नाफा बढाउन बैंकहरुले गरे चलाखी, राष्ट्र बैंकको निर्देशन कार्यान्वयनमा चुनौती

  २०७६ माघ १९ गते १९:१६     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले नाफा बढाउन व्याज अन्तर (स्प्रेड) दर धेरै राख्न थालेका छन् । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई स्प्रेड दर घटाउन निर्देशन दिएको भएपनि सो दर भने बढ्दो क्रममा देखिएको छ ।

राष्ट्र बैंकले आगामी असार मसान्तसम्ममा स्प्रेडदर ४.४ प्रतिशतमा ल्याउन बैंकहरुलाई निर्देशन नै दिएको छ । तर, केही बैंकहरुले प्रकाशित गरेको गत पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणले गत वर्षको पुसको तुलनामा स्प्रेडदर बढेको देखाएको छ ।

बैंकहरुले कर्जा लिने औसत व्याजमा निक्षेपमा दिने औसत व्याज घटाउने आउने अंक नै स्प्रेड दर हो । केही बैंकहरुले भने यस्तो दर ५ प्रतिशतभन्दा पनि माथि पुर्याएका छन् । केही वर्षदेखि नै राष्ट्र बैंकले स्प्रेड दर ५ प्रतिशतभन्दा बढी हुन नहुने नीतिगत व्यवस्था गरेको थियो ।

९ वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । यसरी विवरण प्रकाशित गर्ने अधिकांश बैंकको स्प्रेड दर बढेको देखिन्छ । अहिले संचालनमा रहेका २७ वाणिज्य बैंकमध्ये एक तिहाईको विवरणले स्प्रेड बढेको देखाएका कारण प्रायः सबै बैंकको बढेको हुन सक्ने आलक गरिएको छ ।

प्राइम कमर्शियल बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत पुस मसान्तसम्ममा सो बैंकको स्प्रेडदर ५.११ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा सो बैंकको स्प्रेडदर ५.१८ प्रतिशत थियो । गत वर्षको तुलनामा प्राइमको स्प्रेड दर घटेको भएपनि नियामकीय प्रावधानभन्दा उच्च छ ।

सनराइज बैंकको स्प्रेड दर ५.१४ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा यस्तो दर ४.३१ प्रतिशत थियो । यस्तै, एभरेष्ट बैंकको स्प्रेड दर ५.३३ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा एभरेष्टको स्प्रेड दर ४.३८ प्रतिशत थियो ।

सरकारी लगानी पनि रहेको नेपाल बैंकको स्प्रेड दर भने घटेर नियामकीय प्रावधानभित्र आइपुगेको छ । गत वर्षको पुस मसान्तमा ४.९९ प्रतिशत रहेको स्प्रेड दर यो वर्षको पुस मसान्तमा ४.४४ प्रतिशतमा झरेको छ ।

लक्ष्मी बैंकको स्प्रेडदर पनि नियामकीय प्रावधानभित्रै छ । तर, गत वर्षको तुलनामा केही बढेको छ । गत वर्षको पुस मसान्तमा ४.०४ प्रतिशत रहेको लक्ष्मीको स्प्रेड यो वर्षको पुस मसान्तमा ४.२३ प्रतिशत छ ।

गत पुस मसान्तसम्ममा सिद्धार्थ बैंकको स्प्रेड दर ५.१७ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा सो बैंकको स्प्रेडदर ४.७१ प्रतिशत थियो । यस्तै, गत वर्षको पुस मसान्तसम्ममा ५.२५ प्रतिशत रहेको सानिमा बैंकको स्प्रेड दर यो वर्षको पुस मसान्तसम्ममा ५.०४ प्रतिशत छ ।

एनआईसी एसिया बैंकको स्प्रेड दर ५.०२ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा एनआईसी एसिया बैंकको स्प्रेड दर ५.५६ प्रतिशत थियो । यस्तै, गत वर्षको पुस मसान्तसम्ममा ४.३२ प्रतिशत रहेको सिटिजन्स बैंक इन्टरनेसनलको स्प्रेड दर यो वर्षको पुस मसान्तसम्ममा ४.५८ प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.