गाउँपालिका र रेडक्रसको सहकार्यमा एम्बुलेन्स र स्वास्थ्य चौकी हस्तान्तरण

  २०७६ माघ १९ गते १५:३३     विकासन्युज

काठमाडौं । नेपाल रेडक्रसले ललितपुरको दक्षिणक्षेत्र महाँकाल गाउँपालिकालाई महिन्द्रा बोलेरो एम्बुलेन्स गाडी शनिवार उपलव्ध गराएको छ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले गाउपालिका प्रमुख रामचन्द्र दाहाललाई गाडी र त्यसको साँचो हस्तान्तरण गरेका हुन् ।

बीमा, पेन्टिङ र लेखनसहित १२ लाख रुपैँयाकोे ‘ग’ वर्गको गाडी सहयोग पाएकोमा अध्यक्ष दाहालले खुशी व्यक्त गर्दै दुर्गम यस क्षेत्रमा एम्बुलेन्सको अति खाँचो भएको र चालकको भर्ना गर्न पदपूर्ति सूचना निकालिसकिएको हुँदा यो सेवा छिट्टै सुचारु हुने बताए ।

नेरेसोका अध्यक्ष सञ्जीव थापाले सामान्यतया रेडक्रसको उपशाखाले नै एम्बुलेन्स सञ्चालन गर्ने प्रचलन भएपनि एम्बुलेन्स सेवा नीति अनुसार आवश्यक स्रोत साधन र कर्मचारी व्यवस्था सरल हुने र दीगोपना आऊने अपेक्षा गरी गाउपालिकाको अनुरोधमा पालिकालाई नै गाडी उपलव्ध गराइएको जानकारी दिएका छन् ।

ललितपुर रेडक्रसका सभापति बाबुराजा महर्जनको सभापतित्वमा सञ्चालित हस्तान्तरण कार्यक्रममा गाउपालिका उपाध्यक्ष कमला लामा तामाङ, वडा अध्यक्षहरु, नेरेसोका कार्यकारी निर्देशक उमेश ढकाल, निर्देशक दिव्यराज पौडेल, बुद्धि सागर श्रेष्ठ, वेलायती रेडक्रसका प्रतिनिधि सोनाक्षी देव लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

नवनिर्मित स्वास्थ्य चौकी हस्तान्तरण र सामग्री सहयोग

महाँकाल गाविसको वडा नं ५ को नमन डाँडामा नेपाल रेडक्रसले चन्दनपुर स्वास्थ्य चौकी भवन निर्माण गरी हस्तान्तरण गरेको छ । नेरेसो अध्यक्ष संजीव थापाले गत वर्ष पौषमा शिलन्यास गरेका थिए ।

कर्मचारी आवास सहितको दुइतले नवनिर्मित भवनको संघीय सभाका माननीय सांसद नवराज सिलवालले उद्घाटन गरेका हुन् । रेडक्रसले सो निर्माणका अलावा थप २ वटा स्वास्थ्य चौकीलाई उपकरणहरु पनि उपलब्ध गराएको छ ।

स्वास्थ्य चौकीका अहेव कलाधर नेपालीले वर्थिङ सेन्टर फोहर र साँघुरो थियो, फोहर डिस्पोज गर्ने व्यवस्था थिएन, रेडक्रसले ती सबै समस्याको समाधान गरिदिएको बताएका छन् । त्यसैगरी गाउपालिका उपाध्यक्ष कमला लामा तामाङले एक वर्ष भित्रै दुर्गम स्थानमा निर्माण सम्पन्न भई समयमै हस्तान्तरण भएको यो ललितपुरमै नौलो कुरा भएको बताएकी छन् ।

सामुदायिक विकास सबलीकरण कार्यक्रम लोकप्रिय

गोटीखेल ललितपुरकी गोमा परियार आफ्नो गाँऊमा शौचालय, धारा, तरकारीबारी जस्ता क्षेत्रमा गएको नौ महिनामा आएको परिवर्तन देखेर दङ्ग छिन् । गोमाले आफैले रेडक्रसको सहयोगमा पाएको ३२ हजार पाँचसय नगदबाट पहिले नगरेको तरकारी खेती सुरु गरेकी गरी पहिलो चरणको १५ हजार आम्दानीले लुगा सिलाऊने परम्परागत पेशालाई पनि विस्तार गरेकी छन् । अहिले उनको आम्दानी दोब्बर भएको छ ।

गोमाजस्तै महाँकाल गाउपालिकाको ३,४ र ५ नम्बर वडामा ६ सय २३ घरधुरीका मानिसले जीविकोपार्जन सुधारको लागि नगद सहयोग पाएको नेरेसो सञ्चार विभागका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । छ वटा विऊ बोका, २० वटा स्प्रे मेशिन, गोठ सुधार, शौचालय निर्माणमा नगद सहयोग पनि समुदायका विपन्न मानिसहरुले पाएका छन् ।

बजारसम्म तरकारी लैजान तथा वेच्न सहयोगार्थ कृषि समुह मार्फत २० वटा जोख्ने मेशिन, ४०० वटा क्रेटहरुपनि सहयोग भएको छ । बेलायती रेडक्रसको सहयोगमा सबलीकरण कार्यक्रममार्फत् ३ वटा खानेपानी योजना सम्पन्न भई १०४ वटा घरमा धारा जडान भएको छ ।

कार्यक्रम संयोजक क्षितिज आचार्यले पानी संकलन र संरक्षणको लागि ४ वटा प्लास्टिक पोखरी निर्माण, गोरेटो बाटो निर्माण तथा एउटा पुल निर्माण जस्ता गतिविधिका साथै तरकारी खेती तालिम स्थानीयले असाध्यै रुचाएको बताए ।

नेरेसोका कार्यकारी निर्देशकले नेपाल रेडक्रसका निकायहरुले स्वास्थ्य, खानेपानी, विपद पूर्वतयारी र संस्थागत विकासको क्षेत्रमा आवश्यकता र स्रोतको उपलब्धताका आधारमा देशभरका स्थानीय निकायसँग सहकार्य बढाउँदै गएको जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.