वैदेशिक लगानी भित्र्याउन विद्यमान कानूनको परिमार्जन गरिँदैछः अर्थमन्त्री डा. खतिवडा

  २०७६ माघ १५ गते १९:४२     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वैदेशिक लगानी भित्र्याउन विद्यमान कानूनको परिमार्जन गरिन लागिएको बताएका छन् । अर्थ मन्त्रालयमा बुुधबार स्विस इन्भेस्टमेन्ट फण्ड फर मार्केटस्का अध्यक्ष तथा नेपालका लागि स्वीट्जरल्याण्डका पूर्व राजदूत जर्ग फ्रिडेनको नेतृत्व टोलीसँग भएको भेटवार्तामा खतिवडाले सो कुरा बताएका हुन् ।

उनले विभिन्न देशहरुसँग दोहोरो करमुक्ति सम्झौताको प्रकृया अगाडि बढाइएको, च्यालेन्ज फण्डको शुरुवात गर्न लागिएको तथा लगानी आकर्षित गर्ने गरी कानूनहरु निर्माण गरिएको र विद्यमान कानूनको परिमार्जन गर्न लागिएको बताए ।

देशमा द्रुत विकासको लागि आन्तरिक स्रोत पर्याप्त नभएकोले वैदेशिक स्रोतको आवश्यकता भएको उनको भनाइ छ ।
नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराउँदै उनले प्रत्यक्ष वैदेशिक लगानीको थ्रेसहोल्ड संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको बताए ।

खतिवडाले पूर्वाधारको विकास गरी पर्यटन र उर्जा निर्यातबाट विदेशी मुद्रा आर्जन गरे मात्र उच्च आर्थिक वृद्धि सँगै बाह्य क्षेत्र सन्तुलन कायम गर्न सकिने बताए । उनले पूर्वाधार विकाससँगै सेवाको गुणस्तरयुक्त विकासको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढेको बताए ।

मुलुकको समग्र विकासका लागि नवप्रवर्तन अन्वेषण तथा युवा लक्षित सिप र प्रविधिक ज्ञानको सहयोग मार्फत साना मझौला व्यवसायको प्रवद्र्धन र रोजगारी सिर्जना अहिलेको मुख्य आवश्यकता भएको धारणा राखे । फ्रिडेन नेतृत्वको टोलीले विभिन्न सरकारी, निजी तथा गैरसरकारी क्षेत्रसंग भेट गरी विकास प्राथमिकताका विषयमा छलफल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.