ट्राफिक छैन भनेर नियम उल्लंघन गर्दै हुनुहुन्छ ? ध्यान दिनुस् घरमा चिट पुग्ला

  २०७६ माघ १४ गते १८:५५     सन्ताेष राेकाया

काठमाडाैं । सीसीटीभी क्यामेराबाट निगरानी गरेर सवारी साधन कारबाही गर्ने प्रक्रिया पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । सडकमा नियम उल्लंघन गरेर सवारी चलाउने चालकलाई सीसीटीभीबाट निगरानी गरेर कारबाही गर्ने कार्य प्रभावकारी बन्दै गएको हो । सवारी साधनको वृद्धिसँगै बढेका चुनौतीका कारण पनि ट्राफिकले सीसीटीभी क्यामेरा निगरानीलाई प्राथमिकताका साथ हेरिरहेको छ ।

वि.स २०७३ सालदेखि सीसीटीभी क्यामेराबाट निगरानी शुरु गरेकोे कार्यले सवारी दुर्घटनामा पनि उल्लेख्य सुधार गरेको महानगरीय ट्राफिक महाशाखाल जनाइएको छ । सीसीटीभी क्यामेरा शुरु गरेको केही वर्षमै ट्राफिक प्रहरीले धेरै सवारी साधनलाई कारबाही गरिसकेको महाशाखाले जनाएको छ । विभिन्न बिधी तथा पद्धती लागु गरेर ट्राफिक प्रहरीले सवारी निगरानीमा तिब्रता दिएको हो ।

महाशाखाका प्रहरी प्रमुख भिम प्रसाद ढकालले सीसीटीभी क्यामेराको निगरानीबाट ट्राफिक प्रहरीलाई धेरै सहयोग भएको बताए । यसले सडकमा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई पनि कारबाहीको दायरामा ल्याउन महत्वपूर्ण सघाउ पुगेको उनको धारणा छ ।
काठमाडौं उपत्यका विभिन्न स्थानमा राखिएका कतिपय सीसीटीभी क्यामेराहरु सरकारी तबरबाट सञ्चाालित छन् भने कतिपय स्थानिय समूदायले नै राखेका छन् ।

ती सीसीटीभी क्यामेराहरु महानगरीय प्रहरी आयुक्तको कार्यालय र ट्रफिक मुख्यालयबाट हेर्न सकिन्छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले निगरानी गर्छ, त्यसपछि हामी यातायात कार्यालयमा बुझ्छौं, त्यो सवारी साधन कसको हो त्यहाँबाट सम्र्पक नम्बर ल्याएर उसलाई सम्पर्क गरेर कार्यालयमा बोलाउँछौै वा उसैको घरमा चीट पठाउँछौं ।

सवारी चालकहरु ट्राफिक छैन भनेर नियम उल्लंघन गर्ने मनाशायलाई हटाउन सफल भएका उनको भनाइ छ । अझ प्रभावकारी बनाउने कुरामा महाशाखा लागेको उनको भनाइ छ । महाशाखामा एउटा कन्ट्रोल रुम छ । एउटा आयुक्त कार्यालयमा छ ।

‘पहिला त चालक सरप्रराईज हुन्छन, नियम उल्लंघन गरेन भनेर जिद्धी गर्छन, तर फुटेज देखाएपछि स्विकार गर्छन्,’ उनले भने ।

व्यवस्थित कन्ट्रोल रुम निर्माण गर्ने

उपत्यका भित्रको अव्यवस्थित ट्राफिकलाई व्यवस्थित र प्रविधिमैत्री बनाउनका लागि व्यवस्थित कन्ट्रोल रुम निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको ढकालको भनाइ छ । उनले कन्ट्रोल रुम निर्माण गर्नका लागि सरोकारवाला निकायमा योजना पेश गरिसकेको बताए ।
यसले पनि ट्राफिकलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

