मुक्तक मेलामा तेह्र नारी स्रष्टाले गरे रचना वाचन

  २०७६ माघ १९ गते १२:१४     विकासन्युज

काठमाडौं । मुक्तक दिवसका अवसरमा आयोजित मुक्तक मेलामा १३ जना नारी स्रष्टाका मुक्तकहरुको विशेष वाचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा सम्पन्न भएको हो ।

कार्यक्रममा रस्मी रोदन, दुर्गा तिवारी, शान्ति शर्मा, लुमन्ती चित्रकार, विमला देवकोटा, तारा केसी, प्रतिक्षा पोख्रेल, कोपिला घिमिरे, भगवती रोका ‘भूमिका’, सुमन स्मारिका, पूजा आराधना, सुशीला ढकाल अधिकारी, निशा केसीले चार÷चारवटा मुक्तक वाचन गरेर सुनाएका थिए ।

कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ साहित्यकार तथा चलचित्रकर्मी यादव खरेल रहेका थिए भने सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राई विशेष अतिथि थिए । यसैगरी प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सभापतित्व गरेको कार्यक्रममा प्रतिष्ठानका महासचिव रमेश पौडेलले अतिथिहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यकार तथा चलचित्रकर्मी यादव खरेलले मीठा–मीठा मुक्तक सुन्न पाइएको उल्लेख गर्दै प्रतिष्ठानले यति राम्रो काम गरेकोमा धन्यवाद ज्ञापन गरे । विशेष गरी यस्ता कार्यक्रममा काठमाडौँका मात्रै स्रष्टाहरु भेला हुने गरेकोमा यो कार्यक्रममा भने बाहिरका स्रष्टाको पनि सहभागिताले खुसी लागेको बताए ।

वि.सं. २०१८÷१९ साल तिर भीमदर्शन रोकाले पहिलो पटक मुक्तक सुनाएको दृष्टान्त उल्लेख गर्दै खरेलले त्यसपछि मुक्तकको विकास भएको बताए । पहिलेदेखि नै लोकप्रिय बनेको मुक्तक अहिले पनि उत्ति नै लोकप्रिय बनिरहेको उनको भनाई छ । साहित्यका अन्य आयातित विधाहरु हराए पनि मुक्तक झन् फस्टाउँदै गएको उनले बताए । मुक्तक रचनामा महिला सहभागिता पनि बढ्दै गएको उल्लेख गर्दै यो सम्मान योग्य भएको भन्दै उनले प्रसंशा गरे ।

कार्यक्रमका बोल्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राईले प्रतिष्ठानसँग मिलेर यस्तो कार्यक्रम गर्न पाएकोमा खुसी लागेको बताए । आगामी दिनमा पनि संस्थानको सहयोग र सहकार्य निरन्तर रहने राईले बताए ।
कार्यक्रमलाई समापन गर्दै प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सहभागी महिला स्रष्टाको सम्मानमा दुईवटा मुक्तक सुनाएका थिए ।

सामाजिक सञ्जालको साथ पाएर अहिले मुक्तक फैलिँदो रहेको बताउँदै अध्यक्ष कोनेले अग्रजदेखि अनुज पुस्ता यो विधामा क्रियाशील रहेको बताए । मुक्तकको शास्त्रीय मान्यता र यसको मौलिकतामा नकारात्मकता आएकोले प्रतिष्ठान स्थापना गरेर मुक्तकको मौलिकता जोगाउन क्रियाशील रहेको उनले सुनाए ।

वि.सं. २०७० साल माघ १६–१८ गते पोखरामा सम्पन्न सम्मेलनले नेपाल मुक्तक प्रतिष्ठानको स्थापना गरेको थियो । यहि दिनको अवसर पारेर प्रतिष्ठानले माघ १८ गतेलाई मुक्तक दिवसको रुपमा मनाउन थालेको छ । प्रतिष्ठानको यो १९ औं श्रङ्खला हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.