देउराली जनताको ३० वर्षे यात्राः डेढ अर्बकाे लगानी, ३ सय ५ प्रकारका उत्पादन, ५ सयलाई रोजगारी

  २०७६ माघ १५ गते १९:३४     विकासन्युज

काठमाडौं । देउराली जनता फर्मास्यूटिकल्सले औषधी उत्पादन सुरु गरेको २९ वर्ष पूरा भएको छ । यो बीचमा कम्पनीले ३ सय ५ प्रकारका औषधी उत्पादन गरिरहेको छ ।

कम्पनीले एक वर्षमा ९५ प्रकारका नयाँ औषधीको थप उत्पादन सुरु गरेको छ । अघिल्लो वर्षसम्म करिब २ सय १० प्रकारका औषधी उत्पादन गरेको कम्पनीले ३०औं वर्षमा प्रवेश गर्दासम्म ३ सय ५ थरीका औषधी बजारमा ल्याएको हो ।

३० वर्षको अवधिमा आइपुग्दा कम्पनीले अत्याधुनिक उपकरणमार्फत औषधिहरु उत्पादन गरिरहेको छ । लामो अनुभवसँगै विदेशबाट ल्याउन समस्या हुने औषधी उत्पादनमा जोड दिएको कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताए ।

‘आफ्नो उत्पादन क्षमतालाई अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सक्ने गरी विकास गरिरहेका छौं, आयात गर्न अप्ठेरो पर्ने अति आवश्यक औषधी उत्पादन हाम्रो पहिलो रोजाइमा पर्ने गरेको छ,’ कार्यकारी निर्देशक शर्माले भने ।

एक लाख १० हजार बर्गफिट क्षेत्रफलमा फैलिएको यो उद्योग पूर्णतया वातानुकुलित रहनुका साथै विश्व स्वास्थ्य संगठनको निर्देशन बमोजिम कुशल औषधी उत्पादन प्रकृया पूरा गरेको शर्माको भनाइ छ ।

कम्पनीले मुटु रोग, नशा सम्बन्धी रोग, मधुमेह, चर्म रोग, पेट रोग लगायत नेपालमा देखापर्ने सबैजसो सरुवा रोगको उपचारमा आवश्यक पर्ने औषधीको उत्पादन गरिरहेको छ । पछिल्लो समय भने विदेशबाट ल्याउन समस्या पर्ने औषधीहरु उत्पादनमा जोड दिइएको कार्यकारी निर्देशक शर्माले जानकारी दिए ।

अत्याधुनिक उपकरणबाट कच्चा पदार्थहरु, कम्पनीबाट उत्पादित औषधिकहरुको गुणस्तर परीक्षण गर्ने र अन्य अत्यावश्यक औषधिहरुको विकास तथा अनुसन्धानको काम समेत कम्पनीले गर्दै आएको छ ।

कुल उत्पादन क्षमताको करिब ७० प्रतिशत मात्र उपयोग गर्न सकेको कम्पनीले ३० प्रतिशत उत्पादन क्षमतालाई विकासको चरणमा रहेका विभिन्न अत्यावश्यक औषधि, नशारोग, मनोचिकित्सा लगायतका औषधीहरु उत्पादन गर्ने लक्ष्य लिएको छ ।

अहिले नेपालमा करिब ५० वटा उद्योगहरुले विभिन्न रोगका औषधी उत्पादन गर्दै आएका छन् । यी उद्योगहरुले औषधीको कुल मागको करिब ४५ प्रतिशत हिस्सा ओगटेका छन् ।

पछिल्ला समय औद्योगिक असुरक्षालगायतका समस्याबाट अन्य उद्योगहरु जस्तै औषधी उद्योगहरु पनि गुज्रिनु परेको कम्पनीका कार्यकारी निर्देशक शर्माको गुनासो छ । विदेशी कम्पनीहरुले आफ्ना उत्पादनलाई नेपाली बजारमा बिक्री वितरण गरिरहेको अवस्थामा स्वदेशमै गुणस्तरीय औषधी उत्पादन गरी आत्मनिर्भर बनाउने प्रयत्न जारी रहेको शर्माले भनाई छ ।

कम्पनीले एक दशकभन्दा अगाडिदेखि नै नेपालमा पहिलो पटक आइएसओ १४००१, आइएसओ ९००१ तथा विश्व स्वास्थ्य संगठनको निर्माण प्रकृया (जीएमपी) लगायतका प्रमाणिकरण गराई औषधिको गुणस्तर कायम गरेको छ ।

देउराली जनताले हाल वार्षिक २९ करोड युनिट टाबलेट, १ करोड ६० लाख युनिट तरल औषधी, १४ करोड ५० लाख युनिट क्याप्सुल, ६० लाख युनिट ड्राइ सिरफ तथा १ करोड युनिट सेमिसोलिड औषधी उत्पादन गर्दै आएको छ । कम्पनीमा करिब ५ सयले प्रत्येक्ष रोजगारी पाइरहेका शर्माले जानकारी दिए । कम्पनीमा करिब १ अर्ब ५० कराेड रूपैयाँ लगानी भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.