जसले काठमाडौं उपत्यकाको ट्राफिकलाई निगरानी गर्नेछ । व्यवस्थित कन्ट्रोल रुम निर्माण कार्य दुई चार महिना भित्रै सम्पन्न हुने उनले बताए । सरकारले खरिद गरेर राखेका सीसीटीभी बाहेक समुदायबाट सञ्चालित वा जडान गरेका सीसीटीभीहरु कन्ट्रोल रुमबाट हेर्न सकिने उनको भनाइ छ ।

१ हजार ७ सय ठाउँमा सीसीटीभी क्यामेरा

महानगरीय ट्राफिक महाशाखाका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा करिब १ हजार ७ सय सीसीटीभी क्यामेरा जडान गरिएका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जडान गरिएका सीसीटीभीको निगरानीबाट प्रहरीले हाल सवारी साधनहरुलाई कारबाही गरिरहेको छ ।

सडकमा ट्राफिक नियमको उल्लंघन गर्ने सवारी चालकहरुलाई सीसीटीभी क्यामेराले निगरानी गरी राखेको हुन्छ । ट्राफिक प्रहरीले त्यही फुटेज हेरेर सवारी चालकलाई बोलाएर वा घरमा चीट काटेर कारबाही गर्ने गरेको छ । ठूला घटना मात्र नभई स–साना घटनाबारे थाहा पाउन र सवारी चालकलाई जवाफदेही बनाउन सीसीटीभी प्रभावकारी भएको ढकाल बताउँछन् ।

अझै यसलाई प्रभाव कारी गर्नको लागि विभिन्न ठाउँमा क्यामेरा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । हाल उपत्यकाभरि करिब १४ सय ट्राफिक प्रहरी रहेका छन् । २०/२५ जनाले मात्रै सीसीटीभी क्यामेरा निगरानी गर्ने गरेको ढकाल बताउँछन् ।

६ हजार सवारी चालक कारबाहीमा

महानगरीय ट्राफिक महाशाखाका अनुसार चालु आर्थिक वर्षको पुुस मसान्तसम्म ६ हजार २ सय १० जना सवारी चालक सीसीटीभी क्यामेराको निगरानीबाट कारबाहीमा परेका छन् । सडकमा ट्राफिक प्रहरी नभएको समयमा ट्राफिक नियमको उल्लंघन गर्ने चालकलाई महाशाखाले कारबाही गरेको हो ।

लेन मिचेको, सडक संकेत पालना नगरेको, सडक चिह्न हेका स्थानमासमेत सवारी साधन मनपरी फर्काएको, तीब्र गतिमा सवारी कुदाएको, जथाभावी रुपमा जहाँ पायो त्यहीँ यात्रु चढाउने र झार्ने जस्ता नियम उल्लंघन गर्ने सवारी चालकलाई महाशाखाले कारबाही गरेको हो ।

वि.स २०७३ सालदेखि सीसीटीभी राखी त्यसैबाट निगरानी गरेर महाशाखाले चालकलाई कारबाही शुरु गरेको थियो । तर, तथ्याकं राख्न भने २०७४ बाट शुरु गरिएको हो ।

महानगरीय ट्राफिक महाशाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ५ सय २१ जना सवारी चाल सीसीटीभी क्यामेराबाटै निगरानी गरेर कारबाहीमा परेका थिए । आर्थिक वर्ष २०७५/०७६ त्यो संख्या बढेर ८ हजार ३ सय ३० पुगेको थियो । ढकालले त्यस्ता नियम उल्लंघन गर्ने सवारी चालकालाई दुई सय रुपैयाँदेखि १० हजारसम्म जरिवाना तिराउने गरेको बताए ।

१६ करोड ३८ लाख राजस्व संकलन

महानगरीय ट्राफिक महाशाखाले चालु आर्थिक वर्षको पुुस मसान्तसम्म १६ करोड ३८ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

महाशाखाले उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, हर्न बजाएर सवारी साधन चलाउनेलगाययत कार्यमा संलग्न सवारी साधनबाट उक्त राजस्व संकलन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.