१० अर्बको स्टक डिलर कम्पनी खोल्दै सीआईटी, एनटीसी र पुनर्बीमा कम्पनी पनि संस्थापक

  २०७६ माघ १२ गते १७:१२     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले स्टक डिलर कम्पनी खोल्ने गृहकार्य अन्तिम चरणमा पुर्याएको छ । सीआईटीले भोलि (१३ माघ) कम्पनी दर्ता गर्ने तयारी गरेको भएपनि नेपाल टेलिकम (एनटीसी) ले निर्णय गर्न ढिलाई भएका कारण रोकिएको छ ।

सेयर बजारमा आउने उथलपुथललाई स्थीरता प्रदान गर्न स्टक डिलर कम्पनी स्थपना गर्न लागिएको कोषका उपकार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेलले जानकारी दिए । डिलर स्थापनाको सबै प्रक्रिया पूरा भएकोले केही दिनमा नै दर्ता गरिने डा. कट्टेलले बताए ।

‘सेयर बजारमा ठूलो घटबढ हुन नदिन स्टक डिलर स्थापना गर्न लागेका हौं, बजार धेरै घट्यो भने सेयर किन्ने र धेरै बढ्यो भने बेच्ने गरेर बजारलाई स्थायित्व प्रदान गर्ने काम डिलरले गर्नेछ,’ डा. कट्टेलले भने ।

कम्पनीका सीआईटीको ५१ प्रतिशत सेयर रहनेछ । यस्तै, १० प्रतिशत सेयर लिने निर्णय नेपाल पुनर्बीमा कम्पनीले गरिसकेको छ । कम्पनीमा नेपाल टेलिकम पनि संस्थापक सेयरधनीको रुपमा रहने भएको छ । टेलिकमले ९ प्रतिशत सेयर लिनेछ । बाँकी ३० प्रतिशत सेयर सर्वसाधारणको लागि छुट्टयाइनेछ ।

कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ हुनेछ भने चुक्ता पुँजी ५ अर्ब रुपैयाँ हुनेछ । यस्तै, कम्पनीले बढीमा १० अर्ब रुपैयाँसम्म बजारबाट उठाउनेछ । यसरी बजारबाट रकम उठाउँदा दुई विकल्पमा उठाउनेछ ।

‘स्टक डिलर कम्पनीले एउटा बास्केट बनाउँछ, त्यो बास्केटमा ५ देखि १० अर्ब रुपैयाँ बजारबाट उठान्छ, यसरी बास्केटमा पैसा हाल्नेले बजारको व्याज दरअनुसार व्याज लिने वा सेयर खरिदविक्रीबाट प्राप्त हुने लाभहानीमा सहभागी हुन पनि पाउने छन्, जुनसुकै विकल्प पनि प्रयोग गर्न पाइने परिकल्पना गरेका छौं,’ डा. कट्टेलले भने ।

स्टक डिलर कम्पनीले सेयर बजारमा करिब १५ अर्ब रुपैयाँ लगानी गर्नेछ । आफूसँग भएको ५ अर्ब रुपैयाँ र बजारबाट बास्केट फण्डको रुपमा उठाएको १० अर्ब रुपैयाँ लगानी गरेर सेयर बजारलाई स्थायित्व प्रदान गर्ने काममा कोष लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.