कोरोना भाइरसको नाममा ठगी, मास्कको कालोबजारीदेखि अनधिकृत स्वास्थ्य परीक्षणसम्म

  २०७६ माघ १९ गते १९:४९     डोमी शेर्पा

काठमाडौं । कोरोना भाइरस संक्रमण रोक्न विश्वव्यापी रुपमा सर्तकता अपनाइएको समयमा नेपालमा भने यसैको नाममा ठगी धन्दा सुरु भएको छ । नेपालमा माक्सको कालो बजारीदेखि वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा अनधिकृत रुपमा रकम असुली हुन थालेको हो ।

कोरोना भाइरसको संक्रमण बढेसँगै बजाारमा मास्कको अभाव देखिएको छ । भाइरस संक्रमणबाट बच्न मास्कको प्रयोग गर्नुपर्ने जनस्वास्थ्य विज्ञले बताइरहेको समयमा मास्कको अभाव देखिएको हो । तर, बजारमा मास्कको अभाव नै भएको वा कालाबजारीका कारण अभाव सिर्जना गरिएको हो भन्ने यकिन छैन ।

नोबल कोरोना भाइरसले चीनमा ३ सयभन्दा बढीकोे मृत्यु भइसकेको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । छिमेकी मुलुकमा बढेको त्रासले नेपालमा पनि असर परेको छ ।

बजारमा मास्कको कालोबजारी सुरु भएको हुन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्कको तथ्यांक संकलन सुरु गरेको छ । यस्तै, बैदेशिक रोजगारीमा जाने कामदारसँग कोरोना भाइरस परीक्षण गर्नुपर्ने भन्दै अतिरिक्त २५ हजार रुपैयाँसम्म रकम असुली हुन थालेको सूचना प्राप्त भएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको नाम लिएर नेपालबाट विदेश जानेहरुबाट विभिन्न कन्सल्टेन्सीहरुले अनाधिकृत रुपमा रकम लिने गरेको खुलेको छ । वैदेशिक रोजगारमा जानको लागि नेपालीहरुलाई कोरोना भाईरसको परीक्षण गरेर जानुपर्ने भन्दै विभिन्न म्यानपावर कम्पनीले स्वास्थ्य परीक्षणवाफतको रकम लिने गरेको खुलेको हो ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले मानिसहरुमा रहेको त्रासको फाइदा उठाउँदै मास्क व्यापारी, म्यानपावर र ल्याबहरुले रकम असुल्ने गरेको बताए । स्वास्थ्य परीक्षण भन्दै २५ हजार रुपैयाँसम्म रकम लिने गरेको श्रेष्ठको भनाइ छ ।

‘बजारमा मास्कको अभाव भयो भन्ने छ, कोरोना भाइरस परीक्षण गरेर मात्रै विदेश जान पाइन्छ भन्दै म्यानपावर, कन्सलटेन्सी तथा ल्यावहरुले थप २५ हजार रुपैयाँसम्म लिन थालेको गुनासो प्राप्त भएको छ, यसका बारेमा मन्त्रालयलले आवश्यक कारबाहीको प्रक्रिया सुरु गरिसकेको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

कोरोना भाइरसलाई मध्येनजर गर्दै मास्कको उत्पादनमा वृद्धि गरेको मन्त्रालयले जनाएको छ । प्रतिदिन ३ हजार पीस उत्पादन हुने मास्कको संख्या बढाउनुको साथै मास्कको निर्यातम पनि रोक लगाइएको छ । यस्तै, मन्त्रालय अन्तरगतको औषधी व्यवस्था विभागले मास्क उत्पादकसँग अहिले भएको स्टकको यथार्थ तथ्यांक संकलनका लागि पत्राचार गरिरहेको मन्त्रालयले जानकारी दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.