बैंकमा फेरि पैसा सकियो, निक्षेप-कर्जा दुबैको व्याजदर बढ्न सक्ने

  २०७६ माघ १५ गते १४:४०     विकासन्युज

काठमाडौं । बैंक तथा बित्तीय संस्थामा फेरि लगानी योग्य पुँजीको कमी देखिएको छ । तरल पुँजीको अभावले बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक कारोबार वृद्धि भएको छ भने व्याज दरमा पनि वृद्धि आएको छ ।

सोमबारसम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.५ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका प्रबक्ता डा.गुणकर भट्टका अनुसार अहिले बैंक तथा वित्तीय संस्थासँग लगानी योग्य पुँजी ३४ अर्ब रुपैयाँ छ ।

राष्ट्र बैंकले जारी गरेको २० अर्ब रुपैयाँ रिपोको कारण बैकिङ क्षेत्रमा तरलताको अवस्था सामान्य देखिए पनि रिपो परिपक्क हुँदा बजारमा पैसाको अभाव देखिनेछ ।

पुसको मध्यमा बैंकहरुमा लगानीयोग्य पुँजी करिव ५५ अर्ब रुपैयाँ थियो । अन्तर बैंक कर्जा कारोबार सुस्ताएको थियो । अन्तरबैंक कर्जा व्याज पनि २ प्रतिशतमा झरेको थियो । अहिले अन्तरबैंक कर्जाको व्याजदर ५ प्रतिशत पुगेको छ ।

चालु आर्थिक वर्षमा निक्षेप १खर्ब ३० अर्ब रूपैयाँले वृद्धि हुँदा कर्जा लगानी २ खर्ब १३ अर्ब रूपैयाँले वृद्धि भएकोले पनि बैंकिङ क्षेत्रमा लगानी योग्यपुँजीको कमी देखिन आएको उनले बताए । सरकारको विकास खर्च बढ्ने समय भएको बजारमा आशावादी हुने ठाउँ रहेको उनले बताए ।

तर, रेमिट्यान्स आम्दानी वृद्धि रोकिएको, पाम आयल निर्यातमा समस्या आएको, अन्य नेपाली बस्तुहरुको निर्यात उत्साहजनक नभएकोले निक्षेप वृद्धि दर उच्च हुने सम्भावना कम भएको जानकारहरु बताउँछन् । मंसिर मसान्तसम्ममा निक्षेप वृद्धि ४ प्रतिशत छ भने निजी क्षेत्रतर्फको कर्जा वृद्धि ६.२ प्रतिशतले वृद्धि भएको छ ।

बैंकिङ क्षेत्रमा लगानी याेग्य पुँजी बढ्दा सेयर बजार हरियाे भएकाे थियाे भने ऋण लिएर व्यवसाय गर्नेहरूमा उत्साहकाे वातावरणा बन्दै थियाे । विगत ३ वर्षदेखि बैंकहरूमा लगानी याेग्य पुँजीकाे कमीले बैंकका ऋणिहरू चर्काे व्याजकाे मारमा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.