महिलाका नाममा उद्योग दर्ता हुने क्रम बढ्दो

  २०७६ माघ १८ गते १२:१६     विकासन्युज

हेटौंडा । मकवानपुरमा महिलाको नाममा दर्ता भएका उद्योग तथा व्यावसायिक संस्थाको सङ्ख्यामा वृद्धि भएको छ । महिलालाई आर्थिक हिसाबले बलियो बनाउनका लागि उद्योग तथा व्यवसायमा राजश्व छुटको व्यवस्था गरेकाले महिला उद्यमी तथा व्यवसायीको सङ्ख्यामा वृद्धि भएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय हेटौँडाको तथ्याङ्कको आधारमा चालु आर्थिक वर्षमा पुरुषको तुलनामा महिलाको नाममा दोब्बर उद्योग दर्ता भएका छन् । हेटौंडाको घरेलु तथा साना उद्योगमा निजी फर्म रजिष्ट्रेशन ऐन २०३४ ले तोकेका उद्योग तथा व्यापारिक फार्म दर्ता गर्दा यस आवदेखि सरकारले छुट दिएपछि महिलाको नाममा उद्योग तथा व्यापारिक फार्म दर्ता सङ्ख्या बढेको जनाइएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा महिलाको नाममा मात्रै ६ सय ८ उद्योग तथा व्यावसायिक संस्था भएको जनाइएको छ । पुरुषको नाममा भने ३ सय ७६ उद्योग दर्ता भएका छन् ।यस्तै यस वर्ष १ हजार २ सय २६ पुरुषको नाममा व्यापारिक फर्म दर्ता भएको छ भने १ हजार ५ सय ४३ महिलाको नाममा फर्म दर्ता भएका छन् ।

राज्य तथा प्रदेश सरकारले महिलालाई अघि बढाउन र पुरुषको मात्र भर नपरी आफ्नै पहलमा केही काम गर्न योजना तथा सेवासुविधा दिइएको कुरा सम्झाउँदैमा समय बित्ने गरेको घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख जगन्नाथ दाहालले जानकारी दिए । उनले भने, “हामी वास्तविक रुपमा महिला उद्योगी व्यवसायी भएको हेर्न चाहन्छौँ, राज्यको पनि उद्देश्य त्यही हो तर दर्ता गर्न आउने महिला हेर्दा केहीलाई त उद्योगको बारेमा थाहासम्म हुँदैन दुःख लाग्छ ।”

यद्यपि वास्तविक रुपमा भने केही महिला कागजमा मात्र नै उद्यमी र व्यवसायी भएको पाइएको उनको गुनासो छ । १ करोड रुपैयाँसम्म पूँजीको फर्म दर्ता गराउँदा महिलालाई शतप्रतिशत छुट भएकै कारण घरेलु तथा साना उद्योगमा पुरुषभन्दा दोब्बर महिलाको स्वामित्वमा फर्म दर्ता भएको कार्यालय प्रमुख दाहालको भनाइ थियो ।

सरकारले १ करोड रुपैयाँसम्म पूँजीको उद्योग तथा व्यापारिक फर्म दर्ता गर्दा २० हजार १ सय राजश्व तोकेको छ । महिलाले यस्तो फर्म दर्ता गर्दा २ सय राजश्व मात्र तिर्नुपर्ने व्यवस्था छ । यस्तै १ करोडभन्दा धेरै पूँजी लगानीमा लगानी हेरी दर्ता शुल्कको ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस वर्ष उद्योग तथा व्यापारिक फर्म दर्ताबापत ३८ लाख रुपैयाँ राजश्व सङ्कलन भएको घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.