५० करोडको लागतमा ५० विद्युतिय सवारी चार्जिङ स्टेशन, कुन कुन ठाउँमा राखिदैँछ ?

  २०७६ माघ १२ गते १२:०५     विकासन्युज

काठमाडाैं । सरकारले करिव ५० कराेडकाे लागतमा ५० स्थानमा विद्युतिय सवारी चार्जिङ स्टेशन निर्माण गर्ने भएकाे छ । यसका लागि नेपाल विद्युत प्राधिकरणले ग्लोबल टेण्डर आह्वानसमेत गरिसकेकाे छ । एसियाली विकास बैंक (एडीबी)को दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत विद्युत प्रसारण तथा वितरण सुदृढिकरण कार्यक्रममा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेशन राख्न गते मंगलबार टेण्डर आह्वान गरेको हो ।

एउटा चार्जिङ स्टेशनको लागत करिब एक करोड रूपैयाँसम्म पर्ने अनुमान छ । यसको हिसावले ५० वटाका लागि ५० करोड रुपैयाँ लाग्ने छ । प्राधिकरणले गत असोज ९ गते सार्वजनिक सूचना जारी गर्दै मूख्य मूख्य सडक तथा राजमार्गमा जोडिएका व्यापारिक भवन, सुपरमार्केट, सिनेमा हल, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल तथा रेष्टुरेन्टका पार्किङ स्थलमा जग्गा बाहेकको ठाउँमा स्टेशन बनाउने जनाएको थियो ।

यसको सम्पूर्ण लागत प्राधिकरणको हुने गरि ५० वटा चार्जिङ स्टेशन राख्न इच्छुक व्यक्ति तथा संस्थालाई निवेदन दिनसमेत आग्रह गरेको थियो ।

प्राधिकरणले उपत्यकाभित्र २५ र उपत्यका बाहिर २५ वटा चार्जिङ स्टेशन राख्ने बताएको छ । हरेक प्रदेशमा कम्तीमा दुईवटा चार्जिङ स्टेशन रहने गरि उपत्यका बाहिर चितवन, झापा, विराटनगर, जनकपुर, बुटवल, पोखरा, नेपालगंज र धनगढी लगायतका ठाउँमा चार्जिङ स्टेशन राख्ने प्राधिकरणको योजना हो ।

५० वटै स्टेशनको कन्ट्रोल पनि काठमाडौंबाटै हुनेछ । फागुन २३ गतेसम्म टेण्डरमा सहभागी हुने समय तोकिएको छ । त्यसपछि टेण्डर मूल्यांकनका लागि बढिमा तीन महिना समय लाग्ने छ । चार्जिङ स्टेशन राख्न सुरू गरिसकेपछि ६ महिनादेखि एक बर्षभित्र लक्ष्यअनुसार चार्जिङ स्टेशन राखिसक्ने प्राधिकरणको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.