कोरोना भाइरसका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र : स्वास्थ्यमन्त्री ढकाल

  २०७६ माघ १८ गते १८:१०     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशङ्का भएका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने विषयमा सरकारले सोच बनाएकाे बताए । दुईदेखि १४ दिनसम्म यो भाइरसले अर्कालाई सङ्क्रमण गराउन सक्ने भएकाले व्यारेकको जस्तो गरी उपचार केन्द्र स्थापना गर्ने सोच बनाइएको जानकारी दिए ।

अस्पतालमा राखेर उपचार गर्दा बिरामीको चाप बढ्न सक्ने भन्दै मन्त्री ढकालले भने, “१४/१५ दिनसम्म कयौं बिरामीलाई हामीले राख्यौं, तर त्यो रोगी रहेनछ भने निगरानीमा राख्न पनि मिल्छ, अस्पतालमा बिरामीको चाप बढेर लामो समय राख्न कठिन हुन्छ ।”

उनले नयाँ व्यवस्थापन गरेर ब्यारेक तरिकामा राख्न सक्ने भन्दै अहिले विभिन्न ठाउँमा रहेका तालीम केन्द्रलाई व्यवस्थित गरेर त्यस्ता उपचार केन्द्र स्थापना गर्न पनि सकिने बताए।

ती स्थानमा खाने बस्ने र उपचार उपलब्ध गराउने गरी व्यवस्थापन गराउन सकिने उनले जानकारी दिए। बिरामीको सङ्ख्याका आधारमा केन्द्र बनाइने जानकारी दिए । सरकारले अहिले १ सयभन्दा बढी शैया विशेष उपचार (आइसोलेसन) कक्ष तयारी अवस्थामा राखेको उनले भने । पच्चीस शैयामा दुई घुम्ती अस्पताल पनि रहेको मन्त्री ढकालको भनाइ थियो ।

रोगबाट बच्न सरकारले अपनाउनुपर्ने सावधानी सबै अपनाएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा सहयोगकक्ष राखेर जाँच गर्ने काम भइरहेको बताए ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड, सुझाव र निर्देशनअनुसार अघि बढेको उनको भनाइ थियो । हालसम्म नेपालमा पाँच जना बिरामीलाई रोगको आशङ्का भएकाले परीक्षण गरिएकामा तीन जनामा नेगेटिभ देखिएको र बाँकी दुई जनालाई निगरानीमा राखिएको मन्त्री ढकालको भनाइ थियो ।

चीनमा रहेका विद्यार्थीलाई फर्काउने विषयमा आवश्यक गृहकार्य अघि बढाइएको भन्दै मन्त्री ढकालले सर्वसाधारण र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी सबैलाई सावधानी अपनाउन आग्रह गरे। फरक प्रसङ्गमा उहाँले सङ्घ मातहत रहेका अस्पतालमा विकास समिति गठनका लागि प्रक्रिया अघि बढेको बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.