कोरोना भाइरसको असर विश्व अर्थतन्त्रमा

  २०७६ माघ २० गते १३:५५     विकासन्युज

काठमाडौं। चीन लगायत अन्य एशियाली देशहरुमा फैलिएको कोरोना भाइरसको असर विश्व अर्थतन्त्रमा देखिन थालेको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनमा कोरोनाको संक्रमण फैलनु समग्र विश्व बजारका लागि सुखद नभएको विश्लेषकहरु बताउँछन् । विश्व अर्थव्यवस्थाका लागि यो भाइरस ठूलो जोखिम भएको उनीहरुकाे भनाइ छ ।

अर्थविद् डा. डिल्लीराज खनाल काराेना भाइरसले विश्व बजारमा धेरै असर पार्ने बताउँछन् । ‘नेपाल चीनको नजिकको राष्ट्र हो, चीनले नेपालमा धेरै लगानी गरेको छ, यसले गर्दा नेपालको अर्थतन्त्रमा यसले प्रत्यक्ष असर पार्छ,’ उनले भने ।

आगामी वर्षहरुका लागि पनि चीनले नेपालको विभिन्न क्षेत्रमा लगानी प्रतिवद्धता गरेको छ, यसमा पनि असर पर्ने देखिन्छ । नेपालमा विदेशी पर्यटक सबैभन्दा बढी चीनबाट आउँछन् । कोरोनाको कारणले नेपाल सरकारले सुरु गरेको भ्रमण वर्ष २०२० मा पनि धेरै असर पार्ने देखिन्छ ।

कारोना भाइरसका कारण नेपालको पर्यटन, यातायात लगायत आन्तरिक उत्पादनमा असर पार्ने अर्थविद् खनाल बताउँछन् ।

नेपालमा पर्ने असर

चीन नेपालको छिमेकी राष्ट्र भएकोले पनि त्यसको प्रत्यक्ष असर नेपालमा अवश्य नै पर्छ । नेपालको अर्थतन्त्र मात्र होइन भौतिक पक्षमा यसले असर पार्ने अर्थविद् बताउँछन् ।

नेपालमा बढी सामानहरु अायात गर्ने देशमा चीन दाेस्राे स्थानमा पर्छ । गत बुधबार नेपाल सरकारले चीनसँगको मूख्य व्यापार नाका १५ दिनका लागि बन्द गरेको छ । यसले पनि नेपालको अर्थतन्त्र र व्यापारमा घाटा हुने देखिन्छ । चीनमा कोरोना भाइरसले उग्र रुप लिएपछि नेपाल सरकारले रसुवा नाका बन्द गर्ने निर्णय गरेको हो ।

पर्यटनमा प्रभाव

चीनबाट सुरु भएको कोरोना भाइरसले चीनमा मात्र होइन छिमेकी राष्ट्र नेपालमा पनि ठूलो असर पर्ने जानकारहरु बताउँछन् । भाइरसको प्रकोपले नेपालको पर्यटन, यातायात, दैनिक उपभोग्य सामानलगायमा नराम्ररी प्रभाव पार्ने देखिएको हो ।

नेपालमा आउने पर्यटक मध्येको एक ठूलो देश चीन पनि हो । हाल नेपालका धेरै एयरलाइन्स कम्पनीहरुले चीनको उडान रोकेका छन् । यसले नेपालको पर्यटन क्षेत्रमा धेरै घाटा हुने पर्यटनविद्हरु बताउँछन् ।

नेपाल सरकारले हालै नेपाल भ्रमण वर्ष २०२० सुरु गरेको छ । भ्रमण वर्ष सुरु भएकै समयमा चीन लगायत एशियाली, युरोपलगायतका देशहरुमा कोरोना फैलनु नेपालको पर्यटन क्षेत्रका लागि राम्रो होइन । अर्थविद् खनालले नेपाल सरकारले सुरु गरेको भ्रमण वर्षकै सुरुमा कारोनाको प्रकोप फैलनु सुखद नभएको बताए ।

