होण्डाको विश्व चर्चित् ‘गोल्डविङ्ग’ नेपाली बजारमा, मूल्य ६६ लाख ९९ हजार, यस्ता छन् विशेषता

  २०७६ माघ १९ गते १८:५७     विकासन्युज

काठमाडाैं । होण्डाको नेपालका लागि आधिकारीक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले ‘गोल्डविङ्ग’ नामक मोटरसाइकल नेपाल भित्र्याएकाे छ । नेपाली बजारको लागि विल्कुलै नयाँ मोटरसाइकल ‘गोल्डविङ्ग’ एउटा टुरिङ्ग मोटरसाइकल हो ।

होण्डाको सबैभन्दा महँगो मोडेलको रुपमा रहेको गोल्डविङ्गको नेपाली बजार मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । होण्डा नेपालका अनुसार नेपालमा हाल गोल्डविङ्गको एउटा मात्र पिस उपलब्ध रहेको छ ।

सन् १९७४ मा उत्पादन गरिएको गोल्डविङ्ग नर्थ अमेरिका, वेष्टर्न युरोप, अष्ट्रेलिया र जापान लगायतका ठाउँहरुमा निक्कै चर्चित् छ । एकदमै लक्जरियस मानिने यस मोटरसाइकलमा आधुनिक प्रविधि पनि उत्तिकै जडान गरिएका छन् ।

गोल्डविङ्गमा एप्पल कारप्ले, ७-स्पिड अटोमेटिक डुअल क्लच ट्रान्समिशन, किलेस स्टार्ट, रिभर्स गियर लगायतका फङ्कसनहरु समावेश छन् । डुअल क्लच ट्रान्समिशनले गर्दा बाइकमा क्लच पेड र गियर पेडलको आवश्यकता विनानै चालकले अटोमेटिक नै गियर परिवर्तन गर्दछ । त्यसैगरी बाइकमा इको, रेन, टुरिङ्ग र स्पोर्ट गरी ४ अलग राइडिङ्ग मोडहरु समावेश छन् । गोल्डविङ्गमा हिटरमार्फत् न्यानो बनाउन मिल्ने सिट पनि समावेश छ ।

गोल्डविङ्गको इन्स्ट्रुमेन्ट कन्सोल निकै एडभान्स रहेको छ । यसमा गति, इन्धनको मात्रा, इञ्जिन तापक्रम, ट्रिपमिटरका साथै वातावरणको तापक्रम, क्रुज कन्ट्रोल स्पिड, हिटरको अवस्था लगायत पनि हेर्न सकिन्छ । त्यसैगरी यो मोटरसाइकलको विन्डस्क्रिनलाई बटन मार्फत् आफ्नो आवश्यकता अनुसार एड्जस्ट समेत गर्न मिल्ने बनाइएको छ ।

इञ्जिन तर्फ चाहिँ यस मोटरसाइकलमा १८३३ सीसीको ६ सिलिण्डर लिक्विड कुल्ड इञ्जिन जडान गरिएको छ जसले १२५ बीएचपीको पावर र १७० एनएमको टर्क उत्पादन गर्दछ ।

गोल्डविङ्गलाई होण्डाको कान्तिपथ स्थित शोरुममा राखिएको छ । कम्पनीका अनुसार उक्त शोरुममा सो मोटरसाइकल हेर्नका लागि दैनिक धेरैको संख्यामा मानिसहरु आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.