निक्षेपको व्याज बढाउँदा नेपाल बैंकको नाफा ३० करोड रुपैयाँ घट्यो

  २०७६ माघ १४ गते १२:४९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब ६६ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा यो वर्षको ६ महिनामा नेपाल बैंकको नाफा ३० करोड ९१ लाख रुपैयाँ कम देखिएको छ ।

बैंकले निक्षेपकर्तालाई दिने व्याज बढाएको कारण नाफा घटेको देखिएको हो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले बैंकको बैंकको खुद व्याज आम्दानी घटेको देखाउँछ । गत वर्षको ६ महिनामा ३ अर्ब १६ करोड ७२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । निक्षेपमा बढी व्याज दिएकै कारण बैंकको खुद व्याज आम्दानी करिब १७ करोड रुपैयाँ घटेको छ ।

बैंकको व्याज आम्दानी भने बढेको छ । गत वर्षको ६ महिनामा ५ अर्ब २५ लाख रुपैयाँ व्याज आम्दानी भएको थियो । यो वर्षको ६ महिनामा व्याज आम्दानी ५ अर्ब ७४ करोड १७ लाख रुपैयाँ छ । व्याज आम्दानी करिब ७४ करोड रुपैयाँ बढ्दा पनि व्याज खर्च बढेका कारण खुद व्याज आम्दानी घटेको हो । गत वर्षको ६ महिनामा १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ व्याज खर्च गरेको बैंकले यो वर्षको सोही अवधिमा २ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा ६ महिनामा बैंकको व्याज खर्च नै १ अर्ब रुपैयाँभन्दा बढी छ ।

निक्षेपमा दिने व्याज बढेका कारण बैंकको व्याज खर्च बढेको हो । यस्तै, बैंकको व्याज अन्तर (स्प्रेड) दर पनि घटेको छ । गत वर्षको पुस मसान्तमा ४.९९ प्रतिशत रहेको व्याज अन्तर यसवर्षको पुस मसान्तमा आइपुग्दा ४.४४ प्रतिशतमा सिमित भएको छ ।

गत आवको पुस मसान्तमा २ अर्ब ३१ करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ७३ करोड ३४ लाख रुपैयाँ गरेको छ ।

बैंकसँग १ खर्ब १७ अर्ब १२ करोड २८ लाख रुपैयाँ निक्षेप छ भने ९८ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ कर्जा तथा लगानी छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकमा १ खर्ब १७ अर्ब २० करोड रुपैयाँ निक्षेप र ९२ अर्ब ४२ करोड १६ लाख रुपैयाँ कर्जा तथा लगानी थियो । एक वर्षको बीचमा बैंकको निक्षेप करिब ८ करोड रुपैयाँले घटेको छ भने कर्जा तथा लगानी करिब ६ अर्ब रुपैयाँ कर्जा तथा लगानी बढाएको छ ।

बैंकको खराब कर्जा अनुपात २.६६ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो अनुदात २.७४ प्रतिशत थियो । सम्भावित कर्जा नोक्सानीको लागि ११४.६१ प्रतिशत रकम बैंकले राखेको छ । कष्ट अफ फण्ड गत वर्षको पुस मसान्तमा ३.५८ प्रतिशत रहेकोमा यस वर्षको पुस मसान्तमा बढेर ५.१९ प्रतिशत पुगेको छ ।

गत वर्षको पुस मसान्तमा ७१.४७ प्रतिशत रहेको निक्षेप कर्जा अनुपात बढेर ७४.९३ प्रतिशत पुगेको छ । आधार दर ६.०६ बाट बढेर ७.८२ प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.