संस्कृति पर्यटन तथा उडड्यन नागरिक मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले यसले नेपालको पर्यटन मात्र नभएर समग्र अर्थतन्त्रमा असर पर्ने बताए । ‘कति असर पार्न सक्छ अहिले अनुमान लगाउन सकिन्न, तर कोराना भाइरसको प्रकोपले नेपालको पर्यटनमा प्रत्यक्ष रुपमा असर पर्छ,’ उनले भने ।

अहिले चीनलाई धेरै आर्थिक नोक्सनी भएको छ । देशका प्रभावित क्षेत्रमा यात्रा गर्न प्रतिबन्ध पनि लगाइएको छ ।
यो चीनियाँको भ्रमण गर्ने समय हो । भ्रमण गर्ने समयमा कोरोना भाइरसको प्रकोप हुनु नेपालका लागि सुखद होइन । यसले नेपालको पर्यटन व्यवसायमा ठूलो धक्का पुर्याउन सक्छ ।

विश्व स्वास्थ्य संगठनद्धारा आपतकालको घोषणा

कोरोना भाइरस एउटा गम्भीर स्वास्थ्य समस्याका रुपमा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले पनि आपतकालको घोषणा गरिसकेको छ । संक्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायात साधन चलाउन प्रतिबन्ध लगाइएको छ

ती क्षेत्रमा विभिन्न सतर्कता अपनाइएको चीन सरकारले बताएको छ । सरकारले देशभरीको उडान, रेल र बससेवामा पनि उच्च सतर्कताका लागि आह्वान गरेको छ । यसैगरी मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसन लगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जंगली जनावर र पशु ओसार पसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ ।

चीनमा १७ वर्ष पहिले २००३ मा फैलिएको सार्स भाइसबाट चीनसहित अन्य देशमा ८ हजारभन्दा बढी मानिसहरु प्रभावित भएका थिए । तीमध्ये १० प्रतिशत मानिसहरुको मृत्यु भएको थियो । २००३ मा फैलिएको उक्त भाइरसका कारण चीनमा ५० अर्ब डलर नोक्सान भएको थियो ।

सार्स भाइरसको संक्रमणका कारण हङकङको सूचक त्यो समयमा २० प्रतिशतले घटेको थियो ।

चीनमा मात्रै अहिलेसम्म काेराेना भाइरसकाे कारण ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने १४ हजारभन्दा बढी संक्रमित भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यूराेपमा पनि असर

चीन र अन्य एशियाली देशहरुले कोरोना भाइरसको कारण पर्यटन, उडड्यन, खुद्रा र मनोरोञ्जन क्षेत्रमा घाटा व्यहोरी सकेका छन् । उक्त भाइरसको संक्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ,मकाउ र थाइल्याण्डमा छोइसकेको र युरोपमा पनि फैलिन थालेको जनाइएको छ ।

कोरोना भाइरसको असर चीनको समग्र अर्थव्यवस्थामा देखिइरहेको छ ।  चीनले भाइरसको फैलावटलाई कम गर्न समूह बाहिरको भ्रमणमा प्रतिबन्ध लगाएको थियो । यसले पनि  टुर अपरेटरको सेयरमा गिरावट आउने निश्चित छ । यो भाइरस फैलिएको खबर आएसँगै चीनियाँ शेयर बजारमा ५ प्रतिशतको गिरावट आइसकेको छ ।

चीनको अर्थव्यवस्थामा घाटा हुनु भनेको समम्र विश्वलाई घाटा हुनु हो । विश्वको सबैभन्दा धेरै तेल खपत हुने स्थानमा मान्छेको आवतजावत र यातायातका साधन ठप्प पारेकाे छ।

हाल कच्चा तेलको मूल्य घट्नुका साथै चीनको विकासदर पनि कमजोर हुने बताइएको छ । चीनमा पर्यटकहरुको पनि आर्थिक विकासमा ठूलो हिस्सा रहेको छ । यसबाट चीनमा आउने जाने विमानमा पनि असर पर्न सुरु भइसकेको छ । यससँगै हवाई इन्धनको माग पनि अधिक घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.