर्फ अध्यक्षले राजदूतको ध्यानाकर्षण गराएका थिए ।

सो अवसरमा परिसंघका अध्यक्ष एमिरेट्स माननीय विनोद चौधरीले उद्योग र ऐतिहासिक औद्योगिक प्रतिष्ठानहरुको संरक्षण गर्न परिसंघले स्वीस दूतावाससँग सहकार्य गर्न सक्ने सम्भावना रहेको उल्लेख गरेका छन् ।

कार्यक्रममा राजदूत एलिजाबेथ भोन क्यापेलर ओस्वाल्डले स्वीजरल्याण्ड र नेपालको महत्वपूर्ण सम्बन्धलाई आर्थिक अवसरमा बदल्न सबै खाले लगानीका लागि उचित वातावरण तयार गर्नु आफ्नो प्राथमिकतामा रहको बताए । लगानी वातावरणमा देखिएका समस्या सुधारमा सहकार्य अघि बढाउने प्रतिवद्धता पनि राजदूत ओस्वाल्डले उल्लेख गरे ।

भेटवार्तामा परिसंघका प्रवुद्ध परिषद (थिंक ट्याङ्क) का संयोजक डा. शम्भुराम सिंखडालेले नेपालको राजनीतिक अवस्थामा आएको सुधारले लगानीको वातावरण बन्दै गएकाले यसको उपयोग गर्न स्वीस लगानीकर्ताहरुलाई प्रेरित गर्न पनि राजदूत समक्ष आग्रह गरेका थिए । ऊर्जा र अन्य पूर्वाधार परियोजना तथा नयाँ स्टार्टअप व्यापारमा समेत स्वीस लगानीकर्ताका लागि उपयुक्त समय आएको उनले उल्लेख गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.