हिमालयन बैंकमा नयाँ नेतृत्वः पब्लिकको हिस्सा बढाउने, सीडीसी भित्र्याउने

  २०७६ माघ २१ गते १२:०५     विकासन्युज

काठमाडौं । हिमालयन बैंक संचालक समितिमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व आएको छ । २९ माघमा हुने बैंकको वार्षिक साधारणसभाको लागि उम्मेदवारी मनोनयनमा सर्वसम्मत भएको हो ।

बैंक संचालक समितिमा प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, तुलसी गौतम, आशिष शर्मा र फैसल लालानीको मात्रै उम्मेदवारी परेको छ । श्रेष्ठ यसअघि पनि बैंक संचालक समिति सदस्य थिए । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादर थापाका छोरा तथा पूर्वमन्त्री हुन् । हिमालयन शमशेर जवराका ज्वाइँ थापा पृथ्बीबहादुर पाँडेसमुहको प्रतिनिधित्व गर्दै आएका हुन् ।

गौतम कर्मचारी संचय कोषको तर्फबाट संचालक बनेका हुन् । शर्मा पूर्वराजदुत दीपकुमार उपाध्यायका छोरा हुन् । शर्मा यसअघि नविल बैंकको संचालक समिति सदस्य भइसकेका छन् भने युनाइटेड इन्स्योरेन्स कम्पनीको संचालक समिति अध्यक्ष पनि भइसकेका हुन् । लालानी पाकिस्तानको हविब बैंकको प्रतिनिधित्व गर्दै संचालक समितिमा आएका हुन् ।

अबको अध्यक्ष को ?

बैंक संचालक समितिले सामना गर्ने पहिलो चुनौति नै यही हुने देखिएको छ । वर्तमान अध्यक्ष मनोजबहादुर श्रेष्ठले संचालक समितिमा उम्मेदवारी नै नदिएर मैदान खाली गरिदिएका छन् । उनका भाइ प्रचण्ड बहादुर श्रेष्ठले अध्यक्षको जिम्मेवारी पाउने सम्भावना कम रहेको बताइन्छ । अर्का संचालक शर्मा पनि अध्यक्ष बन्ने प्रतिस्पर्धामा छैनन् ।

अध्यक्ष पदको लागि थापा र गौतमबीच प्रतिस्पर्धा हुने देखिएको छ । एउटा पक्षले गौतमलाई अध्यक्ष बनाउने प्रयास गरिरहेको छ भने अर्काे पक्षले पूर्वमन्त्री समेत रहेका थापालाई अध्यक्ष बनाउने प्रयास गरेको बताइएको छ ।

प्राथमिकतामा ३ सुची

हिमालयन बैंकमा अहिले पनि सर्वसाधारणको १५ प्रतिशत मात्रै सेयर हिस्सा छ । यो हिस्सा बढाएर कम्तिमा पनि ३० प्रतिशत पुर्याउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यो निर्देशन कार्यान्वयनको लागि बैंकले १५ प्रतिशत प्रमोटर सेयरलाई पब्लिकमा परिवर्तन गर्ने प्रक्रिया सुरु गरिसकेको छ । केही साता अगाडि मात्रै बैंकले १० प्रतिशत प्रमोटर सेयरलाई पब्लिक बनाउने प्रस्ताव राष्ट्र बैंक पठाएको थियो ।

राष्ट्र बैंकले सो प्रस्ताव अस्वीकार गरेको छ । प्रमोटर सेयरलाई किस्ता किस्तामा पब्लिक गर्नुभन्दा पनि एकै पटक १५ प्रतिशत सेयर पब्लिक गराउने गरी प्रस्ताव ल्याउन राष्ट्र बैंकले हिमालयन बैंकलाई निर्देशन दिएको छ ।

हिमालयन बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार नै १० प्रतिशत प्रमोटर सेयर मात्रै पब्लिक गर्ने प्रस्ताव पठाएको थियो । राष्ट्र बैंकले जारी गरेको निर्देशनमा एक पटकमा १० प्रतिशत प्रमोटर सेयरलाई मात्रै पब्लिक गराउन पाइने भन्ने थियो । तर, हिमालयन बैंकलाई एकै पटक १५ प्रतिशत सेयर प्रमोटर गर्न दिने सन्देश राष्ट्र बैंकले दिएको छ ।

हिमालयन बैंकको नयाँ नेतृत्वले राष्ट्र बैंकको निर्देशन अनुसार सर्वसाधारणको सेयर हिस्सा कम्तिमा ३० प्रतिशत पुर्याउनु पर्नेछ ।

संचालक समितिको अर्काे प्रमुख कार्यभार भनेको हविब बैंकलाई निकास दिनु हो । पाकिस्तानको हविब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो २० प्रतिशत सेयर विक्री गर्न चाहेको छ । हविबसँग भएको सेयर बेलायती कम्पनी सीडीसीले खरिद गर्ने प्रक्रिया नै अगाडि बढेको थियो ।

नेपाल राष्ट्र बैंकले पनि हिमालयन बैंकमा सीडीसीलाई भित्र्याउन पहल गरिरहेको छ । अहिलेका संचालक समिति अध्यक्ष मनोज बहादुर श्रेष्ठले अवरोध गरेका कारण सो सेयर खरिद विक्री प्रक्रिया सफल हुन नसकेको चर्चा पनि छ ।

नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई मर्जरमा जान सुझाव दिइरहेको छ । राष्ट्र बैंकको सुझाव अनुसार उपयुक्त बैंक खोजेर मर्जरमा जानु नयाँ नेतृत्वको अर्काे कार्यभार हुनेछ । यद्यपि अहिलेको संचालक समितिले मर्जरलाई त्यति प्राथमिकता दिने संकेत गरेको छैन ।

सम्बन्धित सामग्री

हिमालयन बैंकको १० प्रतिशत प्रमोटर सेयर पब्लिक बनाउन राष्ट्र बैंकले स्वीकृति दिएन

हिमालयन बैंकसँग अझै २ विकल्प, एफपीओ जारी गरे प्रतिकित्ता २ सय रुपैयाँ

हिमालयन बैंकको औसत लाभांश २७.५५ प्रतिशत, बाेनसकाे मुखमा सेयर मूल्य ५०० नजिक

हिमालयन बैंकलाई राष्ट्र बैंकको चार बुँदे कडा निर्देशन, सञ्चालक समितिमा उथलपुथल हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.