म्यानपावरको ठगी आँटः ३ दाजुभाइबाट साढे १५ लाख खाइदिए, नक्कली कागज थमाएर दुतावास पठाए

  २०७६ माघ १४ गते १८:२५     सुनिता पुडासैनी

काठमाडौं । विदेश पठाइदिन्छु भन्दै म्यानपावर कम्पनी गल्फ रिक्रुमेन्टका संचालक कृष्णबहादुर तामाङले एकै परिवारका ३ दाजुभाइसहित ४ जनाको साढे १५ लाख रुपैयाँ ठगी गरेका छन् । तामाङले ओखलढुंगाका विष्णुबहादुर कार्कीका ३ दाजुभाइ र उनका साथी अजय परियारको साढे १५ लाख रुपैयाँ ठगी गरेका हुन् ।

वैदेशिक रोजगार विभागमा भेटिएका कार्की र परियार विभागका महानिर्देशकको प्रतिक्षामा थिए । वैदेशिक रोजगारीमा लागि चेक रिपब्लिक पठाउने भन्दै गल्फ रिक्रुटमेन्टका संचालक तामाङले विष्णुसहित उनका भाइहरु विक्रम र सन्तोष तथा साथी अजय परियारबाट १५ लाख ५० हजार रुपैयाँ लिएको कार्कीले जानकारी दिए । तर, पैसा लिए पनि उनीहरु विदेश जान पाएका छैनन् ।

तामाङले आफूले पैसा मात्रै लिएनन्, विष्णुका भाइहरुलाई अन्तरवार्ताको लागि भन्दै प्लेनबाट भारतको राजाधानी नयाँ दिल्ली पनि पठाए । चेक रिपब्लिककको दुतावास नेपालमा नभएकोले अन्तरवार्ताका लागि नयाँ दिल्ली जान भनिएको विष्णुले बताए ।

‘तपाईंहरु विदेश जाने कन्फर्म भयो, चेक रिपब्लिकको दुतावास नेपालमा छैन, अन्तरवार्ताको लागि नयाँ दिल्ली जानुपर्छ भने, अनि भाइहरु विक्रम र सन्तोष दिल्लीमा रहेको चेक रिपब्लिकको दुतावास पुग्दा पो हामीलाई दिएको कागजात नक्कली रहेको र आफूहरु ठगिएको थाहा पायौं,’ विष्णुले भने ।

यसरी ठगिएको थाहा पाएपछि पीडितले संयुक्त रुपमा गत १६ साउनमा विभागमा उजुरी गरेका थिए । विभागले ४० दिनभित्रमा समाधान गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेपनि आजसम्म समस्याको समाधान नभएको अजय परियारले बताए ।

यसरी फसे

विष्णु कार्की बुबाको माध्यमबाट २०७५ साल जेठ महिनामा म्यानपावर व्यवसायी कृष्णबहादुर तामाङ्गसँग जोडिए । तामाङ्ग गल्फ रिकुमेन्टका संचालक थिए । ओखलढुंगा घर भएका विष्णु कार्कीका बुबालाई तामाङ बैदेशिक रोजगारीका नेपालीलाई विदेश पठाउँछन् भन्ने थाहा थियो । पीडक तामाङ र पीडित दुबै पक्ष ओखलढुंगा जिल्लाको छिमेकी गाउँपालिकाका बासिन्दा हुन् ।

छिमेकी गाउँका तामाङले विष्णुका बुबासँग चेक रिपब्लिकमा कामको लागि राम्रो अवसर आएको हुँदा तीनै जना छोरालाई रोजगारका लागि पठाउन आग्रह गरेका थिए । सबै बुझ्दा उनलाई राम्रै लाग्यो । आफ्ना तीन जना छोरासँगै छोराका साथी अजय पनि सँगै जाने भए । र, त्यसको लागि तामाङले मागेअनुसार सुरुमै प्रतिव्यक्ति १÷१ लाख रुपैयाँका दरले रकम पनि बुझाए ।

तामाङले पैसा माग्दै गए । र, ४ जनाले नै गरी १५ लाख ५० हजार रुपैयाँ बुझाए । यस्तो रकम बुझाएपछि तामाङले अन्तरवार्ताको लागि भन्दै दिल्ली पठाएका थिए ।

वैदेशिक रोजगारी जाने क्रममा म्यानपावरबाट ठगिएको भने यो पहिलो उजुरी हैन । पछिल्ला दिनहरुमा विभागले नयाँ रोजगारका गन्तव्य खोज्नुका साथै अनलाइनबाटै ई–स्टीकर, ई–टोकन तथा मेसेजिङ्ग प्रणाली लागू गरे पनि ठगीको संख्या भने घटेको छैन ।

अघिल्लो वर्षको अनुपातमा म्यानपावरबाट ठगीमा परेका पीडितका उजुरी ३५ प्रतिशत बढेका छन् । गत आर्थिक वर्षको यो समयसम्म ५ सय ४८ वटा उजुरी दर्ता भएका थिए भने यस वर्षको सोही अवधिभित्र ७ सय ५३ वटा उजुरी विभागमा परेका थिए ।

म्यानपावर मर्ज भएपछि झन समस्या

विष्णु कार्कीसहित पीडितले रकम बुझाएको गल्फ रिक्रुमेन्ट म्यानपावर अहिले अस्तित्वमा छैन । सो म्यानपावर साधनासँग मर्ज भयो । कार्की परिवार र परियारसँग पैसा लिने गल्फका कृष्णबहादुर तामाङ अहिले सम्पर्क विहिन छन् । साधनाको व्यवस्थापन नमराज तामाङले सम्हालेका छन् ।

मर्जर भएसँगै गल्फ रिकुमेन्ट म्यानपावरको खातामा रहेको ४ लाख रुपैयाँ साधना म्यानपावरमा आएको छ । बाँकी रकम गल्फका कृष्णबहादुरसँगै रहेको साधनाले बताउने गरेको छ ।

कृष्णबहादुरले लिएको पैसा व्यक्तिगत भएकोले संस्थागत रुपमा दायित्व आफूमा नसर्ने नमराजले बताए ।

‘गल्फले ४ लाख रुपैयाँ दिन बाँकी रहेको देखिन्छ, त्यति पैसा दिने हो भने म तयार छु, अरु रकम लिनुपर्नेछ भने कृष्णबहादुरको व्यक्तिगत लेनदेनको कुरा हो, उहाँसँगै कुरा गर्नुपर्छ, म र साधनासँग जोडिने विषय होइन,’ नमराजले भने ।

ऋण तिर्नका लागि गाँउको जग्गा नै बेच्नु पर्यो

३ भाइ छोरा विदेश पठाउँन विष्णुका बाबुले गाउँमै २५ प्रतिशत व्याजमा ऋण लिएका थिए । ऋण लिएर बुझाएको पैसा कृष्णबहादुरले खाइदिए । साहूँले ताकेता गरेपछि ओखलढुंगाको चम्पादेबीमा रहेको आफ्नो जग्गा जमिन बेचेर ऋण तिरेको विष्णु कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.