३८ वडा भवनविहीन

  २०७६ माघ १३ गते १२:५०     विकासन्युज

काठमाडौं । गलकोट नगरपालिका–९ को वडा कार्यालय विद्यालयबाट चलेको छ । वडाले भैरव माविलाई मासिक रु. छ हजार भाडा तिर्छ । “विद्यालयका खाली कोठाबाट कार्यालय सञ्चालन भइरहेको छ”, वडाध्यक्ष तेजबहादुर थापाले भने ।

निसीखोला गाउँपालिका–३ का सर्वसाधारण सेवा लिन वडा नं ४ पुग्नुपर्छ । ३ र ४ नं वडा कार्यालय एउटै भवनमा छ । “३ नं को आफ्नो भवन छैन, हाम्रो पनि बन्दाबन्दै बीचमा रोकिएको छ”, वडा नं ४ का अध्यक्ष टीकानिधि पौडेलले भने । निर्माणाधीन अवस्थाकै भवनबाट दुई वडा कार्यालय चलेका छन् ।

तमानखोला गाउँपालिका–५ र ६ को वडा कार्यालय सामुदायिक भवनमा छ । वडा नं २ र ४ भाडाको घरबाट सञ्चालित छ । आफ्नै भवन नहुने वडा कार्यालय जिल्लामा यतिमात्र छैनन् ।

दश स्थानीय तहका ८५ वडामध्ये ३८ वडा कार्यालय भवनविहीन छन् । भएका भवन पनि जीर्ण अवस्थामा छन् । कुनै वडा कार्यालय भाडाका घरमा छन्, कुनै सामुदायिक भवनमा । निर्वाचन भएको तीन वर्ष बित्न लाग्दासमेत स्थानीय तहले आफ्नै भौतिक संरचना बनाउन सकेका छैनन् ।

सुविधायुक्त भवनको अभावमा स्थानीय तहको सेवा प्रवाह चुस्त र प्रभावकारी हुन सकेको छैन । साघुँरा भवन, कोठाबाट अव्यस्थितरूपमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ । सेवाग्राहीमैत्री पूर्वाधार र वातावरण छैन । वर्षौँसम्म भाडा तिरेर कार्यालय राख्दा राज्यलाई अतिरिक्त व्ययभार थपिएको छ ।

पुरानो र सदरमुकाम रहेको बागलुङ नगरपालिकामै आधा सङ्ख्यामा वडा कार्यालय भवनविहीन छन् । वडा नं २, ३, ४, ६, ७, ९ र ११ को आफ्नो भवन छैन । केही वडा खाली रहेका अन्य सरकारी भवनको सहयोग लिएर बसेका छन्, केही भाडामा छन् । जैमिनी नगरपालिकाको वडा नं ३, ४ र ६ को भवन छैन । वडा नं. ५ र ९ को जीर्ण छ ।

काठेखोला गाउँपालिकाको वडा नं १, ४, ५ र ६ को वडा कार्यालय भाडामा छ । “भवन नभएका वडामा जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढेको छ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विकले भने, “एक त जग्गै अभाव छ, जग्गा पाइए पनि सरकारी दरमा पाउन सकिएको छैन ।”

बडिगाड गाउँपालिकाको २, ६, ७, ८, ९ र १० नं वडा कार्यालयको भवन नभएको गाउँपालिका अध्यक्ष मेहरसिँह पाइजाले जानकारी दिए । “वडा नं २ को जग्गा छ, भवन बनेको छैन, अहिले सामुदायिक भवनमा बसेको छ”, उनले भने । साविक गाविस विभाजनपछि बनेका नयाँ वडामा भवन नरहेको उनको भनाइ छ ।

कपितय वडाले तत्कालीन गाविस भवनलाई वडा कार्यालयका रूपमा प्रयोग गरेका छन् । गलकोट नगरपालिकामा १, ६, ९ र ४ नं वडाको भवन छैन । वडा नं ६ र ९ को भवन बनाउन ठेक्का भइसकेको नगरपालिकाले जनाएको छ । ताराखोला गाउँपालिकामा भने ४ नं वडाको मात्रै आफ्नो भवन छैन । उक्त वडाको भवन निर्माणका लागि रु. ७९ लाखको बोलपत्र खुलेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीमगरले बताए । “गाउँपालिकाको भवन निर्माणका लागि रु साढे चार करोडको डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) तयार भएको छ”, उनले भने, “सङ्घ, प्रदेश सरकार र गाउँपालिकाकै स्रोत जुटाएर आवश्यक संरचना बनाउँछौँ ।”

बरेङ गाउँपालिकाका अधिकांश वडाका भवन पनि जीर्ण छन् । वडा नं २ को भवनमा गाउँपालिका कार्यालय बसेपछि वडा भाडाको घरबाट सञ्चालित छ । “वडाका भवनहरु जीर्ण भई पुनःनिर्माण गर्नुपर्ने अवस्थामा छन्”, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्नुभयो । बरेङमा गाउँपालिकाकै लागि थप भवन आवश्यक छ ।

जिल्लाको पश्चिम ढोरपाटन नरपालिकाको वडा नं २, ३, ४, ६, ७, र ९ को पनि भवन छैन । नगरपालिका कार्यालय पनि भाडाको घरबाट सञ्चालित छ । तमानखोला गाउँपालिका–१ को भवनमा गाउँपालिका कार्यालय छ । वडा नं २, ४, ५ र ६ को आफ्नै भवन छैन । निसीखोला गाउँपालिकाको ३ नं वडा कार्यालय भवनविहीन छ । वडा नं २, ५ र ६ को भवन गाउँपालिकाले यही वर्ष निर्माण गरेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । वडा नं ४ को भवन निर्माणाधीन छ ।

जिल्लाका चार नगर र छ गाउँपालिकाका अधिकांश कार्यालयसमेत भाडाको घरबाट चलेका छन् । बेलैमा जग्गा नपाउँदा भवन निर्माणमा ढिलाइ भएको जनप्रतिनिधि बताउँछन् । केही स्थानीय तहले भने जग्गा प्राप्ति र भौतिक संरचना निर्माणको कामलाई अघि बढाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.