चितवन प्रिमियर लिग शुरु, सिलवाल भन्छन्- चितवनबाट धेरै सन्दिप जन्मन्छन्

  २०७६ माघ १७ गते १७:२४     विकासन्युज

चितवन । पहिलो संस्करणको सिएमसी चितवन प्रिमियर लिग (सीपीएल) क्रिकेट प्रतियोगिता माघ १७ गते (शुक्रबार)देखि शुरु भएको छ । नारायणगढको क्याम्पाचौरमा शुरु प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिलवालले क्रिकेट खेलको विकासका लागि सीपीएल कोसेढुङ्गा सावित हुने बताए । उनले स्थानिय स्तरमा खेलाडी उत्पादन र उनीहरुलाई प्रोत्साहन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका हुन् । जिल्लामा केन्द्रित भएको सीपीएल आगामी बर्षदेखि प्रदेश र राष्ट्रिय स्तरको प्रतियोगिता बन्नुपर्ने उनको जोड छ ।

‘चितवनमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण हुँदैछ, उनले भने, यो हामी सबैका लागि खुसीको कुरा हो ।’ उनले चितवन प्रिमियर लिगको सफलताको शुभकामना दिँदै चितवनबाट धेरै सन्दिप जन्मने बताए ।

यस्तै प्रतियोगिताको मुख्य प्रायोजक चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले चितवनको खेल प्रबद्र्धनका लागि सीएमसीले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । उद्घाटन खेलमा राइट एण्ड एसोसिएट भरतपुर गुर्खाज र इच्छाकामना वारियर्सविच प्रतिस्पर्धा भइरहेको छ ।

२५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स, राप्ती ¥यापिडस,माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहेको छ ।

प्रतियोगितामा सहभागी टिमले दुई जना राष्ट्रिय खेलाडी (अन्डर १९) अनिवार्य र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ । प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ ।

यस्तै विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफ दि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजक नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिका प्रवन्ध निर्देशक राजु चौधरीले जानकारी दिए ।

प्रतियोगिताको टाइटल स्पोन्सरमा चितवन मेडिकल कलेज रहेको छ भने स्पोन्सरको रुपमा टेस्ला एयर कण्डिसन, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि.चितवन रहेको छ । त्यस्तै, प्रतियोगिताको को-स्पोन्सरको रुपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर रहेको छ ।

उद्घाटन समारोहमा नेपाली काँग्रेस चितवनका सभापति जीत नारायण श्रेष्ठ, नेकपा भरतपुर महानगर अध्यक्ष राम न्यौपाने, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण अधिकारी, प्रेस संगठन चितवनका अध्यक्ष प्रकाश ज्ञवादी, राष्ट्रिय युवा संघ चितवनका अध्यक्ष मधु न्यौपाने, युवा परिषद चितवनका अध्यक्ष अस्मिन घिमिरे, लगाएतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.